म्यादी प्रहरी खन्याएको भन्दै विद्यार्थी आक्रोशित

  प्रकाशित मिति
१६ बैशाख २०७४, शनिबार ०९:०१


jhadap

भद्रपुर । निजी विद्यालयहरुले चर्को शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनरत झापाका विद्यार्थी सङ्गठनहरुले म्यादी प्रहरी समेत अन्धाधुन्ध परिचालन गरेर दमन भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

केन्द्रीय कार्यक्रम अनुसार शुक्रवार दिउँसो जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्न विद्यार्थी नेताहरु चन्द्रगढी गएका थिए ।
शिक्षा कार्यालय परिसरमा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालको निर्देशनमा प्रहरीले दुव्र्यवहार गरेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

‘हामी साङ्केतिक विरोध स्वरुप जिशिकामा तालबन्दी गर्न गएका थियौँ’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रबि बस्नेतले शुक्रवार अपरान्ह विर्तामोडमा पत्रकार सम्मेलनमा भने–‘ठूलो सङ्ख्यामा प्रहरी खन्याएर हामीमाथि दमन गरियो ।’
अनेरास्ववियू झापाका अध्यक्ष रोशन सुबेदीले विद्यार्थी नेताहरुलाई कार्यालय परिसरबाट लछारपछार पारेर प्रहरीले मूल ढोकाबाट बाहिर निकालेको बताए ।

नेपाल विद्यार्थी सङ्घ झापाका अध्यक्ष सन्तोष उप्रेतीले जिल्ला शिक्षा अधिकारीले विद्यार्थी नेताहरुमाथि बर्बरतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै त्यस्तो कार्य घोर निन्दनीय भएको बताए ।

तालाबन्दी लगाउन नदिएपछि विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालय बाहिर विरोधमा कोणसभा गरेका थिए ।
शिक्षा प्रशासनसँग आक्रोशित विद्यार्थीहरुले दमनका लागि म्यादी प्रहरी पनि प्रयोग भएको जनाएका छन् ।

‘म्यादी प्रहरीको काम र कत्र्तव्य के हो ?’, अनेरास्ववियू झापाका अध्यक्ष सुबेदी भन्छन्–‘चुनावमा प्रयोग हुनु पर्ने म्यादीलाई विद्यार्थीमाथि दमन कार्यमा खटाइनु आपत्तिजनक विषय हो ।’

बैशाख ३१ गते चुनाव हुने भनेर बेलैमा तालिम दिइएका म्यादी प्रहरीहरुलाई जेठ ३१ गतेको चुनावमा खटाउन पर्ने भए पछि केही दिनदेखि उनीहरुलाई शान्ति सुरक्षाको अरु काममा समेत खटाउन थालिएको छ ।

विर्तामोडमा ट्राफिक व्यवस्थापनमा र मेचीनगरको रात्रि गस्तीमा समेत म्यादी प्रहरीलाई परिचालन गरिएको छ ।
चुनावको अति सुरक्षित भित्री घेराभित्र अर्धदक्ष सहयोगी दस्ताको रुपमा मात्र परिचालन हुने म्यादी प्रहरीलाई सुरक्षा गस्ती र विद्यार्थी आन्दोलन दमन जस्ता जोखिमपूर्ण गतिविधिमा खटाइँदा विवाद निम्तिने सम्भावना बढेको छ ।

शुल्क नबढाइने, आन्दोलन फिर्ता
झापा । सरकारले निजी विद्यालयमा बढेको भनिएको शुल्क फिर्ता गराउने जिम्मा लिएपछि विद्यार्थी सङ्गठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

शुक्रवार विद्यार्थी सङ्गठनहरुका प्रतिनिधिहरुसँग सरकारको तर्फबाट शिक्षामन्त्री आफैले वार्ता गरेका थिए । वार्तामा शुल्क फिर्ता लिने लगायत चारबुँदे सहमति भएको हो ।

वार्तामा बढेको शुल्क फिर्ता नलिए निजी विद्यालयहरुको दर्ता नै खारेजी गर्ने सहमतिमा सरकारले हस्ताक्षर गरेको छ ।
यो सहमतिसँगै विद्यार्थी सङ्गठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी सङ्गठन र शिक्षामन्त्री धनिराम पौडेलबीच शुक्रबार वार्ता भएको थियो ।
वार्तामा निजी विद्यालयका प्रतिनिधिको सहभागिता थिएन । वार्ता शिक्षा मन्त्रालयमा भएको थियो ।

वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।

सहमति पत्रमा लेखिएको छ–‘संस्थागत विद्यालयले नियमावली तथा निर्देशिका विपरित बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न तत्काल निर्देशन दिने । बुँदा नम्बर १ बमोजिमको निर्देशन कार्यान्वयन नगर्ने विद्यालयलाई शिक्षा ऐन तथा नियमावली बमोजिम दर्ता खारेजीसम्मको कारबाही गर्ने ।’

यसैविच, शिक्षाका समसामयिक विषयमा अन्तरक्रिया गरी शिक्षा मन्त्रालयलाई सुझाव दिन विद्यार्थी सङ्गठनका प्रतिनिधि रहने गरी शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा सम्वाद समिति गठन गर्ने सहमति पनि वार्तामा भएको छ ।

(लोतकन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: