‘मौरी दिदी’ ले पाइन् राष्ट्रपति पुरस्कार

  प्रकाशित मिति
१६ असार २०७३, बिहीबार १५:०८


timthumb

झापा । एघार बर्ष अघि शिवसताक्षी–७ की देवीमाया दाहाल जीवन निर्वाहको अरु उपाय नभएपछि बैदेशिक रोजगारीमा जान पासपोर्ट बनाएर घरबाट निस्किएकी थिइन् । मन मिल्ने छिमेकी दिदी शिवमाया थेबेले ‘मौरीपालन गर न, किन जान्छौँ दुःख खेप्न परदेश’ भनेर सम्झाइन् । त्यसपछि देवीमायाको भित्री मनले कोल्टे फे¥यो ।

शिवमायाकै आग्रहमा २०६१ सालमा अर्जुनधाराका अमरदीप भेट्टवालबाट एक गोला मौरी सित्तैमा लिएर घर फिरेकी उनले बैदेशिक रोजगारीमा जाने सोच त्याग्दै पासपोर्ट थन्काइन् ।

‘प्राविधिक शिप केही जानेको थिइन, मौरी बेस्याहार भएर भकाभक मर्न थाले’, व्यावसायिक जीवनको सुरुवातका कठिन दिनलाई सम्झिँदै देवीमाया भन्छिन्–‘व्यवहार झन् डाँमाडोल होला जस्तो भयो, श्रीमानले पनि कि मौरी छाड् कि मलाई छाड् पो भन्न थाल्नु भयो ।’

विदेश नगएर गल्ती पो भयो कि भन्ने सोच उनमा फेरि नपलाएको होइन । समूह जमानीमा लिएको २० हजार रुपैयाँ ऋण तिर्न नसक्दा परिवारका अन्य सदस्यको खप्की खानु प¥यो । ‘गाउँकाले पनि अब अरु केही गरेर भएन, मौरी पाल्न थालेकी थिई, खुच्चिउँ प¥यो नि’ भनेर खिसिट्युरी गर्न थालिसकेका थिए ।

devi

गाउँमा मौरी पाल्ने उनी पहिलो महिला उद्यमी थिइन् । भालुको कन्पट समाए जस्तो अप्ठेरो परिस्थितिसँग जुझिरहेकी देवीमायालाई मौरीपालक सङ्घका झापा जिल्ला अध्यक्ष भेटवालले नै तालिम लिएर व्यवसाय अघि बढाउन सल्लाह दिए । त्यत्तिकैमा गाउँमा मौरी पाल्न चाहने महिलालाई व्यावसायिक तालिम दिने भन्दै विर्तामोडबाट सहारा नेपाल नामक गैरसरकारी संस्थाको टोली आयो ।
‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो उनलाई । व्यावसायिक मौरीपालन सम्बन्धी तालिम दिने सहारा नेपाल उनका लागि डुब्न लागेको डुङ्गाबाट पार लगाउन सिकाउने ‘सहारा’ नै बन्यो । देवीमायामा आत्मविश्वास बलियो भएर आयो । उनले ऋण लिएर चार गोला मौरी पाल्न सुरु गरिन् । गाउँका अरु दुई महिलाले पनि तालिम लिए ।

केही महिनापछि नै देवीमायाले आफैले पालेको मौरीको गोलाबाट काडेको मह बेचेर चोखो ५८ हजार रुपैयाँ कमाइन् । ‘ओहो त्यो ५८ हजार हातमा परेको दिन म खुशीले बेस्सरी रोएँछु’–देवीमाया बताउँछिन् ।

मौरीपालन थालेको एघार बर्षमा ४७ बर्षीया देवीमायाले त्यही व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् । बार्षिक ८ लाख रुपैयाँसम्म आर्जन गरिरहेकी देवीमायाका घरमा हाल ७० गोला मौरी भुन्भुनाइरहेका छन् । गाउँमा उनकै पौरख देखेर थुप्रै महिला मौरी पालनमा लागेका छन् । आफु मात्र होइन धेरै महिलाको जीवनलाई सुखमय बनाउन उनले दिएको योगदानको कदर हुन थालिसकेको छ यतिबेला ।

राष्ट्रिय कृषि अनुसन्धान परिषदले देशकै उत्कृष्ट  कृषि उद्यमीको रुपमा खुमलटारमा राष्ट्रिय धान दिवसको अवसरमा ‘राष्ट्रपति कृषक पुरस्कार’ नगद १ लाखले सम्मानित गरेको छ । झापाको शिवसताक्षीमा उनैले स्थापना गरेको सतासी महिला मौरीपालन सहकारी संस्थामा हाल २ सय ९८ जना महिला सदस्य रहेका छन् । सहकारीका सबै सदस्यले सफल मौरीपालन व्यवसाय गरिरहेका छन् ।
प्रशिक्षक बनिसकेकी देवीमायालाई अचेल सबैले आदरपूर्वक ‘मौरी दिदी’ पनि भनेर सम्बोधन गर्न थालेका छन् । ‘राष्ट्रपति पुरस्कार’ पाएपछि देवीमायाको चर्चाले गाउँ नै परिचित भएको छ । कुनै बेला खिसीटिउरी गर्नेहरू आजभोलि व्यावसायिक परामर्श लिन धाउँछन् । उनी सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक हुन् । घरदेखि कार्यालयसम्म उनको दैनिकी सुरुका दिनमा आफुजस्तै दुःख पाएका महिलालाई सफल उद्यमी बन्न सल्लाह दिदैमा बित्ने गरेको छ ।

देवीमायाले सहकारीमार्फत सबै मौरीपालक सदस्यको मह खरिद गरेर बेचिदिने व्यवस्था समेत मिलाएकी छिन् । संस्थाले सदस्यलाई तालिम दिने, प्राविधिक सहयोग दिने र ऋण दिने कार्य गर्र्दै आएको छ । ८५ जना मौरीपालक महिलाले देवीमायाको सहकारीबाट ऋण लिएका छन् । मौरीको गोला नै लिजमा दिने व्यवस्था समेत संस्थाले मिलाएको छ ।

सतासी मौरीपालक सहकारीले संस्थामा आवद्ध महिलाले बार्षिक रुपमा उत्पादन गरेको २२ हजार केजी मह आफै बेच्दै आएको छ । ‘सतासी सहकारीको मह’ भने पछि बजारमा शुद्धताको व्रान्ड नै बनिसकेको देवीमाया बताउँछिन् । संस्थालाई विदेशबाट समेत मह खरिदको अर्डर आउने गरेको उनी बताउँछिन् ।
शिवसताक्षी–७ को कुनै टोल छैन, जहाँ मौरीको गोला नदेखियोस् र मौरी नभुन्भुनाएको होस् । बर्षमा एकपटक तोरीबारी खोज्दै संस्थाले सबैका मौरी चराउन गोला बोकेरै मोरङको केराबारी, लेटाङ र सिसौनीतिर लैजाने गरेको छ । मौरी चराए वापत स्थानीय तोरी खेती गरेका किसानले समेत संस्थाबाट रोयल्टी पाउने गरेका छन् ।

शिवसताक्षी–७ कै ३५ बर्षीया सरु दाहाल पनि मौरी पालनमा लागेकी छन् । उनले देवीमाया नै आफ्नो प्रेरणाको स्रोत भएको बताइन् । मौरीपालन स्रोत केन्द्रबाट २ गोला मौरी लिजमा लिएर व्यवसाय सुरु गरेकी सरु अहिले आएको परिवर्तन बारे भन्छिन्–‘सुरुमा नानीहरूलाई स्कूलमा टिफिन खुवाउने पैसा पनि हुँदैनथ्यो । तर आज यही व्यवसायबाट छोरालाई बेङ्लोरमा रेडियोग्राफी पढाउँदैछु ।’
सरुसँग हाल ४० गोला मौरी छन् । बार्षिक ५ देखि ६ लाख रुपैयाँ आम्दानी गर्दै आएकी दाहालले सय गोलासम्म मौरी पालेको अनुभव सुनाइन् । उनका अनुसार एक गोला मौरीबाट एक पटकमा ५ देखि २० केजीसम्म मह उत्पादन हुने गरेको छ ।

टिका र चुरा किन्न समेत पतिमा आश्रित हुने धेरै महिलालाई मौरीपालन व्यवसायले आत्मनिर्भर मात्र बनाएको छैन, उनीहरूको परिवारमा पत्याउनै मुस्किल हुने गरी आर्थिक समृद्धि समेत ल्याएको छ । मौरीपालन गरेरै धेरैले पक्की घर र शहरमा आकर्षक घडेरी जोडेका छन् भने कतिले छोराछोरीको उच्च तहको पढाइ चलाइरहेका छन् ।

मौरीपालनबाटै समृद्धिको बाटो पहिल्याएकी अर्की महिला हुन्–शिवसताक्षी–८ सुन्दरपुरकी ४७ बर्षीया एकल महिला फुलकुमारी चौधरी । २०५८ सालमा पति गुमाएपछि ४ सन्तान स्याहार्न धौँ धौँ परेको थियो । देवीमायाकै सल्लाहमा फुलकुमारीले २०६६ सालदेखि मौरीपालन गर्दै आएकी छन् । घरैमा पालेका २१ गोलाबाट बार्षिक अढाई लाख रुपैयाँ भन्दा बढी आर्जन गर्न थालेकी उनले अहिले समाजमा सफल उद्यमी भएर स्वावलम्वी जीवन बिताइरहेकी छन् ।

मौरीपालन व्यवसाय सिकाएर धेरैको जीवनमा परिवर्तन ल्याएकी देवीमाया गाउँकै ‘रानो’ सरह सम्मानित रहेको सतासी मौरीपालक सहकारी संस्थाकी अध्यक्ष केशमाया थेबे बताउँछिन् ।
सहकारीले कृषकबाट प्रतिकेजी ३ सय ५० रुपैयाँका दरले खरिद गरेर प्रशोधन गरी बजारमा थोकमा ५ सय र खुद्रामा ६ सय रुपैयाँमा मह बेच्दै आएको छ । सहकारीले गरेको मुनाफा समेत संस्थाका सदस्यहरूको हितमा खर्च हुने अध्यक्ष थेबे बताउँछिन् ।

मौरीपालक जिल्ला सङ्घ झापाका अध्यक्ष विष्णु सङ्ग्रौलाले बार्षिक रुपमा जिल्लाका मौरीपालक कृषकलाई तालिम र मौरी चरण व्यवस्था गर्न सहयोग गर्दै आएको बताए । उनले शिवसताक्षीमा व्यावसायिक मौरीपालन नमुनाको रुपमा फस्टाएको बताए ।
जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले झापामा वार्षिक ६० हजार केजी मह उत्पादन हुँदै आएको जानकारी दिदैँ जिल्लाको उत्तरी क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेको बताए ।
उनले आव २०७१÷७२ मा युवा लक्षित कार्यव्रmम अनुसार ८ सय गोला मौरी किसानलाई अनुदान दिएको बताए । झापाको उत्तरी क्षेत्रमा बन जङ्गल समेत रहेको हुँदा बाहुनडाँगी, शान्तिनगर, बुधबारे होक्से, खुदुनाबारी, शिवसताक्षीलगायतका स्थान मौरीपालनका लागि महत्वपूर्ण रहेको उनको भनाई छ ।
मौरीपालन व्यवसायका लागि तोरी खेती, फापर खेती र सूर्यमुखी खेतीको समेत जरुरत हुन्छ । खाली रहेको जग्गामा त्यस्ता खेती गर्न जिल्ला कृषि विकास कार्यालयले किसानहरूलाई प्रोत्साहन स्वरुप विऊ समेत अनुदानमा प्रदान गर्दै आएको अधिकृत तिम्सिनाको भनाई छ ।

कार्यालयले मह प्रशोधनका लागि पचास प्रतिशत अनुदानमा मह हार्वेस्ट मेशिन समेत कृषकलाई दिदै आएको छ । गत आवमा ८ वटा मेशिन वितरण गरिएको तिम्सिनाले जानकारी दिए ।

स्वादिस्ट भोजनको रुपमा उत्कृष्ट पोषक तत्व भएको महको माग र बजार अत्यन्त ठूलो छ । विदेशबाट समेत यसको माग भइरहेको छ । शिवसताक्षीमा मौरीपालनको जग बसाएकी देवीमाया राज्यले मौरीपालनमा लागेका महिलालाई सहुलियत र सुविधा दिएर प्रोत्साहित गर्न जरुरी भएको बताउँछिन् । उनले आफ्नो गाउँलाई ‘मौरीपालन गाउँ’को रुपमा विदेशसम्म चिनाउने लक्ष्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: