मैले चिनेका ‘यज्ञराज सर’

  प्रकाशित मिति
९ माघ २०७३, आईतवार १५:४२


gn

साहित्य, शिक्षा अनि त्यसपछिको राजनीतिमा उनलाई झापाको एउटा तप्काले राम्ररी परिचय पाएको छ । उनी जति साहित्य र शिक्षाको क्षेत्रमा परिचित छन्, त्यति राजनीतिले उनको परिचय दिएको छैन । तर, जुन क्षेत्रमा उनी जति चिनिएका हुन् त्यो चिनारीका पछाडि चिनाउने काम भने उनको राजनीतिक दृष्टिकोणले नै हो । उनी अर्थात् यज्ञराज प्रसाईं सबैले चिन्ने नाम ‘यज्ञराज सर’ ।
साहित्यिक स्रष्टा र कर्मशील शिक्षक यी दुवैको एउटै नाम हो– यज्ञराज प्रसाईं । तर, आजको यज्ञराज प्रसाईंलाई जानपहिचान गराउने उनको गुरु हो माक्र्सवादी विश्वदृष्टिकोण । साहित्यको माध्यमले उत्पीडित समुदायलाई चेत भर्नु, शिक्षाको माध्यमले जागृत गराउनु र राजनीतिको धारले सङ्गठित बनाउनु यही यात्रामा आजका मितिमा पनि यात्रारत छन् यज्ञराज प्रसाईं ।

समाजभित्र देखिएका उत्पीडनका लहरहरुमा जव उनको दृष्टि प¥यो, शायद त्यसैको धक्काले हुनपर्छ उनका मनमा शोषण विरुद्धको चिन्ता र चिन्तन पलायो । एउटा भरभराउँदो उमेरको युवा जब समाजका यावत् विभेदमा घोत्लिन पुग्छ, स्वभावैले उसमा विद्रोहको जन्म हुन्छ । वि.सं २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) को सपथ र सदस्यता लिएका प्रसाईं आज पनि आफ्नो बुँताले भ्याएसम्म समानताकै गीत गाइरहेका छन् । उनको राजनीतिक यात्रासँगै २०२८ सालमा गरिखाने वर्गको पक्षमा प्रकाशित ‘झम्पल’ पत्रिकाको सम्पादकको रुपमा समेत तत्कालीन पञ्चायती व्यवस्थाका विपक्षमा उनी उभिएका थिए । शिक्षा, साहित्य र राजनीतिमा सँगसँगै हेलिएका प्रसाईंले वि.सं. २०२२ सालमा पोखरी माविबाट शिक्षकको रुपमा आफ्नो शिक्षण यात्रालाई आरम्भ गरेका थिए भने २०२३ सालको अन्त्यतिर झापामा बसाइँ सराई आएपछि राजनीति र साहित्यमा सक्रिय रुपमा हेलिन पुगेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्धमा आवाज बुलन्द गरेवापत उनी पटक–पटक पञ्चायतका पाहुना बनी पटक–पटक जेल र जागिरको नाकाबन्दीका शिकार समेत बनेका थिए ।

माक्र्सवाद—लेनिनवाद र माओ विचारधाराको सैद्धान्तिक आलोकलाई आत्मसात गर्दै प्रगतिवादी साहित्यको भाव धारालाई पक्रेर आफ्ना सिर्जना जन्माउने प्रसाईंको साहित्यिक लेखनको प्रवृत्ति वर्गवैरी विरुद्धको तयारीमा रहेको तोपजस्तै हुन्छ । उनका कथा, कविता र निवन्धमा विद्रोह र चेतनाकै वेजोडको राप उर्लेको पाइन्छ । लेखनीको धारबाट प्रसाईंका कृतिलाई नियाल्दा उनी एक प्रखर प्रगतिवादी धारका पक्का र खास्सा कलमे हुन् । माओको सम्बन्धमा उनको परिचय दिँदा ‘महान शिक्षक, महान् नेता, सर्वोच्च कमाण्डर र कर्णधार अध्यक्ष माओ जिन्दावाद’ भन्ने गरेझैँ प्रसाईंले पनि यही माओपथलाई आत्मसात गरेरै होला साहित्य शिक्षा र राजनीतिको माध्यमद्वारा समाजमा आमूल परिवर्तनको पक्षमा निरन्तरको आफ्नो यात्रालाई अविछिन्न राखेजस्तो देखिन्छ
वि.सं.२०३६ सालमा वामपन्थी विचारधाराका शिक्षकहरुको साझा सङ्गठन मानिने ‘नेपाल राष्ट्रिय शिक्षक सङ्गठन’ झापाको संस्थापक अध्यक्ष बनेका प्रसाईं २०३८ सालदेखि २०४६ सालसम्म निरन्तर रुपमा झापा अध्यक्ष र केन्द्रीय उपाध्यक्षको रुपमा कार्यरत रहेका थिए । शिक्षक आन्दोलनकै क्रममा उनी २ महिना झापा कारागारमा व्यवस्था विरोधीका रुपमा परिचय बनाउँदै वास बस्न समेत पुगेका थिए । साहित्यको माध्यमद्वारा तत्कालीन व्यवस्थाको विरुद्धमा र वर्ग समानताको पक्षमा आवाज उठाउने क्रममा ‘सङ्केत’ पत्रिका प्रकाशित गरेबापत उनी ४५ दिनसम्म कडा यातनासहित थुनिन पुगेका थिए । त्यसो त उनले साहित्यलाई माध्यम बनाएर भूमिगत शैलीमा राजनीति गर्न पुग्दा प्रहरीको वारेण्टमा परी कैयन् दिनसम्म प्रशासनको आँखा छलेर हिँड्नु परेको थियो । २०४७ सालमा राष्ट्रिय जनसांस्कृतिक मञ्च, झापाको अध्यक्षको जिम्मेवारीसँगै पछिल्लो समयमा केन्द्रीय सल्लाहकारको रुपमा समेत आफ्नो जिम्मेवारी पूरा गरेका थिए । वि.सं. २०५१ सालमा नेकपा (एमाले) जिल्ला कमिटी झापाको साँस्कृतिक विभागको इञ्चार्जको जिम्मेवारी समेत पूरा गरेका उनी २०५४ सालमा नेकपा (एमाले) को छैटौँ महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी समेत बनेका थिए । महाकाली सन्धीको विषयमा एमालेमा देखिएको त्यो बेलाको आन्तरिक पार्टी बहसमा प्रसाईं महाकाली सन्धीलाई राष्ट्रघात ठहर गर्दै एमाले प्रतिको मोह भङ्गभई बसेको समयमा तत्कालीन नेकपा (माओवादी) को विचार र सिद्धान्तमा नजिकिन पुग्दै माओवादीकै भाषामा भन्दा ‘जनयुद्ध’ को समर्थनमा २०५४ सालमा लेखिएको उनको साहित्यिक काव्य कृति ‘रगत हिँडिरहेको समय’ कविता सङ्ग्रहमार्फत् खुलमखुल्ला जनयुद्धको समर्थनमा निस्किएका थिए । २०५७ सालमा माओवादी सम्बद्ध जनसरोकार अभियानको सदस्य र २०६० सालमा बुद्धिजीवी सङ्गठनको झापा अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनेका थिए । एमालेप्रतिको मोहभङ्ग र जनयुद्धले नै आमूल परिवर्तनको पक्षमा दिशानिर्देश गर्छ भनेर नै होला २०५४ सालको अन्त्यतिरबाटै प्रसाईं भूमिगत रुपमा माओवादी पार्टीमा आवद्ध बनिसकेका थिए । कतिपय खुल्ला कार्यक्रममार्फत् माओवादी र जनयुद्धलाई समर्थन गर्दै हिँडेका प्रसाईं २०५९ सालमा १० घण्टासम्म चारआली सैनिक व्यारेकमा बन्दी बन्न पुगेका थिए ।

साहित्य र राजनीतिलाई जनताको पक्षमा उभ्याउँदै आएका प्रसाईंको शिक्षाकर्मलाई पनि उनले आफ्नो अनुशासित दायित्व र कर्तव्यको पेशाको रुपमा अँगाल्दै शिक्षा केवल विनिमयको माध्यममात्र नबनाएर जागरण र चेतनाको प्रचारकै रुपमा उनले अहिलेसम्म अँगालिरहेका छन् । झापा जिल्लाका विभिन्न विद्यालयमा शिक्षकको रुपमा कार्यरत प्रसाईं अहिले काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राचार्यको रुपमा कार्यरत छन् । उनको साहित्यमा त प्रत्यक्ष नै माक्र्सवादी र वर्गीय चिन्तन त प्रष्ट झल्कन्छ नै निरंकुश शासन सत्ताको समयमा समेत उनी शिक्षक बाहिर र भित्र भने नेताकै रुपमा रहेको पाइन्छ ।

यहाँ मैले प्रसाईंका परिचयका तीन पक्षलाई यसर्थ पनि उठाउन जमर्को गरेको हुँ कि साहित्य, शिक्षा र राजनीति यज्ञराज प्रसाईंका अभिन्न पाटा हुन् तर साहित्य र शिक्षाको क्षेत्रमा उनी जति चर्चित र चलायमान छन् त्यति राजनीतिमा देखिँदैनन् । तर, उनको परिचय जसले जसरी पाएको छ त्यो परिचय गराउने भनेको उनको वैचारिक र सैद्धान्तिक विचारधाराकै प्रभाव हो । साहित्यको परिचयले आज उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य छन् । उनी आफैँ एक परिचित र परिपक्क स्रष्टा हुन्, कर्मशील शिक्षक र अध्यापक पनि हुन् । तर, उनको वैचारिक सैद्धान्तिक दृष्टिकोणका हिसावले जुन उचाइमा उनको राजनीतिक परिचय हुनुपथ्र्यो त्यो भने हुन सकेको छैन ।
हुन त सबैभन्दा धेरै विचार, सिद्धान्त र आदर्शको फुइँ लडाउने भन्ने कम्युनिष्टहरु नै हुन् । तर, आजका दिनमा हेर्दा सबैभन्दा बढी विचार, सिद्धान्त र आदर्शको स्खलन भने कम्युनिष्ट पार्टीभित्रै देखिन्छ । शायदै यी र यस्तै पात्र र प्रवृत्तिको हावी भएकै कारणले पनि प्रसाईंजस्ता दशकौँ लामो कम्युनिस्ट आन्दोलनको इतिहास बोकेका अरु धेरै यज्ञराजहरु आज ओझेलमा परेका छन् । प्रसाईंको वर्तमानको राजनीतिक यात्रालाई नियाल्ने हो भने पनि २०५४ सालको अन्त्यदेखि आजसम्म उनी नेकपा (माओवादी) का विभिन्न जनवर्गीय सङ्गठनहरुमा र पार्टीकै कतिपय कमिटीमा रहेका छन् । पछिल्लो समयमा उनी नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिको केन्द्रीय सदस्य पनि हुन् ।

वाम विचार र वामपन्थी भावलाई आफ्नो लेखन कर्मको निरन्तर यात्रा तय गर्ने यज्ञराज प्रसाईं अझैसम्म पनि त्यही यात्रामा यात्रारत छन् । उनको यो लेखकीय आदर्शपथलाई सलाम गर्नै पर्छ । तर, साहित्य र शिक्षाको माध्यमद्वारा आमूल परिवर्तनका खातिर विगतदेखि वर्तमानसम्म कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीहरुसम्म आइपुग्दासम्म यज्ञराजले कम्युनिस्ट चिनेनन् या बुझेनन् कि त कम्युनिस्ट पार्टीका नेतृत्वले उनलाई चिनेनन् । चिने भने पनि उनको यतिलामो राजनीतिक इतिहासलाई हेर्दा नेतृत्वले चिनेर पनि नचिनेझैँ गरेको त होइन ?

अरुले के बुझ्छन् र के बुझेका छन् त्यो एउटा पक्ष हो । मैले बुझेको यज्ञराज प्रसाईं एउटा प्रखर प्रगतिवादी साहित्य स्रष्टा र शिक्षकमात्र होइन, माक्र्सवादलाई वर्तमान नेपाली समाजसँग समायोजन गर्दै श्रमजीवी जनताको पक्षमा विगतदेखि वर्तमानसम्म कम्युनिस्ट आन्दोलनको मसाल बोकेर उभिएको एउटा राजनीति योद्धा पनि हो तर ठूलै छलाङको हुँकार गर्ने माओवादी पार्टीले समेत सल्लाहकारमा अहिले उनलाई टेको लगाएको छ भन्ने सुन्नु आफैँमा उदेकको विषय छ । जुन पार्टीका केन्द्रीय सदस्य नै सयौँ छन्, त्यस पार्टीमा यज्ञराज प्रसाईं सल्लाहकार हुनुको अर्थ र त्यसको महत्व कति हुन्छ त्यही पार्टीका नेताले जानुन् । यसको अर्थ उनलाई हेडक्वार्टरमा नियुक्ति दिनुपथ्र्यो भन्ने मेरो आशय पटक्कै होइन । तर, उनको राजनीतिक इतिहास र उनको क्षमताको कदर त्यो पार्टीले पटक्कै गर्न सकेको मान्न सकिन्न ।

भन्नै पर्दा यज्ञराज प्रसाईंको व्यापक परिचयको पाटो उनको साहित्य त्यसपछि शिक्षाको क्षेत्रलाई बुझ्नु अन्यथा हुँदैन । तर, उनको यी दुवै परिचयको पर्दा पछाडिको अहम् विषय भनेको उनको विचार धारात्मक पक्ष नै हो ।जसबाटै उनी प्रेरित बनेर यहाँसम्म आइपुगेका हुन् । समग्र समाज त्यसभित्रका प्रवृत्ति र पाटाहरुको सुक्षमताबाटै व्यक्तिमा एउटा सोच जन्मिन्छ जब उसको अन्तरमनले त्यसको अध्ययनतर्फ आफूलाई अग्रसर गराउँछ उसमा नयाँ धारणा जन्मन पुग्छ । तत्कालीन सामाजिक परिवेश र त्यसका भोगाइबाट जन्मेको नयाँ स्वरुप नै यज्ञराजको विचार बन्न पुग्यो होला । अनि उनको त्यो ताका कम्युनिस्टप्रति आकर्षण बढ्यो होला । जसले सिङ्गो सामाजिक विभेद र वेमेललाई अन्त्य गर्दै न्याय समानता र स्वतन्त्रतामा समाज उभिन्छ भन्ने पक्का लागेर नै उनी पनि राजनीतिको समरमा हाम्फाले होलान् । व्यक्तिमा अन्तरनिहित क्षमताको रुपमा उभिएको उनको साहित्यले त्यो समयदेखि नै गरिखाने वर्गको पक्षमा भनौँ या प्रगतिवादको धार पक्रियो होला ।

हिजो र आजको यज्ञराजमा म केही फरक पाउँदिन । कहिलेकहीँ त लाग्छ, यी बुढा अझैसम्म पनि के साह्रो मरिहत्ते गरेर कम्युनिस्ट भन्दै लागिरहेका होलान् । कम्युनिस्टका पण्डित भन्नेहरुले नै आज आफूलाई नवधनाढ्य वर्गको रुपमा रुपान्तरण गरिरहेको टिठलाग्दो वर्तमानमा वर्गीय समाजको पक्षमा वकालत गर्नु भनेको कम्युनिस्ट विरोधी ठान्ने समयमा प्रसाईं भने न्याय, समानता र स्वतन्त्रताको पक्षमा अनि समाजमा रहेको व्याप्त कुरीति र विसङ्गतिका विरुद्धमा लागिपरेका छन् । फेरि सम्झिन्छु नेपालका कम्युनिस्टहरु भन्नेहरुको नेतृत्वमा रहेकाहरुसँग नै झण्डा बाहेक केही नभएको बेला माक्र्सवाद र लेनिनवादबाट मथिएर आएको जनवादले मात्रै सवैखाले विभेद र शोषणको अन्त्य गर्दै समतामूलक समाज निर्माण हुन्छ भन्ने ध्येय राखेर चिन्तित यज्ञराजहरुले कस्तो सपना देखिरहेका छन् ? हुन् त कम्युनिस्ट पार्टीको नाम राख्न कम्युनिस्ट भनाउँदाहरुलाई यज्ञराज प्रसाईंहरु जस्ता निरन्तर बगिरहने सत्चरित्रका पात्रहरुको आवश्यकता यसकारण पनि पर्छ नै कम्तीमा यिनीहरु लोगोको रुपमा भए पनि चाहिन्छन् । किन कि ‘हाम्रो पार्टी कम्युनिस्ट हो नपत्याए यज्ञराजहरुलाई हेर’ भन्न नेतृत्वलाई सजिलो पर्छ । जसले गर्दा विचार सिद्धान्त र व्यवहारबाट जतिसुकै नवधनाढ्य र नवसामन्त वनेपनि ‘कम्युनिष्ट हौँ’ भन्न उनीहरुलाई सजिलो पनि पर्छ । मलाई त लाग्छ, यज्ञराजहरु अझै कतै आफै अन्योलमा छन् या आफूहरुलाई अल्मल्याइँदैछ भनेर बुझ्न सकिरहेका छैनन् ।

यज्ञराज प्रसाईं ‘यज्ञराज सर’ यो नाम सम्मान हो । यो नाममा कुनै दल विशेषको चिन्ह छैन । यो नाम सुनाम बनोस् । हुन् त म यज्ञराज सरलाई यो ठिक र त्यो बेठिक भन्नसक्ने कुनै आकार र प्रकारले सुहाउँदिन । फेरि पनि मैले मेरो व्रह्मले देखेको कुरा भन्नैपर्छ– तपाईं एउटा सम्मानित र श्रद्धाको पात्र हुनुहुन्छ । तपाईंको विगतदेखि वर्तमानसम्मको एउटा राजनीतिको लम्वे यात्रा हुँदाहुँदै पनि तपाईंलाई साहित्य स्रष्टा र समाज जगाउने शिक्षकको रुपमा मान्छेहरुले बुझ्ने गरेका छन् र यसरी नै जान्दछन् पनि । तपाईंलाई कुनै राजनीतिक दलले नजरअन्दाज गरे पनि तपाईं आफैँमा परिचित हुनुहुन्छ । जहाँसम्म राजनीतिकै पक्षको कुरा छ त्यो तपाईं जस्ता मान्छेलाई यो कोलाहलमा त्यति अनुकूल पनि हुँदैन । हेरेकोलाई चिम्लेको र हाँसेकोलाई डाको छोडेर रोएको भन्न तपाईं पक्कै पनि सक्नुहुन्न । यो समय भनेको छलछामको र चाप्लुसीको रजाइँ चलेको समयमा तपाईंजस्ता कालोलाई कालो र सेतोलाई सेतो देख्ने दृष्टि भएका मानिसहरु राजनीतिमा जानु भनेको आफैले आफैँलाई दुर्नाम कमाउनु जस्तै हुनेछ । मलाई त लाग्छ, हिजोदेखि आजसम्म तपाईंको क्षेत्रमा तपाईंले समाज र राष्ट्रलाई पु¥याउनु भएको कर्मले नै तपाईंलाई सधैँ–सधैँ यो समाजले आदरणीय गुरुको रुपमा सम्मान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: