‘मेरो जस्तो अरुले भोग्नु नपरोस्’

  प्रकाशित मिति
८ मंसिर २०७४, शुक्रबार १४:३२


भद्रपुर । बाध्यताले अप्ठेरोमा परेका कलिलो उमेरका चेलीहरुलाई बन्धक बनाएर यौन धन्धामा लगाउने अत्यन्त अभद्र घटना भद्रपुरमा हुने गरेको खुलासा भएको छ ।

केही महिनादेखि बन्धक बनाएर त्यस्तै धन्धामा जबर्जस्ती लगाइएकी पीडित एउटी चेली लोकतन्त्र पोस्टको सम्पर्कमा आएकी छन् । उनले नै भद्रपुरको यो अभद्र पाटोको खुलासा गरेकी हुन् ।

‘मलाई घरमै बन्धक बनाएर राखिन्थ्यो, म आफुखुशी बाहिर हिँडडुल गर्न पाउँदिनथे’, पीडित १६ वर्षीया सीमा चौधरी (नाम परिवर्तन)ले भनिन्–‘होटलबाट डिमान्ड आएपछि मलाई लिन घरमै गाडी पठाउथे ।’

होटलमा पुगेपछि उनलाई बलात्कार गरिन्थ्यो । सीमाले कहिलेकाहिँ त दिनमा सात जनाबाट समेत यस्तो अत्याचारको शिकार हुनु पथ्र्यो ।
सीमाका अनुसार बन्धक बनाएर यस्तो धन्धा चलाउने अभियुक्त उनकै मितआमा भद्रपुर–६ फुटानीचोककी शान्ति सहनी (नाम लुकाइएको छैन) हुन् । ‘कसैलाई भनिस् भने मार्दिन्छौँ भनेकी थिइन् मितआमाले’–सीमा कथित मितआमाको कर्तुत बताउँछिन् ।

यही मङ्सिर २ गते प्रहरीको सहयोगमा सीमालाई साना हात नेपाल भद्रपुरले उद्धार गरेको छ । हाल उनी प्रहरीको संरक्षणमा रहेकी छन् ।
पक्राउ गर्न प्रहरी पुग्नु अगावै घरबाट भागेकी अभियुक्त शान्ति सहनी फरार भएकी छन् । उनको तीब्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

उदयपुरको गाईघाट स्थायी घर भएकी सीमा भद्रपुरको एक उद्योगमा मजदुरी गर्ने आफ्ना बाबुआमासँगै चार वर्ष अघि झापा आएकी थिइन् ।
१२ वर्षको उमेरमा नातामा आफ्नै फुपाजु पर्ने भद्रपुरकै दुर्गा चौधरीबाट बलात्कृत भएकी सीमा त्यो घटनापछि आमाबाबुसँगै भद्रपुर छाडेर गाईघाट नै फर्किएकी थिइन् ।

बलात्कारी दुर्गा चौधरी हाल झापा कारागारमा कैद सजाय भोगिरहेको छ । बलात्कारको मानसिक पीडामा परेकी उनी गाईघाटको जनता माविमा पढ्न थालेकी थिइन् । आमाबुबासँगै उद्योगमा काम गर्दा चिनजान भएकी भद्रपुरकी शान्ति सहनीले सीमालाई कक्षा ६ को पढाइ छुटाएर यही दसैँ अघि ललाइफकाइ भद्रपुर नै ल्याइन् ।

संरक्षण प्रदान गर्ने र राम्रो काममा लगाइदिने भन्दै मितआमाको साइनो लगाएकी शान्तिले उनलाई भद्रपुरको आफ्नो घरबाट बाहिर हिँडडुल गर्न नदिने गरी बन्धक बनाइन् र यौन धन्धामा लगाइन् ।

शान्तिलाई सीमाको पहिलेको बलात्कारको घटना पुरै थाहा थियो र उनको घरको आर्थिक अवस्था ज्यादै नाजुक छ भन्ने पनि जानकारी थियो । यी बाध्यता बुझेकी शान्तिले सीमालाई आफ्नो मुठ्ठीमा पारेकी थिइन् ।

शान्ति भित्रभित्रै यस्तो घृणित धन्धा चलाउँथिन् भने बाहिर देखाउनका लागि उनी घरमा चाहिँ कुखुरा र माछा बेच्ने पेशा गर्थिन् ।
‘उम्किएर जाउँ भने ठाउँ छैन, नजाउँ भने नरकमा उसले फँसाइसकी’, सीमा त्यसबेलाको आफ्नो पीडा पोख्दै भन्छिन्–‘ऊ आफै पनि यस्तै काम गर्थी ।’

मुख्य अभियुक्त शान्ति सहनी फरार भए पछि पीडितको वयानका आधारमा भद्रपुरका केही होटलका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्न थालिसकेको छ ।

मुख्य अभियुक्त फरार भएको र होटलविरुद्ध लिखित उजुरी नभएको भन्दै प्रहरीले होटलका सञ्चालकहरुलाई छाडिदिएको पनि छ ।
सीमाका अनुसार उनलाई बन्धक बनाएर राख्ने शान्ति सहनीसँग होटलका सञ्चालकहरुको साँठगाँठ रहेको थियो ।

‘कात्तिक महिनाकै एक दिन विहान १० बजेतिर बजार जाउँ भन्दै मलाई मितआमाले भद्रपुरको एक होटलमा पुर्याई’, धन्धामा लगाएको सुरुको दिन सम्झिदै सीमा भन्छिन्–‘एउटा कोठामा एक्लै छाडेर ऊ बजारतिर गई, मलाई होटलकै साहुले रेप गर्यो ।’

होटल साहुले अस्मिता लुटेपछि कतै भनेमा ज्यान मारिदिने धम्की दिएको थियो । मितआमा भनाउँदी शान्ति बजारबाट फर्केर आएपछि ‘अब तैले यस्तै काम सँधै गर्नु पर्छ, होटलमा आउने लोग्ने मान्छेहरुलाई खुशी पार्नु पर्छ’ भनेर उल्टै थर्काएको सीमा बताउँछिन् ।

त्यसपछि उनलाई शान्तिले घरमै बन्धक बनाएर राख्न थालिन् । होटलहरुबाट डिमान्ड आउँदा सीमालाई लिन गाडी घरमै आउँथ्यो । शान्तिले होटलवालासँग कुरा मिलाएर सीमालाई कामका लागि मात्र पठाउँथिन् ।

‘मलाई होटलवालाले मोमो र चाउचाउ खान दिन्थ्यो’, सीमा भन्छिन्–‘पैसा चाहिँ मितआमाले नै लान्थिन्, मलाई एक रुप्पे पनि दिदैनथे ।’
सीमाका अनुसार शान्तिले ज्ञानेचोकको एक व्यक्तिलाई १ लाख ऋण तिर्न थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: