मेयर र अध्यक्षमा महिलाको दावी

  प्रकाशित मिति
२९ फाल्गुन २०७३, आईतवार १९:५०


sanjibani 2मेचीनगर, २९ फागुन । झापाका महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर र अध्यक्ष पदमा महिलाहरुको दावी रहने बताएका छन् ।

धुलाबारीमा सञ्जीवनी महिला विकास संस्थाले आइतबार आयोजना गरेको ‘स्थानीय तहमा महिला सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ता रहेका महिला नेतृहरु जसमाया गजमेर, शुशिला ढकाल र राधा कार्कीले त्यस्तो दावी प्रस्तुत गरेका हुन् ।

नेकपा एमाले, नेपाली काङ्ग्रेस र राप्रपाको महिला सङ्गठनको नेतृत्व गरिरहेका उनीहरुले नगरपालिका र गाउँपालिकाको मेयर, अध्यक्ष र वडाध्यक्षहरुमा महिलालाई उम्मेदवारी दिलाउन आआफ्नो माउ पार्टीमा हस्तक्षेपकारी लबिङ गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

‘उपमेयर, सदस्य, आरक्षण जस्ता पदमा महिलालाई पठाएर मुख्य पदमा आफै हालीमुहाली गर्ने पुरुष प्रयत्नलाई यसपटक असफल पारिने छ’, एमाले निकट अखिल नेपाल महिला सङ्घ झापाकी अध्यक्ष जसमाया गजमेरले भनिन्–‘बैशाख ३१ गतेको चुनाव नेतृत्व हातमा लिने सुनौलो अवसर हो, छाड्नु हुँदैन ।’

sanjibani 1नेपाली काङ्ग्रेस निकट नेपाल महिला सङ्घ झापाकी सभापति शुशिला ढकालले अधिकार मागेर होइन खोसेर लिनु पर्ने उल्लेख गर्दै नगर र गाउँका महिला कार्यकर्तालाई मेयर र अध्यक्ष बनाउनका लागि आफु जुनसुकै लडाइ लड्न तयार रहेको बताइन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन झापाकी अध्यक्ष राधा कार्कीले आफ्नो माउ पार्टीले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी गरिरहेको जनाउँदै आफुलाई समेत मेयरमा उठ्न पार्टीले आग्रह गरेको बताइन् ।

अनेमसङ्घ अध्यक्ष गजमेरले कुनै पनि एउटा पार्टीले महिलालाई उम्मेद्वारी उठाएको ठाउँमा अर्को पार्टीले हराउनका लागि पुरुष उम्मेद्वार उठाउँछ भने महिलाको महिलालाई नै मत खसाएर निर्धक्क जिताउनका लागि आह्वान गरेकी छिन् ।

उनले महिलाको सवलीकरण र सशक्तिकरणमा स्थानीय तहको उच्च पदमा महिलालाई पुर्याउन आवश्यक रहेको औंल्याउँदै महिलाहरुलाई जाति र पार्टीबाट माथि उठ्न आग्रह गरिन् ।

उनले चुनावमा आर्थिक रुपमा महिलालाई कमजोर देखाएर पार्टीहरुले उम्मेद्वार बनाउन कञ्जुस्याईँ गरेमा त्यसको खुलेर प्रतिवाद गर्न समेत सहभागीहरुलाई अनुरोध गरेकी छिन् ।

नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष ढकालले निर्धक्कसँग महिलाले मेयर, अध्यक्ष लगायतका मुख्य पदहरुमा उम्मेद्वारी दिन तयार हुन आग्रह गरिन् । उनले पार्टीले उम्मेद्वार चयन गर्दा पुरुषले मात्र कोठे बैठक गरी महिलालाई समावेश नगराएमा प्रतिकार गर्नुपर्ने बताइन् ।

अध्यक्ष ढकालले वडा अध्यक्ष र मेयर पदमा महिलाको उम्मेद्वारी तय गर्नका लागि पार्टीहरुसँग लविङ गर्ने बताइन् । उनले मुख्य आरक्षण पदमा मात्र नभएर खुल्ला पदमा समेत महिलालाई प्रतिस्पर्धा गर्न आग्रह गरिन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी जिल्ला अध्यक्ष कार्कीले महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय तहको उच्च पदमा महिला पुग्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सङ्गीता थापा, जानुका ओली, रमा भण्डारी, पुष्पा भण्डारी, मिरा पोखरेल, प्रतिक्षा पराजुली, शोभा श्रेष्ठलगायतले महिलालाई नेतृत्वमा पुग्नका लागि नेतृत्वले गरेको पहलको बारेमा नेतृहरुसँग जिज्ञासा राखेका थिए ।

सहभागीबाट उठेका जिज्ञासाको उत्तर दिँदै नेतृहरुले आआफ्ना पार्टीमा महिलालाई नेतृत्वमा पुर्याउन दबाब सिर्जना गर्ने समेत बताएका थिए ।
कार्यक्रममा रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले स्थानीय संरचनामा वडादेखि नगरसम्म हुने महिलाको सहभागिताका बारेमा संविधान र निर्वाचन कानूनले प्रदत्त गरेका अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले कार्यपत्रमा स्थानीय तहको निर्देशिकामा उच्च पदमा महिलालाई लैजाने कुरामा स्पष्ट नभएको जनाउँदै महिलाहरु आफैले दवाव सिर्जना गर्न आवश्यक भएको बताए ।

कार्यपत्रका अनुसार मेयर र उपमेयरमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था नभएको र उम्मेद्वार मात्र बनाउनुपर्ने उल्लेख गरिएको छ भने वडामा दलितसहित दुई जना महिलालाई मात्र आरक्षण गरिएको छ ।

नेकपा एमालेका जिल्ला सदस्य तथा क्षेत्रीय इञ्चार्ज गोपाल बुढाथोकी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य बद्री खड्का, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, नेकपा एमालेका नगर सल्लाहकार दिपक भण्डारी, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य अम्बिका भण्डारीलगायतले महिलाहरुलाई नेतृत्वमा आउन सहयोग गर्ने बताएका थिए ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिला भट्टराईले स्वागत र सचिव निर्मला काफ्लेले सञ्चालन गरेकी थिइन् ।

स्थानीय तहमा महिला सहभागिताको विषयमा जिल्लामै पहिलोपटक सञ्जीवनीले छलफल चलाएको कार्यक्रममा दुई सय बढी महिलाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: