मेरो खटपटी

  प्रकाशित मिति
११ आश्विन २०७५, बिहीबार १३:१६


आइए प्रथम वर्षको इतिहास विषयको परीक्षा थियो । परीक्षा लेख्न निर्धारित समयभन्दा केही ढिलो परीक्षा केन्द्र पुगेँ । बाहिरबाटै एकजना शिक्षकले दिनु भएको प्रश्नपत्र र उत्तरपुस्तिका बोकेर परीक्षा हलमा प्रवेश गरेँ । सबै विद्यार्थीहरु धमाधम परीक्षा लेखिरहेका थिए । परीक्षामा बस्ने अभावमा अरु केही र मेरो लागि भुइँमा राम्रो गलैँचा ओछ्याइएको थियो । म त्यहीँ गएर बसेँ । कक्षा कोठामा कोही पनि शिक्षकहरु हुनुहुन्न थियो ।

प्रश्नपत्र हेर्दा अलिअलि बुझिने हस्तलिखित पेपर थियो, फोटोकपी गर्दा राम्ररी मसी नपुगेर नबुझिने गरे छापिएको जस्तो । प्रश्नपत्रमा धेरै प्रश्न भए पनि मैले बुझिने गरी छापिएको एउटै प्रश्न थियो सहिदको बारेमा लेख । प्रश्न सजिलै लाग्यो र अर्को प्रश्न हेरँे बुझ्नको लागि, अझै राम्ररी हेरेँ । दोस्रो प्रश्नमा इतिहासको बारेमा नमिलेका शब्दहरु मिलाउ । ती शब्दहरू प्रश्नपत्रमै थिए । तर, कहिले नसुनेको शब्दहरु थिए । त्यसैले मलाई उत्तर लेख्न असजिलो भयो । कोसिस गरे तर सही उत्तर लेख्न सकिन । पूरै उत्तरपुस्तिका केरमेट भयो । र, मैले शिक्षकसँग अर्को उत्तरपुस्तिका माग गरेँ । फेरि केरमेट हुने डरले मैले पहिलो प्रश्न सहिदको बारेमा लेख्ने सोच बनाएँ ।

परीक्षा हल पूरै कोलाहलमय थियो । अन्य विद्यार्थीहरु धमाधम एक अर्का बीचमा उत्तर आदानप्रदान गरिरहेका थिए । हस्त लिखित चिट सारिरहेका थिए । तर, मैले भने एउटा पनि उत्तर लेख्न सकिरहेको थिइन । छेउमा बस्ने एकजना साथी तर्फ हेरेँ, उ मेरो साथीको छोरा रहेछ, उसले सबै प्रश्नको उत्तर लेखिसकेको थियो । हातले लेखेर ल्याएको चिट दोस्रो प्रश्नको उत्तर उसले मलाई दियो । मैले त्यो चिठ गोजीमा राखेँ । म सहिदको बारेमा उत्तर लेख्न चाहन्थे । तर, सुरुमा लेख्न नसकेको प्रश्नको उत्तर पाएकाले त्यही पहिला लेख्छु भनेर चिट निकालेँ । म अचम्मित भएँ, उक्त चिटमा लेखिएको सबै अक्षरहरु हराइसकेको थियो । मसी उडिसकेको थियो । नमिलेको शब्द मिलाउनु पर्ने, फेरि मैले उक्त प्रश्नको उत्तर लेख्न सकिन । समय समाप्त हुनै लागि सकेको थियो । म अत्तालिरहेको थिएँ । त्यति नै बेलामा छेउमा रहेको पानीको जग घोप्टिएर मेरो उत्तरपुस्तिका कामै नलाग्ने गरी भिज्यो ।

म झन् निराश भएँ, मेरो छेउको साथीको छोरा साथीले अर्को उत्तरपुस्तिका मागेर ल्याइदियो । समय समाप्त हुनै लागेकाले प्राय सबै विद्यार्थीहरु उत्तरपुस्तिका बुझाएर बाहिर निस्किसकेका थिए । मेरो भने उत्तरपुस्तिका पूरै खाली थियो । मनमा कुरा खेल्यो, म अब फेल हुने भएँ । तर पनि मलाई सहिदको बारेमा लेख्न मन लाग्यो । समय सक्किन लागेकाले म अन्योलमा परेँ । फेरि सोचे बाहिर गएपछि साथीहरूले सोधपुछ गर्छन्, म फेरि के जवाफ दिनु आफुलाई लज्जित ठानेँ ।

परीक्षामा पास नहुने पक्का भयो । त्यति सजिलो उत्तर सहिदको बारेमा लेख्न नसकेकोमा निक्कै दुखी बनाएको छ मलाई । मैले सोचे उत्तर नलेखे पनि सहिदको बारेमा म बहिर गएर गफ लगाउँछु साथीहरूलाई । सहिद भनेको देशको स्वतन्त्रताको पक्षमा नेपाली जनताको हक र अधिकार स्थापित गर्न आफ्नो जीवनको बलिदान दिने व्यक्तिहरु सहिद हुन् । यतिमात्र उत्तरले २० अङ्कको प्रश्नको जवाफ पूरा हुन्छ जस्तो लागेन । फेरि सोचे सहिदको बारेमा धेरै कुरा लेख्न सकिन्छ । बहसमा लैजान सकिन्छ । तर, यतिबेला नेपाली जनताको अधिकार र स्वतन्त्रताको नाममा बलात्कार हत्या, हिंसा, भ्रष्टाचार, गुण्डागर्दी, अराजकता आदि भइरहेको देशमा मैले सहिदको बारेमा केही लेख्न र भन्न सकिन । मेरो परीक्षाको उत्तरपुस्तिका खाली नै रह्यो । बिहान ठिक ४ बजेको रहेछ, अचानक मलाई निन्द्राले झस्कायो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: