मौलिक लयमा फर्किदै तीज

  प्रकाशित मिति
१० भाद्र २०७६, मंगलवार १४:५५


अम्बिका भण्डारी

अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ ।

घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ ।

सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ ।

विगतका वर्षमा तीज आउनुभन्दा दुई साताअघिदेखि नै तीजको रौनक तातिसकेको हुन्थ्यो । तर यसपालि भने झापामा तीजको नाममा हप्तौँ अघिदेखि महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने तथा होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति देखिएको छैन ।

महिला अगुवा नै तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने दायित्वलाई नेपाली नारीहरुले आत्मसात गर्दै लगेको बताउँछन् ।

मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा तीज मनाउने तौरतरिका समयअनुसार बदलिने भए तापनि झापामा विगतको जस्तो महीना दिनअघिदेखि तीज भन्दै भोजभतेर लगाउने बेथिति यसपालि नरहेको बताउँछिन् ।

उनी भन्छिन्, “तारे होटलमा तीज मनाउने नेपाली परम्परा होइन, माइतीमा बसेर दुःखसुखका गीतमा लय हाल्दै नाच्ने र गाउने, दरखाने तथा व्रत बस्ने मौलिक परम्परा हो ।”

सङ्घसंस्थाले महिला सदस्यलाई लक्षित गरी तीज विशेष कार्यक्रम राख्ने परम्परा थपिएकालाई पनि नराम्रो मान्न नहुने र त्यसमा महङ्गा पहिरन र गहनाको प्रदर्शनचाहिँ गर्न नहुने उनको धारणा छ ।

यसपालि झापामा सङ्घसंस्थाले मनाएको तीजमा तडकभडक र बेथिति नदेखिएकामा उनले खुशी व्यक्त गरिन्। विगत केही वर्षदेखि चोकचोकमा चन्दा उठाएर सामूहिक तीज मनाउने, बाजा घन्काएर हप्तौँसम्म नाचगान गर्ने र ठूला होटलमा भोजभतेर लगाउने प्रतिष्पर्धा चलेको थियो । तर यसपालि त्यस्तो प्रतिष्पर्धा छैन ।

विगतमा तीजमा तडकभडक भएको भनी धेरै बहस चलेका कारण सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाउन थालेका सञ्जीवनी महिला समूहकी अध्यक्ष रेणुका डाँगी बताउँछिन् । उनले महङ्गा गरगरहना र पहिरन नहुनेले तीज मनाउनै नसक्ने जस्तो अवस्था विगतमा सिर्जना गरिएको हुँदा गरीब र धनीको विभेद नहुने गरी मौलिक र सरलरूपमा तीज मनाउन थालिएको बताइन् ।

तीज आउन केही दिन मात्र बाँकी रहे पनि विदेशी बाजा र गानामा चोकचोकमा नाचगान गर्नेहरु यसपालि नदेखिएका मेचीनगर–१५ की ८० वर्षीया देवीमाया न्यौपानेले बताइन् । “तीज भन्या जम्मा दुई दिनको चाड हो, एक दिन दरखाने र अर्को दिन व्रत बस्ने”, उनले भनिन्। मेची बहुमुखी क्याम्पसकी पूर्वक्याम्पस प्रमुख टीका प्याकुरेल तीज परम्परालले नेपाली समाजमा गहिरो प्रभाव छाडेकाले कतिपय बेथिति हटाउँदै पर्वको मौलिकस्वरूपलाई जोगाउने सचेतना बढेको बताउँछिन् । उनले घरघरमा मात्र मनाउने पुरानो चलन भए तापनि सामूहिक रुपमा तीज मनाउने नयाँ चलनले महिलाको सामाजिक चेतना र एकताको स्तर बढाउन मद्दत पुगेको बताइन् । आफ्ना–आफ्ना हकअधिकारका लागि सामूहिक छलफल गर्ने परिपाटीको विकाससमेत तीजमा हुने भेलाबाट भएको प्याकुरेल बताउँछिन् ।

रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: