मैले भोगेको तिहार

  प्रकाशित मिति
१५ कार्तिक २०७५, बिहीबार ०७:११


प्रिय मित्र खगेन्द्रा खुशीको बारीमा फुलेको सयपत्री फूलले यतिबेला सञ्चारकर्मी मात्र होइन, सबै पेशा र व्यवसाय गर्ने मान्छेको मन तानेको छ । त्यहाँ पुगेर फोटो खिचाउने र रिपोर्ट तयार गर्नेको पनि उत्तिकै भीड देखिन्छ । तर, त्यो सुन्दर दृश्यको अवलोकन गर्न आजसम्म जान सकेकी छैन । किनकि सयपत्री र मखमली फूलले मेरो मानसपटलमा स्वर्गीय भइसकेको भाइ माला लगाएर मेरो सामु उभिएको दृश्य नाच्छ ।

हो, गतवर्ष सयपत्री र मखमलीको थुँगा मिलाएर माला बुनेँ । दुबो र तेल ठिक पारेँ । ‘ओख्खर पाङ्ग्रा चाहिन्छ है दाइ भाइ पुज्दा’ हजुरमाको भनाई सम्झेर तयार गरेँ । अनि आँगनका डिलमा बसेर भाइको प्रतिक्षा गरेँ ।

किनभने बर्षाँैैदेखि रोजगारीको सिलसिलामा खाडी पुगेको मेरो भाइ आउँदै थियो । उसले तीन दिन अघि मात्र फोन गरेर टीकाको दिन जसरी पनि आइपुग्छ तिम्रो हातको टिका लगाउन भनेको थियो । अँ ह उ आएन । साँझ पर्यो । मेरो आशा मरेको थिएन । त्यति नै बेला फोनमा टिङटिङ आवाज आयो । भाइको फोन आयो भन्न ठानेर रिसिभ गरेँ । उताबाट नचिनेको आवाज आयो ‘तपाईं भिमेकी दिदी हो ?’ मैले हो पनि भन्न नपाउँदै फेरि त्यो मान्छे बोल्यो, ‘तपाईंको भाइ घर आउन भनेर ठिक्क परेको थियो तर अचानक हिजो हट अट्याक भएर हस्पिटल लगेका थियौँ बचाउन सकेनौँ ।’

त्यसपछि उसले के भन्यो मलाई केही थाहा छैन । मेरो होस आउँदा म मेची अञ्चल अस्पतालको आइसीयू कक्षमा थिएँ । मेरो वरिपरि नर्सहरु थिए । मैले उनीहरुलाई सोधेँ, ‘मेरो यहाँ कोही छैन ?’ मेरा छोरा बुहारी, श्रीमान अनि दिदीबैनीहरु बोली सुन्न आतुर भई बाहिर कुरेर बसेका रहेछन् । नर्सले होस खुलेको भन्ने वित्तिकै मेरो छोरो कुदेर भित्र पसेर मलाई अँगालो मार्यो । दुई दिन हस्पिटल बसेर घर फर्किएसँगै मेरो भाइ बन्द बाकसमा फूलै फूले सजिएर आएछ ।

बुबा आमाको बुढेसकालको एक मात्र सहारा बन्द बाकसमा आएको त्यो दिन हामीले आँगन र बारीको डिलमा फुलेका सबै सयपत्री र मखमली सधैँका लागि एकैपटक उनेर भाइलाई लगाइदिऔँ । खै ! त्यस दिनदेखि मलाई जतिसुकै सुन्दर भए पनि फूल फूलजस्तै लाग्दैन । तिहार पनि चाड जस्तै लाग्दैन ।

आज पनि म जस्तै कयौँ नेपाली दिदी बहिनीहरु परिवारको गुजारा टार्नका लागि विभिन्न खाडी मुलुक पुगेर पसिना बगाउने आफ्ना दाजुभाइलाई सम्झेर पर्खिरहेका होलान् । कतिले उद्यमशील महिला सङ्घ बिर्तामोडकी गोमा भट्टराई र भद्रपुरकी खगेन्द्रा खुशीसँग आफ्ना लागि चाहिने मालाको बन्दोबस्त गरेका होलान् । हजारौँ दिदी बहिनीले भाइका लागि भनेर गमलामा भए पनि फूल फूलाएका होलान् । थाहा छैन, उहाँहरु कतिले आफ्नो चाहना पूरा गर्नुहन्छ । कतिले बिदा नपाएर आउन नपाएका माइतीको नाममा उनको माला सुकेकै भए पनि ढोकामा राख्नुहुन्छ । अनि कतिले मेरो जस्तै नियति भोग्नुपर्ने हो । हे ! भगवान दया गर, त्यस्तो अवस्था कसैले भोग्नु नपरोस् ।

यी सब हाम्रो गरिबीको पराकाष्ठा हो । यदि आफ्नै देशमा प्रशस्त मात्र उद्योगधन्दा थिए भने अर्काको गुलामी गर्न त्यो खाडीको चर्को घाममा पुग्नुपर्ने थिएन । गाउँमा युवालाई स्वरोगार बनाउँछौँ भन्दै भोट मागेर निर्वाचित भएका जनप्रतिनिधिदेखि प्रधानमन्त्री समेतले यतातिर ध्यान दिएको भए मेरो भाइ जस्ता हजारौँ युवाले विभिन्न बहानामा विदेशभूमिमा ज्यान गुमाउनु पर्ने थिएन । तिहारको आगमनसँगै फूलेका सयपत्री र मखमलीसँग सामिप्य बढ्ने थियो । व्यवसायिक रुपमा सुरु भएका फूल खेतीलाई प्रेरणा मिल्ने थियो । जसका कारण बर्षौँदेखि भारतमा निर्भर रहेको नेपालले फूलमा आत्मनिर्भर बन्न सक्नेमा दुईमत नै छैन ।

अन्त्यमा, सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू यतिबेला हस्पिटलमा हुनुहुन्छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको विभिन्न सञ्चारमाध्यममा पढिरेहकी छु । उहाँको स्वास्थ्यलाभको कामना गर्दै यसपाली हरेक नेपाली चेली र माइतीलाई तिहारको शुभकामना व्यक्त गर्दै हाम्रै धुलाबारी, बिर्तामोड र भद्रपुरमा मेहनतका साथ साथीहरुले फुलाएको सयपत्री र मखमली फूल खरिद गरी हौसला प्रदान गर्न समेत सबैमा अनुरोध गर्दछु ।

(लेखक डाँगी नेकपाकी जिल्ला सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: