म फूल बोकौँ कि कालो झण्डा ?

  प्रकाशित मिति
१५ जेष्ठ २०७५, मंगलवार १२:५७


मोहन काजी
…………..
म तपाइँलाई विनम्रतापूर्वक सोध्न चाहन्छु–‘के सतिप्रथा ठिक थियो भन्न सक्नु हुन्छ ?’
………….
आदरणीय गुरु लक्ष्मीप्रसाद खतिवडाज्यू,
एक साता यता भद्रपुरको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा ताला लागेको छ । विद्यार्थीहरुको पठनपाठन अनिश्चित भएको छ । शिक्षा प्रदान गर्ने मन्दिरमा दिनहुँजसो घन्किने नाराबाजीले त्यहाँभित्र द्वन्द्व मडारिरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
द्वन्द्वको यो अग्नी समनका लागि भलै प्रयासहरु नभएका होइनन् । तथापि तपाइँले विवेकशील भएर निर्णय लिनु भयो भने द्वन्द्व निभेर शान्ति फर्किन कुनै अबेर हुने छैन भन्ने मेरो दृढ विश्वास भएकाले यो अनुरोध पत्र लेखेको हुँ ।
गुरुकुलमा आवासीय भर्ना गर्न ल्याइएका इलाम–५, बरबोटेका ८ वर्षीय विकास कार्की डोलीलाई अबिलम्ब भर्ना स्वीकार गर्नु होस् ।
दुनियाँले के थाहा पाइसकेको छ भने गुरुकुलले ती अनाथ बालकलाई जातीय विभेद गरेर भर्ना लिन अस्वीकार गरेको हो ।
आजको युगमा शिक्षा प्राप्त गर्ने मामिलामा कसैले जातको आधारमा विभेद गर्छ भने त्यो किमार्थ मान्य हुने छैन ।
बालक भर्ना हुन यही गुरुकुलमा किन आएको भन्ने प्रश्नतिर नअल्मलिनु होस् । आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने अधिकारमाथि हनन भयो भन्ने भ्रामक अडान नलिनु होस् ।
जातको आधारमा, कुलको आधारमा, जन्मको आधारमा र छालाको रङको आधारमा विभेद गर्ने काम धर्म होइन, सोझो अधर्म हो ।
गुरुकुल नेउपाने, अधिकारी, दाहाल, खतिवडा, चापागाइँ आदि तथाकथित उच्च जातका मान्छेलाई मात्र पढाउने ठाउँ हो भन्न तपाइँहरुलाई शोभा दिदैन । त्यहाँ पोर्तेल, मग्राती, ठटाल, गजमेर, डोली, चमार आदि जातका मान्छेले पनि सम्मानपूर्वक पढ्न पाउनु पर्छ ।
हिन्दू धर्म र संस्कृति धरतीकै पुरानोमध्येको मानव सभ्यताको श्रृङ्खला हो । तपाईले मान्ने, मैले मान्ने र विकास कार्की डोलीले मान्ने गरेको धर्म उही हो, हिन्दू नै हो ।
मेरो प्रश्न छ–तपाई र मेरो छोराहरुले पढ्न पाउने गुरुकुलमा अनाथ विकास कार्की डोलीले पढ्न किन नपाउने ?
के तपाई विकास कार्की डोलीलाई मान्छे मान्नु हुन्न ? मान्नु हुन्छ भने उसलाई गुरुकुलमा बसेर अरुहरु जस्तै पढ्ने अवसर सहर्ष प्रदान गर्नु होस् ।
धुलावारीको इस्ट होराइजन अङ्ग्रेजी आवासीय मावि, चन्द्रगढीको वीरेन्द्र माध्यमिक विद्यालय, टाघनडुब्बाको मदरसा र भद्रपुरको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा के समानता छ र के अन्तर छ ?
मेरो विचारमा चाहे निजी स्रोतबाट चलुन्, चाहे सरकारी स्रोतबाट, ती सबै सार्वजनिक विद्यालय नै हुन् । ज्ञानगुण सिकाउने विद्यालय जस्तो पवित्र मन्दिरभित्र जातीय विभेद हुनु भनेको लज्जाको विषय हो ।
तपाई झापा जिल्लाको एक जना विद्वान धार्मिक व्यक्तित्व हो । तपाईको दृष्टिकोणलाई धेरैले श्रद्धाको नजरले मूल्याङ्कन गर्छन् । तपाईमाथि नै आज विभेदकारी बनेको आरोप लागेको छ ।
कानूनी पाटो तपाइँले राख्दै आएको अडानको ठिक विपरीत छ । आजको सामाजिक चेतना विभेदको विपक्षमा उभिन्छ । तपाई मात्र किन यसरी विभेदको पक्षमा उभिनु भएको होला भनेर म चकित छु ।
जातभात कुनै संस्कृति नै होइन, यो त विकृति हो । धर्म र संस्कारमा भएका कमजोरीहरु सुधार गर्न नसक्दा नै आज हिन्दु धर्म परिवर्तन गर्नेहरु बढेका छन् । गुरुकुल एउटा विद्यालय नै हो । विद्यालयमा पढ्न पनि नपाउने अवस्था सिर्जना गर्दा के हिन्दु धर्मप्रति सकारात्मक सन्देश जान्छ ? तपाई गम्भीर भएर सोच्नुहोस् र गुरुकुलमा भएको जातीय विभेदको आफै अग्रसर बनेर अन्त्य गर्नुहोस् ।
निश्चय नै हिजोका द्वन्द्वकालीन अवस्थामा गुरुकुल बन्द गराउन आक्रमण भए । संस्कृत पढ्न र पढाउन नदिने उर्दी जारी गरिए । त्यसबेला हामी बन्दकर्ताको पक्षमा उभिएनौँ । हजारौँ वर्ष पुरानो संस्कृत भाषाको रक्षाको पक्षमा उभिएका हामी जातीय विभेदको पक्षमा चाहिँ लागेका होइनौँ ।
भाषाहरुको माउ हो संस्कृत । गुरुकुलहरु संस्कृत भाषा पढाउने विशेष विद्यालय हुन् । त्यसलाई विभेद जन्माउने कारखाना बनाउन खोज्दा समस्या निम्तिन्छ । निम्तियो ।
म यतिबेला अर्जुनधारा जलेश्वर धामका स्व. व्यासाचार्य पुष्पलाल निरौलालाई सम्झिरहेको छु । उहाँसँग बैदिक धर्म र संस्कृतिका बारेमा अनेकन पटक भलाकुसारी भए । उहाँले कहिल्यै पनि जातीय विभेद गर्नु भएन र हिन्दु धर्मले विभेद गर्न भनेको छैन भनिरहनु हुन्थ्यो ।
अहिले तपाइँहरुले गुरुकुलमा जसलाई जातीय कारणले भर्ना लिन अस्वीकार गरिरहनु भएको छ, पुराण बाचन गर्दा उहाँले तिनै जातिहरुलाई सँगै राख्नु भएको हामीले देखेका छौँ ।
नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहले बिसे नगर्चीको सल्लाह लिन्थे भन्ने हामीले इतिहासमा पढेका छौँ । त्यसबेला पृथ्वीनारायण शाहले नगर्चीबाटै ज्ञान लिएका रहेछन् ।
शासक बंश र धर्मका ठेकेदारहरुले आफ्नो स्वार्थ अनुरुप धर्मको अपव्याख्या गर्दै आएका छन् । जातीय विभेद त्यस्तै एक प्रकारको पाखण्ड हो ।
शास्त्रहरु एउटा कालखण्डका मान्छेले बनाएका कानून जस्तै हुन् । समय फेरिदा कानून संशोधन हुन्छन् । कुनै कालखण्डमा कुनै शासकलाई केही मान्छेलाई दमन गर्नु थियो होला, त्यही भएर उसले कसै कसैलाई पानी नचल्ने भनिदियो ।
सबै परम्परा मान्नै पर्छ भन्ने छैन । हिन्दु धर्मकै एउटा अंश जस्तै थियो सतिप्रथा । सतिप्रथाका नाममा हाम्रा कति माताहरुले अनाहकमा आगोमा पोलिएर ज्यान गुमाउनु पर्यो । म तपाइँलाई विनम्रतापूर्वक सोध्न चाहन्छु–के सतिप्रथा ठिक थियो भन्न सक्नु हुन्छ ?
आजको दिनमा तपाइँलाई सबैले हिन्दु धर्म संरक्षकको रुपमा मानेका छन् । गुरुकुलमा जातीय विभेद भएको विषयमा अब विवाद लम्बिन नदिनका लागि तपाइँले नै ठोस अग्रसरता लिन आवश्यक देखिन्छ ।
भनिदिनु होस्–‘गुरुकुल एउटा विद्यालय हो, यहाँ हिजो के थियो के थिएन त्यता नजाऔँ, अबदेखि जातीय आधारमा कसैमाथि विभेद हुँदैन ।’
भनिदिनु होस्–‘आउ विकास कार्की डोली, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमले तिमीलाई विद्यार्थीको रुपमा भर्ना स्वीकार गर्दछ ।’
भनिदिनु होस्–‘गुरुकुलहरुमा जातका आधारमा मात्र होइन, लैङ्गिक आधारमा पनि विभेद हुने छैन, पढ्न आउने छोरीहरुलाई पनि हार्दिक स्वागत छ ।’
यति भनिदिने र गरिदिने हो भने अहिलेका विवाद साम्य हुने छ । इतिहासले तपाईलाई सुधारकको रुपमा अमर बनाउने छ । म आग्रह गर्दछु–हिन्दु धर्मको नाममा मान्छे–मान्छेविच विभेद गर्ने सबै कुसंस्कार हटाउन योगदान दिनुहोस् ।
अब अलिकति आन्दोलनकारीको विषयमा भन्न मन लागेको छ ।
गुरुकुलमा जातीय विभेद भएको घटनाको विरोध हुनु पथ्र्यो, भयो पनि । तर, विरोधका लागि केही असङ्गत शैलीहरु पनि प्रयोग भइरहेका छन् । जो आवश्यक थिएनन् ।
अहिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको सरकार गठन भइसकेको छ । कानूनले जातीय विभेद गर्नेलाई दण्डित गर्ने व्यवस्था गरेको छ । यस्तो परिस्थितिमा तालाबन्दी र नाराजुलुसमा उत्रिहाल्नु पर्ने थिएन ।
हिजो पो कानून नै विभेदकारी थियो होला । सरकारहरु विभेदकारी थिए होलान् । भद्रपुर नगरपालिकामा स्थानीय सरकार छ । आफ्नो नगरमा जातीय विभेद भइरहेको भन्ने थाहा पाएपछि नगर सरकारले विभेद अन्त्य गराउन छिटो पहल गर्नु पथ्र्यो ।
अहिले देशको प्रधानमन्त्री झापाकै । प्रदेशको गृहमन्त्री झापाकै । के प्रधानमन्त्री र गृहमन्त्रीले विभेद अन्त्यका लागि कानूनी कदम चाल्न सक्दैनन् ? के गुरुकुलमा ताला बोकेर जानेहरुलाई देशको कानून, प्रधानमन्त्री र गृहमन्त्रीमाथि अविश्वास भएको हो ?
लोकतान्त्रिक प्रणालीमा कानूनभन्दा माथि कोही हुँदैन । हिजो नामका अघि पाँच वटा श्री लगाएर आफैलाई बक्सियोस् भन्दै हुकुम गर्ने कथित महाराजाहरु एउटै कानूनले नागरिक बनेका छन् । ताला बोकेर जानु अघि संविधानको धारा र कानूनको दफा बोकेर हिड्नु पथ्र्यो आन्दोलनकारीहरुले । स्थानीय सरकारको कार्यपालिकामा मन्त्री जस्तै पदमा बसेकाहरु पनि गुरुकुलमा ताला लगाउन पुगेको देखियो । आफै सरकार र आफै आन्दोलनकारी बनेको चाहिँ सुहाएको छैन ।
निष्कर्षमा मलाई के भन्न मन लागेको छ भने तालाबन्दी गर्नु पर्ने परिस्थितिको जन्म विभेदका कारण नै भएको हो । गुरुकुलले विभेद नगरेको भए आन्दोलन, तालाबन्दी र उजुरबाजुरको अवस्था आउने थिएन ।
शदीयौँदेखि विभेदमा परेका समुदायसँग आक्रोश छ, स्वाभाविक हो । हामी ती विभेदमा परेका जातिहरुको ठाउँमा आफुलाई राखेर सोचौँ त, कस्तो हुँदोरहेछ ? कुकुर र विरालालाई चुल्हो र ओछ्यानमा पुर्याउने एउटा जातिले अर्को जातिलाई दैलोबाटै भित्र छिर्न दिएको छैन भने र छोएको पानी समेत खाँदैन भने कसरी सहने ? कतिञ्जेल सहने ? पीडित समुदायको तर्फबाट आक्रोश व्यक्त हुनु स्वाभाविक छ ।
आदरणीय लक्ष्मीप्रसाद खतिवडा गुरु,
म गुरुकुलमा भएको जातीय विभेदको घटनामा तपाईको धारणाको पक्षमा छैन । विभेद अन्त्यको विषय उत्पीडित जाति र समुदायको मात्र सरोकारको सवाल होइन । आफ्नै घर आँगनमा यत्रो विभेदको अमानवीय घटना भइरहँदा एउटा न्यायप्रेमी मान्छेको नाताले म चुप बस्न सक्दिन, सकिन ।
आशा छ, तपाईले मेरो पत्रलाई सद्भावपूर्वक ग्रहण गर्नु हुने छ । विभेद अन्त्यको अग्रसरता लिनु भयो भने म तपाइँप्रति आभार व्यक्त गर्न फूलको माला लिएर आउने छु । नत्र मै पनि गुरुकुलको ढोकामा कालो झण्डा फहराउन आउन बाध्य हुने छु ।
तपाईको शुभेच्छुक,
मोहन काजी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: