दमक, १५ असोज । मिस विश्वकर्माको उपाधि दमक झापाकी १८ वर्षीय मेरिना दर्नालले जितेकी छन् । दमकमा शुक्रवार राति सम्पन्न ग्रान्ड फिनालेमा २५ प्रतिष्पर्धीलाई पछि पार्दै मेरिनाले ताज जितेकी हुन् ।
मेरिनाले चादीको ताजसंगै स्कुटी पाइन् । धरानका मेघा रसाइली र सीत घतानी क्रमशः फष्ट रनर अप र सेकेन्ड रनर अप भए । उनीहरुले ५० र २५ हजार नगद पुरस्कार पाए ।
विश्वकर्मा युवा संस्थाको आयोजनामा प्रतियोगिताको मुख्य प्रायोजना दमककै गणेश ज्वेलर्सले गरेको थियो । झापा, मोरङ, सुनसरी, धनकुटा, पा“चथरलगायत जिल्लाका २५युवती सहभागी थिए ।
दिप्पी विक (वेष्ट डिसिप्लेन), आशिमा दुतराज (परफर्मरर), आश्मा लकान्द्री (व्युटीफुल स्माइल), मेघना रसाइली (क्याटवक), मेघा रसाइली (फोटो जेनिक) दिक्षा विक (ट्यालेन्ट), सीत घतानी (कम्प्लेक्स्न) र मेरिना दर्नाल (वेष्ट वक) को सव टाइटल जिते ।
प्रतियोगिताको निर्णायकमा फिल्म निर्देशक तुलसी घिमिरे, पूर्व मिस नेपाल स्वेता सिंह, नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष शुसीलवावु श्रेष्ठ, फेसन डिजाइनर विर्जु श्रेष्ठ र जेसीज अभियन्ता प्रशान्त भण्डारी थिए ।
जातीय भेदभाव अन्त्यका साथै विश्वकर्मा समुदायका युवतीहरुको क्षमता अभिवृद्धिका लागि पूर्वमै पहिलो पटक विश्वकर्मा सुन्दरी प्रतियोगिता आयोजना गरिएको विश्वकर्मा युवा संस्थाका संरक्षक फौदराज गहतराजले जानकारी दिए । उनले प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने बताए ।