‘मेयर’ भइसकेर ‘वडाध्यक्ष’मा उम्मेद्वार

  प्रकाशित मिति
१३ जेष्ठ २०७४, शनिबार ०८:५२


kalyan kha 2मेचीनगर । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर लगायतका पदमा उम्मेद्वार बन्नेहरु यतिबेला मतदातासँग भोट माग्न व्यस्त छन् ।

सुदूर पूर्वको मेचीनगर नगरपालिकामा पनि चुनावी रौनक बढ्दै गएको छ । कतिपय दलले मेयर पदमा उम्मेद्वारको टुङ्गो लगाइसकेका छन् भने केही दल अझै अनिर्णित अवस्थामै छन् ।

तर मेचीनगरको चुनावी मैदानमा एक जना व्यक्ति वडाध्यक्ष पदका लागि उम्मेद्वार बनेका छन्, जो दुई पटकसम्म यही नगरको मेयरको कुर्सीमा बसिसकेका छन् । यो विषयले निकै चर्चा पाउन थालेको छ । उनको मेयर पदको यात्रा निकै रोचक पनि छ ।

इटाभट्टास्थित मेचीनगर नगरपालिकाको भव्य भवनभित्र कोठामा नगरका भावी मेयरको कोठा र कुर्सी सजाइएर राखिएको छ । पुरानो भाडाको भवनबाट २०६० सालमा नगरपालिका यो नयाँ भवनमा सरेको हो । नयाँ भवनको मेयरको कुर्सीमा बस्ने पहिलो मेयरसाव तिनै कल्याण खड्का हुन्, जो यतिबेला मेयरमा होइन वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

echinagarमेचीनगरको संस्थापक मेयर रविन कोइराला हुन् । उनी भाडाको भवनमा बसेर कामकाज चलाउँथे । उनको पालामा नयाँ भवन बनिसकेकै थिएन । तर २०६० सालमा नयाँ भवन हस्तान्तरण हुनु र सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा गठित तत्कालीन सरकारले नगरहरुको मेयरमा कल्याण खड्कालाई मनोनित गर्ने एउटा संयोग परेको थियो ।

मनोनित मेयर खड्काकै पालामा नगरपालिकाको भवन प्रधानमन्त्री थापाले उद्घाटन गरे भने नयाँ भवनमा राखिएको मेयरको कुर्सीमा बस्ने पहिलो सौभाग्य उनै खड्काले पाए ।

खड्काले एकपटक होइन, दुई पटकसम्म मेचीनगरको मेयरको कुर्सीमा बस्ने अवसर पाए । शाहीकाल २०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देशभरका नगरपालिकाहरुमा चुनाव गराएका थिए । राजाको शासनविरुद्ध आन्दोलनमा सक्रिय भएका प्रमुख दलहरुले वहिष्कार गरेको सो चुनावमा खड्का विजयी भएका थिए ।

मेयरको कुर्सीमा दुई पटकसम्म बसिसकेका व्यक्ति किन वडाध्यक्ष पदमा उम्मेद्वार बनेका होलान् ? मेयरमै उठेको भए हुन्थ्यो नि भन्नेहरु पनि नभएका होइनन् । तर पूर्व मेयर खड्का जनताको सेवा गर्न ठूलो पद होइन, जिम्मेवारीको भावना ठूलो हुनु पर्ने तर्क राख्छन् ।

‘राजनीति भनेको जनताको सेवा गर्ने माध्यम हो, चाहे पद वार्डको वा मेयरको नै किन नहोस्’, मेचीनगर–१० धुलावारी निवासी ५४ वर्षीय खड्का सोही वडाको अध्यक्ष पदमा उम्मेद्वार बन्नुको कारण सुनाउँदै भन्छन्–‘अहिले स्थानीय सरकारको अवधारणा बमोजिम सिंहदरवारको अधिकार वडासम्म आइपुगेको छ, म राज्यको सबैभन्दा तल्लो तहमै बसेर इमान्दारीपूर्वक जनताको सेवा गर्न चाहन्छु ।’

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाई चुनाव चिह्न लिएर मेचीनगर–१० मा वडाध्यक्ष पदमा उम्मेद्वार बनेका छन् । मेयर भइसकेको व्यक्ति वडा तहमै जिम्मेवारी लिन तयार हुने उनको भावनालाई धेरैले रुचाएका पनि छन् ।

विचारमा दृढ र सामाजिक रुपमा अति मिलनसार स्वाभावका उनी अहिले आफ्नो पार्टी बाहेकका नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओबादी केन्द्र लगायतका पार्टीका समर्थकसँग समेत भोट मागिरहेका भेटिन्छन् ।

‘आफ्नो पार्टीकाले भोट दिइहाल्छन् नि, माग्नु पर्ने त अरुहरुसँगै हो’, सुर्के थैली खैँ बोलको लोकप्र्रिय गीतको प्यारोडी बनाएर मोवायलमा शेयर गर्दै हिँडेका उनले भने–‘म अरु जस्तो होइन, चुनाव जितेपछि पार्टीभन्दा माथि उठेर सबैको सेवा गर्ने छु ।’

kalyan kha 1राप्रपाको संस्थापक नै मानिने उनी हाल पार्टीको जिल्ला सदस्य छन् । यस अघि जिल्ला उपाध्यक्ष पदको समेत जिम्मेवारी सम्हालिसकेका उनले लामो सामाजिक जीवनमा सबै वडावासीको कुनै न कुनै सेवा गरेको हुँदा आफुले नै जित्ने गरी भोट पाउने अपेक्षा राखेका छन् ।

उनको राजनीतिक यात्रा भने नेपाल विद्यार्थी सङ्घबाट २०३५ सालमा सुरु भएको थियो । नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइरालाको निधन हुँदा नेविसङ्घको सक्रिय कार्यकर्ता रहेका उनले काठमाडौँमा शवयात्रामा सहभागी बन्ने र शबयात्रामा काँध हाल्ने नै काम गर्न भ्याएका थिए । २०३६ सालको पाटाकाण्डमा भूविक्रम नेम्वाङको नेतृत्वमा उनी आन्दोलित हुँदा गिरफ्तारबाट बँचेर भारत निर्वासित हुन पुगेका थिए ।
वडाध्यक्ष उम्मेद्वार एवम् पूर्व मेयर खड्का चर्चित फुटबल खेलाडी समेत हुन् । रोलिङ क्लवका उनी राम्रा खेलाडी थिए । हाल पनि भेट्रान टिमबाट उनी फुटबल खेल्ने गर्छन् ।

भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उनको चुनावी मुख्य नारा छ । वैदेशिक रोजगारीमा जान चाहनेलाई ५० प्रतिशत निव्र्याजी सरकारी कर्जा उपलब्ध गराउने, लालपानीको ७ विघा सरकारी जग्गामा वाटर किङडम बनाउने, आधुनिक कृषि मण्डी बनाउने, वडाका सबै सरकारी विद्यालयहरुलाई बोर्डिङ स्कुलहरुभन्दा गुणस्तरीय बनाउने, नापी भइसकेका सुकुम्वासीहरुको जग्गाको धनीपूर्जा तत्काल वितरण गर्ने लगायतको प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: