मैले चिनेको छितेन

  प्रकाशित मिति
१ जेष्ठ २०७३, शनिबार ०६:३१


IMG_20150814_075556 (1)

काँकरभिट्टा आफैमा व्यस्त छ, व्यस्त काँकरभिट्टा जिल्लाकै व्यस्त बजारको दैनिकी मिलाउन अभ्यस्त पनि छ  ।

चेतना र सिर्जनाको सूचकमा काँकरभिट्टासँग साहित्य, कला र पत्रकारिताको सानो बिसौनी चौैैैैैैतारामा आड लाग्ने ठाउँ पनि छ । उसो त राजनीतिको खपिनसक्नु उखरमाउलो पनि धान्न सिकिसकेको छ, काँकरभिट्टाले  । अर्थात् ओहोरदोहोर गर्ने यात्रुको लावालस्करसँगै काँकरभिट्टा एउटा भीड बजार हो भन्दा गल्ती हुँदैन होला ।

काँकरभिट्टाको आफ्नै ध्याउन भित्र धानेको छ । यही भीडभित्र एउटा शेर्पा केटो आफ्नो शिल्पी कलालाई अहोरात्र खिपिरहेको छ । आफ्नो कलाको विज्ञापन होइन, सिर्जनात्मक कलालाई धार लगाउन व्यस्त छ । अर्थात् जीवनलाई कला र कलालाई जीवनसँग राख्न तम्सिरहेका कलाकार छितेन शेर्पा ।

साहित्य नामका उरन्ठेउले पन्नाहरूको थोरै पनि धक नमानी चर्चा गरिने हाम्रो परिवेशमा रङहरूको उजागरलाई नबुझेर वा बुझ पचाएर सञ्चार क्षेत्रले उठाउँछ न त साहित्यका समीक्षकहरू भनिनेहरूले नै लेख्छन् । अक्षर साहित्य र रङ साहित्यको महत्वलाई मापन गर्ने हो भने अक्षर साहित्य भन्दा रङ साहित्यमा डुबुल्की मार्न धेरै कठिन छ ।

छितेनले पोतेका र कोरेका रङका भावहरू हेर्दा जति सहज लाग्छ, बुझ्न उति नै कठिन हुन्छन् । यसको अर्थ यो हो कि उसको कलाकारिता यस्तो नै जिम्मेवारी र सम्वेदनशील छन् । छितेन आफ्नो सहज नाम रङसँगै जीवन पनि पोख्ने गर्छन् ।

सामाजिक जीवनका विविध पक्षलाई जिउँदो रुपमा आफनो कक्षामा उभिन नै शेर्पाका कलाकारिताको कलात्मकता हो । आज छितेन सायद अहिले पनि कता केही सोचिरहेको होला । आफ्नो सिर्जनात्मक सोच र कुचीमा कस्तो रङ घोप्ट्याउन भनेर ।

मैले यी वाक्यहरू यस अर्थमा लेखेको छु । छितेन शेर्पा केही मलाई त्यति धेरै मतलब छैन । तर, मेरो खसखसको विषय हो । सिर्जनात्मक कलाकारिताको म्याराथनमा निर्धक्क दौडिरहेको एउटा उम्दो कलाकारको अर्थात् कलाकार छितेन शेर्पाको । कहिलेकाँही मनमा खुल्दुली लाग्छ यति सुन्दर नगरमा सुन्दर सिर्जनाको एउटा सम्भावनायुक्त कलाकार जो छायाँमा किन पर्छ होला ? तर, आफै उत्तर आउँछ ।

छितेन आफ्नो सिर्जनाहरूमा दायाँबायाँ कुनै साक्षी राख्दैन । छितेनको रङ इन्द्रेणी हुन्छ । कुनै दलको भण्डारको होइन । छितेनको सोच हरपल सामाजिक जीवनका मुटु छिन्ने, मनहरू लोभ्याउने ध्याउन्नमा हुन्छ ।

इमान दृष्टि बन्दक गरेर पनि पैसा थुपार्नेतिर हुँदैन । छितेनको कलाकारितामा सकारात्मक चिन्तन र चिन्ता हुन्छ, चाकडी र चाप्लुसीमा हुँदैन  । किनकि रङहरूको घुलन स्वतन्त्र हुने गर्छ ।

सुन्दर चिन्तन र स्निग्ध मनबाट जन्मने शेर्पाका रङ्गीन चित्रकारिताका विविध पक्षहरू नेपाली मन र माटोसँगै लपक्कै परेका पाइन्छन् । उसको कलाकारितामा ग्रामीण नेपाली समाजको दुरुस्तै उपस्थिति हुने गर्छ । राष्ट, पे्रेम र सामाजिक सद्भाव उनको सिर्जनाको अर्काे महत्वको पाटो हो । समाजको सामान्य विषयलाई गहन रुपमा उठान गरेर आफ्नो कलाकारितामा प्रकट गर्नु शेर्पाको अर्काे विशेषता हो ।
निरन्तर आफ्नो कलाकर्मलाई स्वधर्मझैँ ठान्ने माहुरीझैँ झुम्मिरहने छितेनलाई हामी र हामीले भरिएको समाजले उनलाई चिनोस् या नचिनोस् त्यो आफ्नो ठाउँमा होला । तर, निरन्तर बहने नदी प्रभावझैँ छितेन अहिले पनि आफ्ना कुचीमा नविन इन्द्रेणी रङहरू बहाइरहेकै छ र भन्न मन लाग्छ–
‘जीवन पनि रङ नै हो,
रङ पनि त जीवन हो
तर, फरक– फरक छन् जीवनका भोगाइहरू
जसरी फरक– फरक छन् रङका रङहरू पनि ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: