मेहनतले भाग्य बदल्न सकिने रहेछ

  प्रकाशित मिति
१४ भाद्र २०७३, मंगलवार ०८:२४


SL371859
रोशनी मगर, १९, बीबीए, चौंथो सेमेस्टर

अहिले भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा बीबीए चौथो सेमेस्टरमा अध्ययनरत छु । मेरो घर झापाको दक्षिणमा पर्ने राजगढ–६ हो । बुबा भीमबहादुर थापा मगर वैदेशिक रोजगारीमा हुनुहुन्छ । आमा सकिला थापा मगर गृहिणी हुनुहुन्छ ।

मैले २०६८ सालमा राजगढकै ज्ञानज्योति माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरेँ । र, २०७० सालमा कक्षा १२ पनि सोही स्कूलबाट पास गरेँ । त्यसपछि के पढ्ने भन्ने अन्यौलले मलाई पिरोलिरहेको थियो । व्यवस्थापन सङ्काय (कमर्स)बाट ७३ प्रतिशत ल्याएर १२ कक्षा पास गरेपछि पनि अब बीबीएस कसरी कहाँ गर्ने भन्ने चिन्ता थियो । तर, एकाउन्ट विषय पढाउनु हुने धीरेन्द्र पोखरेल सरले मेची बहुमुखी क्याम्पसमा बीबीए पढाई हुने र त्यही पढ्नु भन्ने सुझाव दिनु भयो ।

मेची बहुमुखी क्याम्पसमा बीबीए पढ्न आएँ । तर, मलाई अङ्ग्रेजी विषयसँग डर थियो । प्लस टुसम्म नेपाली माध्यमबाट पढेकी थिएँ । कुनै तयारीबिना नै इन्ट्रान्स फेस गरेँ । प्रवेश परीक्षामा पास भएपछि कात्तिक महिनादेखि पढाई सुरु भयो ।

पढ्दै गएँ । अङ्ग्रेजी माध्यममा पढ्न मलाई गाह्रो भयो । घरमा आमालाई ‘वीवीए पढ्न सक्दिन, क्याम्पस पनि जान्न’ भनिदिएँ । म निरास जस्तै भइसकेको थिएँ । पुसमा आमा क्याम्पसमै जानु भयो । बीबीए प्रशासन र क्याम्पस प्रशासनसँग ‘मेरी छोरीले अङ्ग्रेजीमा पढ्न सक्दिनन्, म फिर्ता लान्छु’ भन्नु भयो । तर, सिरो सान्दाई सर र बीबीएमा हामीलाई पढाउनु सरहरूले ‘नआत्तिनु होस्, रोशनीले बीबीए पढ्न सक्छिन्’ भन्नु भएछ । आमा धेरैबेर कन्भिन्स हुनु भएन ।

मलाई पनि अङ्ग्रेजीमा पढ्न गाह्रो नै भइरहेको थियो । म सरहरूलाई ‘नेपालीमा बुझाई दिनु’ भन्थेँ । तर, ‘बीबीए अङ्ग्रेजीमै पढ्ने हो, तिमीले मेहनत गर्नुपर्छ, अङ्ग्रेजीबाटै पढ्ने, बुझ्ने गर्नु पर्छ’ भन्नु हुन्थ्यो ।

वास्तवमै आमाले मलाई क्याम्पसबाट फिर्ता लिन आउँदा सरहरूले मान्नु भएन । मलाई बीबीए पढ्न प्रेरित गर्नु भयो । अङ्ग्रेजी माध्यममै पढ्न प्रेरित गरिरहनु भयो । यसका लागि म बीबीएका निर्देशक सिरो सान्दाई सरसहित सबै सरहरूप्रति आभारी छु । पछि मलाई अङ्ग्रेजी माध्यम नै सजिलो लाग्न थाल्यो ।

rosniबीबीए पढ्न मेहनत गर्नु पर्छ । मेहनतले मात्रै कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ । म अहिले हरेक दिन कोर्सबाहेकका किताब केही समय पढ्छु । आधा घण्टासम्म विभिन्न विषयका अङ्गेजीमा निबन्ध लेख्छु । फ्री राइटिङले अङ्गे्रजीमा अब्बल बनाउँछ । हामी १० बजेदेखि ४ बजेसम्म कक्षामै हुन्छौँ । त्यसबाहेक घरमा पनि दैनिक ४–५ घण्टा मैले पढ्ने गरेकी छु । अङ्ग्रेजीमा बोल्न, लेख्न र बुझ्न अब मलाई समस्या छैन । सरहरूले हौस्याँउनु हुन्छ । म पनि मेहनत गर्छु ।

त्यही मेहनतको परिणाम हुनुपर्छ, मैलै क्याम्पसको पहिलो आन्तरिक परीक्षामा चौथो स्थान हासिल गरेँ । पहिलो सेमेस्टरमा दोस्रो र दोस्रो सेमेस्टरमा पनि दोस्रो नै भएँ । सुरुवातमा केही तनाव भए पनि अहिले मैले आफूलाई सबल बनाउने प्रयत्न गरिरहेकी छु । अनुशा अग्रवाल पहिलो स्थानमा र म दोस्रो स्थानमा रहेर पास हुँदै छौँ ।

मेहनतले भाग्य बदल्न सकिन्छ भन्ने भनाई पुष्टि गर्ने मेरो अठोट हो । कक्षामा आफ्नो समस्या राख्नु पर्छ । अनि निडर भएर, मैले यो काम सफलताका साथ सम्पन्न गर्नु छ भन्ने धारणा राखे हामी सफल हुन सक्छौँ । मेची बहुमुखी क्याम्पसमा हौसला, प्रेरणा र उत्साह भर्ने तथा विद्यार्थीलाई दिशानिर्देश गर्ने गुरुजनहरूको खाँचो छैन । यहाँ मैले सोचेभन्दा असल सरहरू पाएकी छु । उहाँहरूकै प्रेरणाका कारण अहिले म बीबीएको चौँथो सेमेस्टरमा अध्ययनरत छुँ ।

एउटा विश्व प्रसिद्ध भनाई छ–‘प्रत्येक मानिसले आफ्नो भाग्य आफैले निर्माण गर्न सक्छ ।’ हो, हरेक मानिसले आफू भित्रको अन्तरनिहीत क्षमताको पहिचान गर्न सक्यो भने अवश्य नै उसले सफलता हासिल गर्न सक्छ । तर, यसका लागि मेहनत पनि उत्तिकै आवश्यक हुन्छ । कसैकसैको हकमा चाहिँ उसको अन्तरनिहीत क्षमता अरुले नै पहिचान गरेर त्यसतर्फ लाग्न प्रेरित गर्छन् । जो हाम्रा पथप्रदर्शक पनि हुन् । यस्ता दृष्टान्त हाम्रो समाजमा धेरै छन् । त्यसैको साक्षी म संयम् पनि हुँ ।

(कुराकारीमा आधारित)

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ भदौ १४ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: