मोदीनोट, जाली आकास र यसवन्तपुर

  प्रकाशित मिति
२३ मंसिर २०७३, बिहीबार १३:४२


modi-2

केहीदिन अघि अकस्मात, मध्यरातमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गान्धीमार्का पाँचसय र हजारका नोटका चलनमा बन्देज लगाए । बन्देजका पछि अनेकवली कारण होलान् । शङ्का छैन, विशाल भारत र तीब्र रुपले ऊध्र्वगतिमा चलेको अर्थ व्यवस्था मोदीसँग छ । संसारकै बिशिष्ट अर्थविद्हरू मोदीसँगै छन् ।

ती रुपैयाँ कालाधन र तस्करीमा होमिएर उब्जेका समस्याहरू पनि मोदीजीकै हुन् । र, तिनै रुपैयाँका नक्कली रुपैयाँले समाज तथा जनतालाई दिएको समस्या एवम् पीडा पनि मोदीजीकै निजी आँगनका समस्या हुन् । सके करछलीका उत्पाते धन्धाहरू पनि भित्रभित्रै चल्दा हुन् । योगी, जोगी र त्यस्तै अनेक रुपका उपद्र्याहा र आतङ्कीजनका टेन्टटेन्टमा ब्लैक मनीको ओइरो पनि लाग्दो हो । तब त, विशाल भारतमा विशालरुपेण गोचर भएको समस्या समाधानार्थ मोदीले सुइँको समेत नदिई मध्यरातलाई नै चुने हुन् । नोटबन्दीमा पाँचसय र हजारकै नोट चुने । र, चुने एक निश्चित परिमाणको रकम जम्मा गर्ने नीति र अवधि ।

बिरालाको चालमा चलेको यो मोदी–कदमले एकक्षणको लागि त मलाई छुँदै छोएन । लाग्यो, यो लुतो न कन्याईको विषय हो । समस्या उतैको हो । समाधान पनि उतैबाट हुन्छ । भारतको भारु, बन्द भएर के भो ? नेपालको नेरुमा म नाथे निम्न वर्गको मान्छेको दैनिकी राम्रै चल्छ । म सीमान्तवासी भएर के भो र ? सीमा नाकामै नेपाली माल, नेपाली मोल र नेपाली हातको आदान–प्रदान भए पुग्छ । अझ, नेपाली स्वाभिमान, राष्ट्रियता, मौलिकता, अस्मिता, स्वतन्त्रता र सार्वभौमिकता जस्ता कुरा के थोरा कमजोरी कुरा हुन् र ? नेरुका साथमा बसेर स्वाभिमानका यी कुराले नेपाली जनताको दैनिकी चल्छचल्छ ।

तर, अफसोच् । स्वाभिमानको फुर्तिले केही सीप चलेन । कारण, प्रकृति र सत्यता यहाँ अर्कै छ । यहाँ सत्यता र वास्तविकता डुहुरेझैँ खुसुक्क लुक्छ । र, ढाडे बनेर प्रकट हुन्छ प्रलेपधारी जाली कुरा । यहाँको तनतनमा, मनमनमा, रगरगमा, पगपगमा केवल जालिमी एवम् भ्रामक तथ्य समाहित छ । सत्यता भन्ने चीज नियतवश जालीमहरूको कब्जामा कैद छ । यहाँ त तिलस्मी एवम् कुटील लयको स्थान पो बरु उँचो छ । मिथ्याले यहाँको सगर थामेको छ । मिथ्याले नै यहाँको भाग्यरेखा कोरेको छ । सत्य र तथ्यका आँखाहरू भने फुला परिसकेका छन् । र, सत्य एवम् इमान्दारिता भन्ने कुरो यहाँ खै कुन जातको चरो बनेर कता उडेको छ पत्तो छैन । ल अब भन्नोस् त, त्यस्ता राष्ट्रियता र स्वाभिमानका धेरै बलिया र चैन प्रवाहक कुरालाई मात दिएर अत्यास, वित्यास, निराश, उदास, हतासादिको सुकेलुतो नेपाल छिर्छ कि छिर्दैन ?

उता मोदीमुलुकका नोट धमाधम मकैका खोस्टा हुँदै छन् । यता छोरीको पढाइको सिलसिलामा मेरो यात्रा तय हुँदै छ । यात्रा मोदीमुलुककै ब्याङ्लोर तर्फको हो । र, यस यात्रामा अन्य तेह्रजना छोरीहरू सहित तेह्रैजना अभिभावक सामेल भएको एउटा गतिलो टोली छ । छब्बीस जनाको टोलीका सदस्यहरूमा झापा, मोरङ, सुनसरी, सिरहा, चितवन, बारा र काठमान्डुबाट सामेल भएका छन् । सुनसरीको इटहरीमा भेला गराएर टोली नाइके कन्सल्ट्यान्टले यात्रा सुरु गरायो । यात्राका लम्बेतान स्टेसनहरू क्रमशः इटहरी–विराटनगर, जोगवनी–कलकत्ता, हाउडा–यसवन्तपुर (कर्णाटक) एकपछि अर्को गर्दै तयारी अवस्थामा थिए ।

टोलीमा समाहित हरेक अभिभावकको अनुहार र मुद्रा व्यथित एवम् भावनाले व्यग्र गोचर हुन्थ्यो । कुरामा पीडाको भाव र हाउभाउमा हीनताबोध झल्किन्यो । टोली जब जोगमुनी रेलटेसन पुग्यो तब एकआपसमा चिनाजान र अन्तक्र्रिया भयो । र, अन्तक्र्रिया र संवादबाट टोलीको व्यथा एवम् व्यग्रताको कारण एउटै र उस्तै निस्कियो, जो सामुहिक थियो ।

त्यो सामुहिक वेदनाको एउटै स्पन्दन थियो–गरीब र निम्नवर्गका लागि नेपाल क्रुर एवम् भयानक यमदूत हो । त्यसमध्ये, अझ राजधानी त हड्डीभित्रको मासी तान्ने वाशर बोकेर बसेको कालसर्प हो । अध्ययन अध्यापनको नाउँमा यहाँ लुण्ठनका घातक कारखानाहरू यत्रतत्र बिन्दास छन् । यहाँ लाग्ने कुल खर्चको सत्यता छपक्क छोपिएको छ । र, उजागर छ शोषकहरूको निर्मम माग, कठोरतम दावी र अदृश्य जालिमहरूको अचुक कमिशन ।

लुण्ठनको घातक कारखानामा निमुखाजनलाई कुरिबसेको मालिकले उसको दिव्य एवम् दृढ माग सुनाउँछ, बैसठ्ठी लाख लेऊ, छोरीलाई एमबीबीएस पढाऊ । खाजाभुजादिको खर्च तिम्रो निजी ।
लुण्ठन कारखानाको अर्को नायक निर्धक्क दावी गर्छ, सत्र लाख लेऊ, छोरीलाई बिएससी नर्सिङ पढाऊ । खाजाभुजादिको खर्च तिम्रो निजी ।

लुण्ठन कारखानाको अर्को नायक निर्मम माग राख्छ, पच्चीस लाख लेऊ, छोरीको चारवर्षे कोर्स पूरा गराऊ । खाजाभुजादिको खर्च तिम्रो निजी ।

ठग, प्रपञ्ची र कमिशनखोरका कारखानाहुँदो भएका बाचाल बन्धनबाट निम्नवर्गीय गच्छे फुत्त बाहिर निस्कियो । हृदयमा काँडाले घोचेझैँ चुस्स पा¥यो । निराश र असमर्थ नजरले छोरीलाई यसो नियाल्यो । छोरीको अनुहारमा अबोधपन फेरिएर आएको गम्भीर मुद्रा देख्यो । र, एक असहायको दर्दभरे कपाल सम्झेर तुरुक्क आँसु पनि झा¥यो ।

सत्यले सत्यकै खोजी गर्छ । सत्य, निष्ठा एवम् जनपक्षीय स्वास्थ्य–शिक्षाको व्यवस्थाका निम्ति डा. गोविन्द केसी अनसनमा थिए । भ्रष्ट, मिथ्या, लुण्ठन र ठगी व्याप्त भएको समाजमा डा. केसी एक सत्य हुन् । तब त, सत्यको सबलता र नेपाली समाजको हितका निम्ति उनी पटक पटक अनसनमा बस्छन् । अनसन नाउँको एकमात्र लुरो हतियार उनको थियो । निम्नवर्गीय गच्छे र छोरीहरूको अध्ययनको इच्छा हामी अभिभावकसँग थियो । उनी आफ्नो लुरो हतियार जालिम आकासमुनिको राज्यलाई देखाउँदै थिए । र, हामी आफ्नो गच्छे र सामथ्र्य बोकेर भारततिर जाँदै थियौँ ।

उता, मोदीमुलुकमा निलम्बित नोटहरूको तात्तातो चर्चा चलिरहेछ । यता प्रचण्डमुलुकमा नौ महिने म्यादी कालको तानाबुनामा चिसो राजनीति चलिरहेछ । उता नोट संशोधन प्रकृयामा प्रधानमन्त्री आफ्ना जनगणको पीडाको चिन्ता व्यक्त गर्छन् । यता संविधान संशोधन प्रकृयामा प्रधानमन्त्री भित्तेघडीको पेन्डुलमझैँ लुन्ठुङ्लुन्ठुङ हल्लिइन्छन् । उताको सुधारोन्मुख स्थिर राजनीतिमा विकास तथा समृद्धिका फाँट खोजिन्छन् । यताको अथिर र पट््यारलाग्दो पदीय राजनीतिमा स्वार्थले भरिएको कुर्सी खोजिन्छ । उता शिक्षा, स्वास्थ्यजस्ता पक्षमा सबल एवम् निष्ठावान संस्थाहरू जनमुखी छन् । यता लुण्ठन मनसायमा लिप्त त्यस्ता संस्थाहरू जनताका यमदूत बनेका छन् । यी उताका र यताका यस्तैयस्तै तुलना एवम् वास्तविकताको बाटो पहिल्याउँदै हाम्रो ‘छोरी पढाउने टोली’ दक्षिण भारतको यसवन्तपुर ताकेर कुदिरह्यो ।

काठमान्डुको कुटीलता र लुण्ठन प्रकृयालाई आधा घटाएर यसवन्तपुरले निम्नवर्गको गच्छेलाई सहर्ष स्वागत ग¥यो । यथोचित र स्वीकार्य कदमको मलमले यसवन्तपुरले नेपाली आकासका पीडित अभिभावकको हृदयको घाउ निक्यो पा¥यो ।

आफ्नै मुलुकको जालिमी वास्तविकताले म लुँडेको सागझैँ ओइलिएँ । ममात्र किन ? मजस्ता अरु कैयन अकिञ्चन यत्रतत्र ओइलेका हुँदाहुन् । मुलुकी खेलका अनेक चुत्था आयामका भुमरीमा कति फनफनी घुमिरहेका हुँदाहुन् । नागरिकप्रतिको निष्ठा, हित र कानुनभन्दा कोसौँ टाढा बसेर अस्वाभाविक लुन्ठन, अप्रीतिकर लेनदेन, अवाञ्छनीय दाबी, अपकारी उर्दी, अनुत्तरदायी क्रियाकलाप, अनधिकृत चलखेल इत्यादिका कुहिरामा आम मान्छे वर्षौँदेखि रमल्लिएका हुँदाहुन् । र, हाम्रो देशको नियम नै यस्तै हो, भनेर कैयौँ त आत्मसमर्पित पनि भएका हुँदाहुन् । तर, म त भन्छु, दिनदहाडै लुटको खेति र कमिशनको फलमा आँखा गाड्ने यस्ता मनमौजी पीडकको यस्तो समाज अब बर्जित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: