मेरा लागि मर्दैछन् गोविन्द केसी

  प्रकाशित मिति
८ श्रावण २०७३, शनिबार १२:१४


27 gyanendra niraula
त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ प्रा. डा. गोबिन्द केसी आमरण अनसनमा बसेको आज १४ दिन भई सक्यो । अनसनको ११ दिनदेखि मात्रै सरकारको आँखा पुगेको डा. केसीको अनसनले बिहीबारदेखि औपचारिक रुपमा संसद्मा प्रवेश पाएको छ । बिहीबार मात्रै काँग्रेस सांसद् गगन थापाले सार्वजनिक महत्वको प्रस्तावका रुपमा डा. केसीले उठाएका मागका बारेमा छलफल गरियोस् भनेर संसद्मा प्रस्ताव दर्ता गराएका छन् ।

आठौं पटक आमरण अनसनमा बसेका केसीका मागमा कुनै व्यक्तिगत स्वार्थका कुरा देखिदैनन्, फेरि पनि उनी किन यसरी पटक–पटक आफ्नो जीवन नै खतरामा पारेर आमरण अनशन बसिरहन्छ भन्ने बारेमा गहिरिएर अध्ययन हुन जरुरी छ । केसीको पहिलोदेखि सातौं अनसनसम्म आइपुग्दा तत्कालिन सरकारले फगत केसीको अनसन तोडाउनका लागि मात्रै आश्वासन दिएको देखिन्छ । नेपालमा स्वास्थ्य शिक्षाको क्षेत्रमा भइरहेको चरम माफियातन्त्रको समाप्ति नै डा. केसीको मुलभूत माग देखिन्छ । एउटा अविवाहित व्यक्ति जसले आफ्ना लागि कहिल्यै केही सोचेन । यदि सोच्यो भने केवल नेपाल र सारा नेपालीका लागि मात्र सोच्यो । चाहे त्यो सिन्धापाल्चोकका दुरदराजका गाउँमा औषधि बाँड्ने काम होस् या जाँजरकोटमा झाडापखालाले थलिएका बिरामीको उपचार गर्दा नै किन नहोस् डा. गोबिन्द केसीले जहिल्यै सारा नेपालीको स्वास्थ्यका लागि मात्र लडिरहेका छन् ।

पछिल्लो समय गत असार २६ गतेदेखि डा. गोबिन्द केसी आठौं पटक आमरण अनसनमा बसेका छन् । अहिले उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउन थालेका छन् ।
डा. केसी यतिबेला एक्लै सत्यको लडाई लडिरहेका छन्, अनि हामी आफुलाई यो देशको नागरिक भनाउँदाहरु उनी कहिले मर्छन् भनेर टुलुटुलु हेरिरहेका छौं । नेपालका आर्थिक रुपमा विपन्न नागरिकले समयमा एउटा क्यापसुल खान नपाएर ज्यान गुमाउनु परेको यथार्थलाई बदलेर स्वास्थ सेवा सबैको पहँुचमा त्यो पनि सर्वसुलभ रुपमा हुनुपर्छ भन्दै एउटा व्रmान्तिकारी योद्धा आफ्नो जीवन दाउमा लगाइरहेका छन् । एकछिन सोचौं, डा. केसीले उठाएका माग पूरा हुँदा उनको के स्वार्थ पुरा हुन्छ र ! यदि उनको माग हामी सबै नेपालीका लागि हो भने हामी किन उनको साथमा खुलेर बाहिर आउन सकिरहेका छैनौं । यदि हामी नखुल्नुमा राजनीतिक आस्था हो भने भत्काइदिऔं त्यस्तो आस्था जसले मलाई मेरो छोरा छोरीले कम खर्चमा नै चिकित्सा विज्ञानको अध्ययन गर्न सकुन्, म बिरामी हुँदा सहज रुपमा उपचार गर्न सकियोस् भने आफू मर्न तयार भएको डा. केसी जस्तो एउटा निष्ठावान व्यक्तिको समर्थन गर्न सक्दैनौं । जीवन नै नरहे के को आस्था ? कस्तो आस्था ? त्यसैले डा. केसी मरेपछि सरकारलाई गाली गर्न सडकमा उत्रिनुभन्दा उनको जीवन रक्षा मात्र होइन चिकित्सा क्षेत्रको विकृतिविरुद्ध पनि आवाज बुलन्द बनाउनु पर्ने बेला आएको छ ।

भनिन्छ, खराब मान्छेले काम बिगार्नुभन्दा असल मान्छेहरुले केही काम नगर्नु ठूलो अपराध हो । आज यो समाजका असल भनाउँदा मान्छेहरुलाई मेरो प्रश्न छ केले छेक्यो तपाईलाई डा. केसीको समर्थनमा देश भरका सडक भर्नलाई ? डा. केसीको लाशमाथि रुनुभन्दा उनले उठाएका जायज मागका बारेमा सरकारलाई दबाब दिएर उनको जीवन रक्षा गर्नु बुद्धिमता हुनेछ । केही झुण्ड जो चिकित्सा क्षेत्रको विकृत्तिमा पौडी खेलेर आफू मात्र होइन, आफ्ना सन्तानका लागि पनि सम्पत्ति थुपार्न पल्किएका छन् तीनका लागि मात्र डा. केसी गलपासो भएका छन् । अनि तीनको प्रभाव हरेक पटक सरकारले थाम्न नसकेर डा. केसीका मागमा व्यवस्था गर्दै आइरहेको छ । लोकतन्त्रमा सर्वोपरी आम नागरिक हुन्छ भन्ने कुरा वास्तविकतामा उतार्न पनि आम नागरिकका लागि एक्लै लड्दै आइरहेका डा. केसीको समर्थनमा मेचीदेखि महाकालीसम्मका नेपालीले एउटै आवाज बनाउनैपर्छ । नत्र आज जे कुराले तपाईलाई छेकिरहेको छ, भोलि तपाई र तपाईको परिवार अस्पतालमा उपचार गराउन जाँदा होस् या चिकित्सा विज्ञानको अध्ययन गर्न जाँदा त्यही कुराले तपाईलाई अस्पतालकै बेडमा मार्ने छ, अनि अब्बल नतिजा ल्याएर पनि भनेजति पैसा तिर्न नसकेर डाक्टर बन्ने सपना बर्षातको भेलमा बगाएर बस्नु पर्नेछ ।

डा. केसी मरेभने एउटा त्यस्तो आवाज सदाका लागि अस्ताउने छ, जसले मेडिकल माफियाहरुका अगाडि आफूलाई कहिले झुकाएनन् । डा. केसी मरे भने विपन्न नेपाली हार्नेछ अनि मेडिकल माफियाहरु जीतको उत्सव मनाउँनेछन् । डा. केसी मरेभने गरीब नेपाली अभिभावकका सन्तानले डाक्टर बन्ने सपना बिर्सिनु पर्नेछ भने गरीबका लागि उपचार मेडिकल माफियाका हातमा हुनेछ । डा. केसी मेरा लागि मर्दैछन्, उनी आम गरीब नेपालीका लागि मर्दैछन् । त्यसैले हामीले डा. केसीको मृत्युलाई अंगालेर मेडिकल माफियाहरुलाई जीतको उत्सब मनाउन दिनु हुदैंन । समय अझै घर्केको छैन, आजैदेखि उठौं, जुटौं, डा. गोबिन्द केसीको जीवन रक्षाका लागि सरकरमाथि दबाब सृजना गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: