मेरो बेइजिङ यात्रा

  प्रकाशित मिति
२० भाद्र २०७४, मंगलवार २२:०३


gyanendra
ज्ञानेन्द्र निरौला

हाम्रो देशको उत्तरी छिमेकी चीनका बारेमा धेरै पढेको र सुनेको थिएँ । तर, चीनको भूमिमा टेक्ने अवसर भने मिलेको थिएन । सँगैमा अर्को छिमेकी मुलुक भारतका विभिन्न ठाउँको थुप्रै पटक यात्रा गरिसकेको मेरा लागि चीनको यात्रा यसपाली जुर्यो ।

भदौ ५ गतेदेखि एक साताका लागि चीनको राजधानी बेइजिङ यात्राको अवसर मिल्यो । प्रसङ्ग थियो, एसिया प्यासिफिक देशका प्रसारणसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरु बीच छलफल र प्रसारणका बिषयमा भएका नविनतम जानकारी आदानप्रदान कार्यक्रम । त्यसमा सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालको तर्फबाट सङ्घका केन्द्रीय सदस्य बुटवलस्थित सामुदायिक रेडियो समावेशीका यामबहादुर गाहा मगर र मैले प्रतिनिधित्व गर्ने मौका पायौँ । नेपालसहित १४ देशका प्रतिनिधि सम्मिलित उक्त कार्यक्रममा सहभागी भएर फर्केपछि आफुले देखेका सन्दर्भलाई यो लेखमार्फत प्रस्तुत गर्न लागेको छुः

पहिलो अन्तर्राष्ट्रिय हवाई यात्रा
भदौ ५ गते राति ११ः१५ बजेको उडान तालिकाअनुसार त्यसको ३ घण्टा पहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । म पुग्दा साथी यामबहादुर विमानस्थल पुगिसक्नु भएको थियो । हामी दुवैजना भेट भयौँ । वहाँको र मेरोबीचको संयोग भनेको हामी दुवैजना पहिलो पटक अन्तर्राष्ट्रिय हवाई यात्रा गर्दै थियौँ ।

g 1एकखालको उत्साह थियो हामी दुवैमा । हवाई यात्राका लागि आवश्यक सुरक्षा जाँच र बोइङ पासको प्रक्रिया पूरा गरेपछि हामी जहाजको समयको पखाईमा थियौँ । हामीलाई दिएको समयभन्दा आधा घण्टा ढिलोगरी हामीलाई लाने जहाजमा चढ्ने जनाउ आयो र हामी जहाजमा चढ्यौँ । जहाज भित्रमात्र के पसेको थिएँ त्यतिधेरै मान्छे बोक्ने ठाउँदेखेर एकछिन त छक्कै परियो । रातिको ११ः५० मा हामी चढेको चाइना साउदेन एयरको चीनको गोञ्जाओतर्फ उड्यो । ठूलो भएर होला आन्तरिक साना जहाज जस्तो खासे हल्लाएन । ४ घण्टा १५ मिनेटको उडानपछि चीनको गोञ्जाओ पुगियो । त्यहाँको विमानस्थल देखेर दङ्गदास भएँ म । ९ वटा त रनवे मात्रै । कति क्षेत्रफल भन्ने यकिन गर्न सकिएन तर अत्यन्तै ठूलो । २ घण्टाको ट्रान्जिट अन्तर्राष्ट्रियबाट आन्तरिक विमानमा पुग्दा नै बित्यो ।

विमानस्थलको व्यवस्थापन देखेर नै मलाई चीनको व्यवस्थितपन अनुमान गर्न केही सजिलो भयो । म नै सोच्न थाले कि गोञ्जाओ नै यस्तो छ भने राजधानी शहर बेइजिङ कस्तो होला ? अन्तर्राष्ट्रियभन्दा भव्य थियो गोञ्जाओबाट बेइजिङका लागि उडेको चाइना साउदेनको आन्तरिक जहाज । अनि त्यस जहाजका परिचारिकाले गरेको सम्मानित व्यवहारले चीनले विदेशी पाहुनालाई गर्ने व्यवहारको झल्को दिँदै थियो । गोञ्जाओबाट ३ घण्टाको हवाई यात्रापछि हाम्रो गन्तव्य चीनको राजधानी शहर बेइजिङमा चीनको समय अनुसार बिहान ११ बजे अवतरण गरियो ।

भाषाको समस्या
बेइजिङ त पुगियो । जानुछ मेट्रोपार्क लिडो होटल । जहाँ हाम्रो बस्ने व्यवस्था आयोजकले गरेको थियो । विमानस्थलबाट बाहिर निस्केर जब ट्याक्सीतर्फ लागियो अनि पर्यो फसाद । ट्याक्सीवाला चाइनिजमात्रै बोल्ने र बुझ्ने, हामी अङ्ग्रेजीबाट कुरा गर्ने । म र यामबहादुरजी एकछिन एैठनमा पर्याँै । ट्याक्सीवाला दाइले हामीले भनेको केही बुझेनन् अनि उनले भनेको हामीले बुझ्ने कुरै थिएन ।

g 11जब कुरा बुझाबुझ भएन भन्ने लागेपछि मैले आफूसँग भएको होटलको नाम र ठेगानाको कागज निकालेँ, जुन चाइनिज भाषामा पनि लेखेको थियो । त्यो देखाएपछि ट्याक्सीवाला दाइले मोवाइलमा १०० लेखे । मैले बुझिहाले कि यिनले भाडा १०० युआन भने । मैले नेपालीमा हिसाव गर्दा १५४१ रकम भयो । अलि धेरै भने कि क्याहो भनेर भाडा घटाउने प्रयास गरियो । त्यो आँट चाहिँ काठमाडौँदेखि गोञ्जाओ आउँदा सिटमा सँगै रहेकी चाइनिज युवतीले जुटाइ दिएकी थिइन् ।

उनलाई मैले होटलको ठेगाना देखाएर बेइजिङ विमानस्थलबाट त्यहाँसम्मको ट्याक्सीभाडा कति होला भनेर सोधेको थिएा । उनले ६७ देखि ७५ भन्दा बढी नदिनु ट्याक्सीले बढी माग्न सक्छ भनेर भनेको हुनाले पनि भाडा बढी भयो भन्ने लागेर नै बिरानो ठाउँ नै भएपनि भाडा घटाउने प्रयास गरेँ । सँगैका साथी यामजी होस् घटाउन मिल्ने हो कि होइन अप्ठ्यारोमा परिएला कि सर भन्दै थिए । मैले एकपटक प्रयास त गरौँ भनेर मोवाइलमा ६५ लेखेर ट्याक्सीवाला दाइलाई देखएको त मजाले झर्कियो । भाषा नबुझे पनि हाउभाउ हेर्दा लाथ्यो दाइ त रिसाए कि क्या हो । हामीबीचको कुरा गरेको अलि परबाट हेरिरहेका एकजना विमानस्थल सुरक्षाकर्मी नजिकै आएर ट्याक्सीवाला दाइलाई सोधे । मलाई असजिलो भइरहेको थियो कि गल्ती पो गरियो कि भन्ने एकप्रकारको डर लागिरहेको थियो ।

g 8तर, ती सुरक्षाकर्मीले मतिर फर्केर होटलको ठेगाना मागे जस्तो गरे । तिनले पनि चाइनिज मात्रै बोल्ने र बुझ्ने रहेछन् । मैले होटलको ठेगाना भएको कागज देखाएँ । त्यति हेरेपछि तिनले ट्याक्सीवालासँग अलि कसेर कुरा गरेको देखियो । मलाई लाग्यो मेरो प्रयास काम लागेजस्तो छ, केटाले भाडा मिलाएर लगिदे भन्दै होला भन्ने लाग्यो । र, भयो पनि त्यस्तै । ती सुरक्षाकर्मीले मलाई मोवाइलमा ८० लेखेर देखाए । मैले हामी दुई जनालाई देखाएर भने दुईजनाकै हो ? उनले इसाराकै भरमा दुईजनाको ८० भनेपछि हामीले जाने निर्णय गर्यौँ । मैले ती सुरक्षाकर्मीलाई हात मिलाएर धन्यवादको इसारा गरेँ । अनि हामी विमानस्थलबाट ट्याक्सीमा हिड्यौँ । करीब ४५ मिनेटको हिँडाइपछि हामी पुग्यौँ होटल मेट्रोपार्क लिडो होटल । अङ्ग्रेजी र चाइनिज दुवै भाषामा लेखेको हुनाले खासै समस्या भएन ।

ट्याक्सी छोडेर होटलको लबिमा पुग्यो । त्यहाँ हाम्रा आयोजक संस्था विआइआर टिभीका युवाहरु संस्थाको टिसर्ट लगाएर बसेको भेटियो । त्यो देखेपछि अलि सहज महसुस भयो । तर, त्यहाँ पनि भाषाको समस्या उस्तै, उनीहरु पनि अङ्ग्रेजी नबुझ्ने नै रहेछन् । अब के गर्ने ? तर, तिनीहरुले हाम्रो होटल परिवर्तन भएको कुरा बुझाउन गरेको प्रयास चाहिँ मान्नै पर्छ । केहीबेरको आयोजकको गाडीको हिँडाइपछि हाम्रो बस्ने स्थल भनिएको रोजडेल होटल पुगियो । त्यहाा पनि सबै चाइनिजमा बोल्ने र अङ्ग्रेजी नबुझ्ने समस्या उस्तै । त्यहाँ हामीलाई पर्खेर बसेका आयोजक संस्थाका युकी र रिक्कीले जेनतेन अङ्ग्रेजी बोल्दा रहेछन् । उनीहरुकै सहायताले कोठाको टुङ्गो लगाइयो ।

पछि बुझ्दै जाँदा ९० प्रतिशत चाइनिजहरुले अन्य भाषा बुझ्दा रहेनछन् । उनीहरुको सबै कुरा चाइनिज भाषामा नै पर्याप्त हुने भएकाले पनि अन्य भाषा सिकिरहनु नपर्ने रहेछ । कम्प्युटरदेखि सामाजिक सञ्जालका फेसबुक र ट्युटर पनि चाइनिजमै चलाउँदा रहेछन् उनीहरुले । त्यसैले पनि बाहिरबाट जानेका लागि चीनमा भाषाको केही समस्या हुने नै रहेछ । तर पनि उनीहरुको हार्दिकता र इसाराबाट पनि काम चलाउन सकिने अवस्था रहेछ चीनमा ।

भव्यताको शहर
होटल रोजडेल १९ तलाको रहेछ । संयोगले मेरो कोठा पनि १९ औँ तलामा परेछ । कोठा नं. १९२० को लागि मलाई एउटा एटिएम कार्ड जस्तै देखिने एउटा कार्ड g 3प्राप्त भयो । त्यो कार्डले तालाको काम गर्दो रहेछ । कार्ड छिराएपछि ढोका खोलिने र त्यही कार्ड अर्को ठाउँमा छिराउँदा कोठाको बत्ती बल्ने व्यवस्था रहेछ त्यहाँ । १९ औँ तलाको झ्याल खोलेर हेर्दा मैले देखेको दृश्यले करीब एक घण्टा म टोलाएछु । त्यो किनभने हाम्रो देशको सबैभन्दा ठुलो शहर भनेको नै काठमाडौँ ।

काठमाडौँमा पनि त्यस्ता भव्य घर मैले देखेको थिइन । बेइजिङ शहरमा बनेका भवनहरुको भव्यता यहाँ बयान गरेर सकिन्न । त्यहाँ बनेका भवनका स्वरुप नेपालमा कहीँ कतै देख्न पाइदैन । मैले सोचेँ चीन पनि नेपालजस्तै सानाठूला भूकम्प आइरहने देश हो । तर पनि त्यत्रात्यत्रा भवन कसरी अडिएका होलान् । हाम्रो देशमा निश्चित उचाइभन्दा अग्ला घर बनाउन प्रतिबन्ध छ । त्यसमा पनि २०७२ बैशाख १२ को महाभूकम्प पछि त झन् अग्ला भवन बनाउन निक्कै कडा कानुनी प्रक्रिया अवलम्बन गरिएको छ । तर, चीन जहाँ भूकम्पको झड्का आइरहन्छ तर पनि त्यत्रा अग्ला भवन बनाउन सरकारले अनुमति दियो होला भनेर सोचे । भोलिपल्ट बुझ्दै जाँदा थाहा भयो कि चीनमा भवन बनाउन प्रयोग हुने प्रविधि हाम्रो सरकारले सोच्नसम्म पनि सकेको छैन ।

g 2त्यहाँ त होचा भनेका घर त देख्न निक्कै मुश्किल पर्ने । अग्ला अनि त्यसमा गरिएको बनावटको आकार हेर्दा नै आनन्द हुन्छ । त्यतिमात्र होइन, हाम्रा नेताहरुले भन्ने गरेको स्मार्ट सिटीका मापदण्ड बेइजिङ शहरले पुरा गरेको रहेछ । फराकिला सडक, साइकल हिँड्ने अलग्गै सडक र पैदल यात्रीका लागि खास चासो दिएर बनाइएको पैदल यात्री सडक । त्यति व्यवस्थित सडक कहिले बन्ला हाम्रोमा ? पैदल यात्रा गर्दैगर्दा पटक–पटक यो प्रश्नले मेरो मन चिमोटी रह्यो ।

सद्भाव र पाहुनामैत्री शहर
नयाँ परिवेश, नयाँ देश अनि नयाँ भाषा बोल्ने मान्छे । सम्झिदा निकै कठिन जस्तो लागिरहेको थियो । तर, मेरो सोचाइलाई गलत सावित गरिदिए चाइनिजहरुले । उनीहरुले पाहुनालाई गर्ने आदर, सम्मान र सहयोगी भावनाको जति चर्चा गरे पनि पुग्दैन । बेइजिङ पुगेको दोस्रो दिन नियमित काम सकेर करीब ४ः३० बजे हामी बेइजिङको माटोमुनि दौडने रेल (त्यहाँ सब–वे भनिन्छ) मा सफर गर्ने उत्सुकता भयो । हामी बसेको होटलबाट करीब २ किलोमिटर पर सब–वेको स्टेसन भएको जानकारी पाएपछि हातमा बेइजिङको नक्सा बोकेर मोरिसस देशका अञ्जीव धर्नुधारी नेपाली यामबहादुर मगर र म निस्कियौँ माटोमुनिको सफरका लागि ।

g 5सब–बेमा पुग्दा थाहा भयो कि जाने ठाउँको टिकट कम्प्युटर प्रणालीमा काट्नु पर्ने तर त्यहाँ रेलका कोही मान्छे थिएनन् । जाने ठाउँ थाहा थियो । त्यसैले म अघि बढेँ, टिकट काट्न । तर, कम्प्युटरमा पुग्दा थाहा भयो कि सबै ठाउँको नाम त चाइनिजमा नै लेखेको रहेछ । अब पर्यो फसाद । आफूले जाने ठाउँ कुन हो भनेर छुट्याउन नसकेपछि त्यो भीडमा मैले एउटी युवतीसँग सहयोग मागँे । उनलाई अङ्ग्रेजीमा लेखिएको आफूले बोकेको नक्शाको नाम देखाएर र टिकट काटिदिन अनुरोध गरेँ । बुझ्दा थाहा भयो खाली भएको कम्प्युटरबाट हाम्रो टिकट नकाटिने रहेछ । अर्को कम्प्युटरमा करीब ५० जना मानिस टिकटको लाइनमा थिए ।

मैले सोचेँ ती युवतीले त्यो लाइन देखाएर बाटो लाग्ने छिन् । तर, मेरो सोचाइ विपरीत हाम्रा लागि ती युवती ५० जनापछि लाइनमा लागिन् र म लगायत साथीहरुलाई एकछिन पर्खन आग्रह गरिन् । करीब २० मिनेट जतिमा तिनले त्यो लाइनमा उभिएर हाम्रो गन्तव्यको टिकटरुपी कार्ड हाम्रो हातमा दिएर अभिवादन गर्दै बाटो लागिन् । म लगायत तिनैजना छक्क पर्यौँ । मैले सोचेँ मेरो देशमा भाषा नबुझ्नेले यसरी सहयोग मागेको थियो भने मैले के गर्थे होला ? मलाई थाहा छ म अर्काको लागि त्यति समय लाइनमा बस्दिन । धेरै गरेँ भने ठाउँसम्म देखाएर हिँड्छु । ती युवतीले सिङ्गो चीनको सद्भाव र सहयोगी भावना हाम्रासामु छर्लङ्ग पारिन् । आफैँदेखि कता–कता लाज लागेर आयो । त्यतिमात्र होइन, अर्को दिन एउटा क्यान्टिनमा पानीको जार थियो तर गिलास नभएर पानी खान असहज भइरहेको बेला पनि अर्की युवतीले इसाराकै भरमा करीब १० मिनेटको मेहनतमा हामीलाई गिलास ल्याएर पानी खान सजिलो पारेको स्मरणले पनि चिनियाहरु अत्यन्तै सहयोगी हुने रहेछन् भन्ने बुझ्न सकिन्छ ।

g 9प्रविधिको शहर
हाम्रो भ्रमणको उद्देश्य नै प्रसारण क्षेत्रको प्रविधिको अवलोकन र त्यसका बारेमा छलफल गर्ने थियो । प्रविधिका हिसावले चीनका रेडियो र टेलिभिजनमा प्रयोग भएका प्रविधि उच्चकोटीको लाग्यो । चीनमा रेडियो र टेलिभिजनको प्रसारण पहुँच लगभग बराबरी जस्तो रहेछ । रेडियोको प्रसारण पहुँच ९८ प्रतिशत र टेलिभिजनको ९८.६ प्रतिशत रहेछ । यसरी हेर्दा टेलिभिजन अझ सशक्त देखियो । त्यहाँको सरकारी टेलिभिजन सीसीटिभीको भवन मात्र ४९ तलाको रहेछ । उत्पादन कक्ष २ हजार स्वायर फिटको रहेको हेर्न पाइयो । त्यसमाथि त्यहाँ प्रयोग भएका प्रविधिका बारेमा हामीले धेरै बोल्न सक्ने अवस्था नै देखिएन ।

हाम्रो कल्पनाभन्दा बाहिरको प्रविधिको प्रयोग चिनिया सञ्चारमाध्यमहरुले गरेका छन् । मोवाइल मानिसको प्रत्यक्ष जीवनको एउटा अङ्ग नै बनेको देखियो बेइजिङ शहरमा । सार्वजनिक यातायात होस् या सडक पेटीमा हिँडिरहेका मानिस किन नहुन् मोवाइलमा नै आँखा गडेको हेर्न पाइयो । तर, कार्यालय समयमा मोवाइल प्रयोगमा निक्कै कडाइ रहेछ । दैनिक किनमेलदेखि धेरै कुरा मोवाइलबाटै गर्दा रहेछ अधिकांश चिनियाहरुले ।

g 4मनमोहक र आश्चर्यजनक दृश्य
बेइजिङ भ्रमणको पाँचाँै दिन हामी पुग्यौैँ संसारकै अद्भूत भनिएको ऐतिहासिक ग्रेटवाल हेर्न । बेइजिङ शहरदेखि ७२ किलोमिटर उत्तरतर्फ पहाडी भू–भागमा निर्माण गरिएको ग्रेटवाल पुग्दा जति आनन्द आउँछ, त्यसको बयान गर्न सकिदैन । हजारौँ पर्यटकहरुको भीड दैनिकजसो ग्रेटवालमा हुने रहेछ । पर्यटकलाई केहीबेर भएपनि ग्रेटवाल हिँडाउन चीन सरकारले निक्कै मेहनत गरेको देखियो । अत्यन्तै सुन्दर दृश्यावलोकन गर्न पाइने अनि चन्द्रमाबाट देखिने पृथ्वीको एउटै कुरा ग्रेटवालको भित्तामा अडेस लाग्नु र त्यहाँ केहीबेर हिँड्नुको आनन्द यहाँबाट सम्झेर पुग्दैन, त्यसका लागि त्यहीँ पुग्नुको विकल्प छैन ।

खानपानको विविधता
चिनिया खानपान अर्को चर्चा गर्न लायक विषय रहेछ । त्यहाँ मासु नखाने भन्ने नहुँदो रहेछ । एक पटकको खानामा करीब ५१ प्रकारका खानेकुरा हुने त्यसमा g 6माछामासुको मात्र ७० प्रतिशत हिस्सा हुने देखियो । म जस्ता माछामासु नखानेहरुका लागि सुरुका दिन त्यति सहज भएन । तर, बानी परेपछि व्यवस्थापन गरियो । खासगरी हरेक खानामा फलफूलको मात्रा उल्लेख्य हुने । उसिनेको मकै सबै खानामा एउटा नछुटाउने वस्तु रहेछ । हरियो सागपात पकाएर खाने चलन रहेनछ चीनमा ।

रायोको साग, बन्दाकोपीका पत्ताहरु काँचै खाँदा रहेछन् । भात अत्यन्तै कम खाने, एकपटकमा एक चम्चा जति मात्रै । उनीहरुको आफ्नै शैली रहेछ खानेकुराको । दुईवटा साना–साना बाँसका लौराले चेपेर खाँदा रहेछन् । दूधको स्वादले मलाई छक्कै पार्यो । त्यति मिठो दूध त हाम्रा गाईभैँसीको थुनमा नै मुख लगाएर ताने पनि हुँदैन । कसरी त्यति मिठो भयो दूध प्रश्न अनुत्तरित नै छ । दाल र आलुको परिकार देख्न पाउनु भाग्यमानी नै मान्नु पर्ने रहेछ, बेइजिङ शहरमा ।

अन्त्यमा, एकहप्ते बेइजिङ बसाइले केही कुरा मनमा उब्जाएको छ र केही प्रश्नको उत्तर पनि सँगै दिएको छ । पहिलो कुरा त दक्षिणी छिमेकीका बारेमा सधँैजसो जानकारी राख्ने हामी नेपाली उत्तरी छिमेकीले गरेको त्यो प्रगतिका बारेमा किन बेखबर भएर बसेका छौँ ? यदि नेतृत्वले त्यो खबर राखेका छन् भने उत्तरी छिमेकीको त्यो प्रगतिको केही अंश हामीले किन भित्र्याउन सकिरहेका छैनौँ ? केले रोकिरहेको छ हामीलाई चीनको प्रगतिसँग जोड्न ? त्यो कौतुहलताले सताइरहेको छ मलाई ।

g 11दोस्रो कुरा भनेको भाषाको जटिलताकै कारण उत्तरी छिमेकीसँग भन्दा नेपाली दैनिकी दक्षिणी छिमेकीसँग बढी नजिक हुन पुगेको रहेछ भन्ने पनि लाग्यो । चिनियाहरु सबै कुरा आफ्नै भाषामा गर्न मन पराउने भएकाले हाम्रो जटिलता भाषा नै भएको मेरो ठहर रह्यो । जसरी दक्षिणी छिमेकीसँग हाम्रो भाषामा सरलता छ त्यही, ढङ्गको भाषिक सरलता उत्तरी छिमेकीसँग पनि हुने हो भने नेपालको दक्षिणी छिमेकीसँगको परनिर्भरता घटेर जाने निश्चित छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
(लेखकसँग सोझो प्रतिक्रियाका लागि मो. ९८५२६७४८२८)

g 7 g 10

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: