म, मेरो समाज र महिला

  प्रकाशित मिति
२४ फाल्गुन २०७५, शुक्रबार ०९:४८


धर्मेन्द्र खड्का

कथन नै छ, ‘असल परिवार बन्न त्यस परिवारकी आमा शिक्षित हुनुपर्छ ।’ महिला देशको आधा आकाश जो हाम्रो समाज परिवर्तन र परिमार्जनका निम्त कोशेढुङ्गा हुन् । समाजका हरेक वर्ग, लिङ्ग, जाति र समुदाय शिक्षित नबनी समाजलाई उन्नतितर्फ उन्मुख गराउन सकिन्न । त्यसमा पनि विशेष महिलाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउनै पर्छ ।

सदियौँदेखि जमेर बसेको कथित धार्मिक परम्परा र संस्करहरु जो महिलाहरुलाई शोषण गर्न अप्रत्यक्ष रुपमा अभिप्रेरित गरिरहेका छन् । समाजमा रहेका अनगिन्ती त्यस्ता कु–संस्कारहरुको शिक्षारुपी ज्योतिले चिर्न नसकी लैङ्गिक विभेद अथवा महिलाको समाजमा समान हैसियतको कल्पना पनि गर्न सकिन्न । महिलाहरुमा देखिने विभेद जुन हाम्रो समाजमा छ । त्यो परापूर्वकालदेखि चली आएको हो । महिलालाई शोषण, दमन र अत्याचार गर्न हाम्रो समाजलाई हाम्रा आफ्नै कतिपय कथित धर्मशास्त्रहरुले प्रोत्साहित गरे अथवा धर्मको ठेक्का लिएका ठेकेदारहरुले धर्मको अपव्याख्या गरी प्रत्यक्ष रुपमा प्रोत्साहित गरे । जसको चपेटामा परेर महिलाहरुले आफ्नो लैङ्गिक अधिकारको रक्षा गर्न सकेन ।

मानव समाजको उत्पत्ति भए यतादेखि नै महिला सधैँ समाजमा पछि परे, अरुको भरौटे बनाइए, पुरुषको रखेल, यौन सन्तुष्टिका साधन र समाजको दास बनाइयो । जसको फलस्वरूप हाम्रो समाज जुन गतिमा अगाडि बढ्नु पर्ने थियो, त्यसो हुन सकेन र धेरै पछाडि प‍र्यो । जबसम्म समाजमा लैङ्गिक विभेद जस्ता अति सङ्क्रीर्ण सोच रहिरहने छ, तबसम्म त्यो समाज आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा अगाडि बढ्न सक्दैन । यो सत्यलाई पश्चिमी मुलुकहरुले धेरै अगाडि बुझे । जसका कारण उनीहरु अहिले हाम्रो तुलनामा धेरै अगाडि छन् । हामीले अझै आत्मसाथ गर्न सकेका छैनौँ । हाम्रो समाज दिनहँु अधोगतितिर गइरहेको छ । त्यसर्थ समाजलाई पूर्णरुपमा सबल बनाउन लैङ्गिक विभेद सधैँका लागि दाहसंस्कर गर्नैपर्छ ।

महिलाहरु हरेक रुपमा पुरुषहरु समान छन् (लिङ्गको भिन्नता बाहेक) । उनीहरु मानसिक, शारीरिक रुपमा पुरुष बराबर (अपवाद बाहेक) हुन्छन् । तर, त्यसलाई हाम्रो समाजले स्वीकार्न सकेको छैन न त राज्यले नै । महिलालाई घरको चौघेरा भित्रकी कथित रानी बनाएर राख्ने काम हाम्रै समाजले गरेको छ ।

महिलाहरुलाई सम्पूर्ण अवसरहरुबाट बञ्चित गराइन्छ । विविध कारण देखाई तर यस कुराको फाइदा उठाउँदै नेपालको पूर्व माओवादी पार्टीले आफ्नो जनयुद्धलाई चरम बिन्दुमा पुर्याएको थियो । उनीहरुले नेपाली इतिहासमै पहिलोपल्ट सुनियोजित सशस्त्र महिला सैन्य दस्ता निर्माण गरेर देशका शाषकहरुलाई देखाई दिए । महिलाहरु पनि मानसिक र शारीरिक रुपमा पुरुष सरह काम गर्ने क्षमता राख्छन्, सक्षम छन् ।

भनिन्थ्यो, तत्कालीन माओबादी सैन्य दस्तामा ४०५ को हाराहारीमा महिलाहरु छापामारका रुपमा लडेका थिए, पुरुष समान रुपमा । त्यसको प्रभावले नै तत्कालीन शाही नेपाली सेनाले पनि आफ्नो शिविरमा महिलाहरुलाई विशेष प्राथमिकता दियो । यहाँ कसले कति महिलाहरुलाई युद्धमा प्रयोग गरे अथवा त्यहाँ भित्रको यौन शोषण र उनीहरुको हैसियतको कुरा उठाउन खोजिएको हैन, न कसैको समर्थन अथवा आलोचना नै गर्न खोजिएको हो । यी माथिका उदाहरणहरु मात्र हुन्, महिला हरेक कोणबाट पुरुष समान हुन्छ भन्ने प्रमाणित गर्न उल्लेख गरिएको हो ।

महिला साहस, सामथ्र्य र नेतृत्वकारी भूमिकाकै कुरा गर्दा संसारमा धेरै त्यस्ता महिला पात्रहरु थिए, जसले पुरुषप्रधान सोचहरुलाई तमाचा हान्ने काम मात्र गरेका छैनन् । संसारलाई नै थर्कमान बनाए । ती विश्वकै प्रथम महिला वैज्ञानिक मेडम क्युरी किन नहोस् अथवा भारतको प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धी नै । शान्ति नोवेल पुरस्कर विजेता मदर टेरेसादेखि लिएर नेपालकी द्वारीका ठकुरानीसम्मले अप्रत्यासित काम गरे देखाई दिए । जो सामान्य पुरुषले गर्न सकेका छैनन् ।

त्यसर्थ, महिला शक्तिको महत्व हाम्रो समाजले समयमै बुझ्न जरुरी छ । अथवा समाजको अग्रणी भूमिकामा महिलालाई पुर्याउन सबै तह तप्काबाट तन, मन वचनले सहयोग र मानसिक रुपमा तयार हुन जरुरी छ । साथै, राज्यले पनि यस सम्बन्धी विशेष कार्यक्रम र पाठ्यक्रमलाई पनि महिलामैत्री बनाउन जरुरी छ । महिलाको स्वतन्त्रता र समाजमा उनीहरुको समान सामाजिक हैसियत त्यति बेलासम्म कोरा कल्पना मात्र हुनेछ, जबसम्म समाजमा र परिवारको लागि जीविकोपार्जनबाट उनीहरुलाई अलग राखिनेछ । उनीहरुलाई घरको चौघेरा भित्रकी कथित रानी बनाएर राखिनेछ । महिलाहरुको स्वतन्त्रता त्यतिबेला सम्भव हुनेछ, जब उनीहरु बिना रोकटोक जीविकोपार्जनको काममा पूर्णरुपले भाग लिन लग्नेछन् र घर भित्रको कामको बोझ उनीहरु माथि नाम मात्रको रहनेछ ।

मेचीनगर–१०, झापा

हाल ः कतार

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: