अर्जुन कार्की
झापा । गतवर्ष झापामा धान रोपार्ई निरासजनक थियो भने यसपटक साउन पहिलो हप्तासम्ममा ७० प्रतिशत भन्दाबढी रोपाई भएको छ ।
गतवर्ष असारसम्ममा झापामा ३५ प्रतिशत मात्रै धान रोपार्ई भएको थियो । यसपटक साउन १० गतेसम्म उत्साहजनक रुपमा धान रोपाई भएको हो ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन पहिलो हप्तासम्म ७० प्रतिशत भन्दाबढी धान रोपाई भएको छ । त्यसैले झापामा यसपटक धान रोपाइँको गति उत्साहजनक रुपमा भएको केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले जानकारी दिए ।
अघिल्लो वर्ष झापामा ९५ प्रतिशत धान रोपाई भएको उनले बताए । त्यसबेला असार महिनाको तेस्रो हप्तानै किसानले ५० प्रतिशत धान रोपाई गरेको उनको भनाई छ ।
सिँचाइ सुविधाको अभावमा धेरै जमिनमा अझै पनि रोपाइँले गति लिन सकेको छैन । असार अन्तिम साता वर्षसँगै आएको बाढीले वितण्डा मच्चाए पनि किसानले बाली जसोतसो लगाए । असार अन्तिम र साउन पहिलो हप्तामा किसानले झरीसँग जुध्दै धान रोप्न भ्याएका थिए । साउन तेस्रो सातासम्ममा जिल्लामा उक्त प्रतिशत बढ्ने सम्भावना रहेको केन्द्रको बुझाई छ ।
केन्द्रका अनुसार यसअघिको लगातारको झरीले धेरैलाई साथ दिए पनि भरपर्दो सिँचाइ सुविधा नभएको ठाउँमा भने अझै समस्या चर्को छ । ‘जिल्लामा सिँचाइ सुविधा भएको जमिनको क्षेत्रफल धेरै छ’, बुद्वशान्ति–३ का किसान अमर लिम्बुले भने ‘त्यसैले रोप्न आकाशकै पानीको भर छ । त्यो पनि एक दिन मज्जाले घाम लाग्दा सुक्ने स्थितिका जमिन धेरै छन् ।’ सिँचाइकै कारण रोपाइँको गुणस्तर फितलो भएको उनले बताए ।
‘असार दोस्रो सातासम्ममा रोपिसक्नुपर्ने धान साउन दास्रो साता लाग्न आट्दासम्म राम्रोसँग रोप्न पाइएन’, केही वर्षदेखि राधा–१२ जातको धान लगाउँदै आएका मेचीनगर–१ का श्याम गुरागाईले भने ‘ढिलो रोप्दा कामै लाग्दैन । के गर्ने अन्योल छ ।’ केही वर्षयता जिल्लाका धेरै किसानले उन्नत जातका धान लगाउन थालेका छन् ।
राधा—१२, शरणा लगायतका धानहरु बेलैमा नरोपे काम नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् । नयाँ जातका धानमा आकर्षित किसान मारमा परेका छन् । झापामा किसानले मल्का वासमति, कालो वासमति, चुल्ठे, साम्भा सप, मनसुली सुख्खा तीन, आरपी—१०१७ लगायत जातका धान रोप्न थालेको प्राविधिकको भनाई छ । किसानले भारतमा उत्पादन हुने रञ्जित, जुनेली, सनफ्लावर लगायतका धान पनि रोप्न थालेका छन् ।
आधाभन्दा धेरै बर्खा बित्दासम्म खेतमा एकै गावो धान रोप्न नपाउने उनीजस्ता किसान झापाका गाउँ—गाउँमा अझै धेरै छन् ।
भरपर्दो सिँचाइ सुविधा नभएका, आकाशे पानीको भरमा खेती गर्दै आएका, लामो समयसम्म पानी जम्न नसक्ने जमिन भएका किसानको यसपटक बिजोग भएको छ । ठुलै वाढीपहिरो आए वा पानी नै परेन भने पनि जिल्लामा रोपाई घट्ने सम्भावना हुन्छ । विगतमा त्यस्तै कारणले गर्दा धान उत्पादनमा कमि आएको प्रविधिकको भनाई छ ।
यसपटक लगातारको वर्षाले किसानलाई राहत पुर्याए पनि बाढीले धेरैको उठिबास लगाएको छ । लाखौँ रुपैयाँ लगानी गरेर बाली लगाएको धान र खेती योग्य जमिन बाढीले हेर्दाहेर्दै बगाई दिएको छ ।
धानको सुपर जोन रहेको जिल्लामा आकाशे पानीको भरपर्नु दुःखद रहेको किसानको गुनासो छ । अन्न उत्पादनका लागि मुलुककै अगुवा पाँच जिल्ला मध्ये झापा पनि एक हो । तराईका विभिन्न जिल्लामध्ये झापा, मोरङ, सुनसरी तथा बारा, पर्सा लगायतका जिल्लामा धान उत्पादन मनग्ये हुने गरेको छ ।
आफूलाई खान पुग्ने राखेर पनि झापाले उत्पादनको दुई तिहाई अन्न अन्यत्र निर्यात गर्ने तथ्याङ्क कृषि ज्ञान केन्द्र झापासँग छ । तर, कूल खेतीयोग्य जमिनको झण्डै आधा क्षेत्रफल आकाशे पानीको भरमा रहेका कारण बहुसङ्ख्यक किसानले कहिल्यै समयमा खेती गर्न पाउँदैनन् ।
केन्द्रका अनुसार ९० हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाइने जिल्लामा ५० हजार हेक्टर भन्दाबढी जमिन आकाशे पानीकै भरमा छ ।
केन्द्रका निमित्त प्रमुख भट्टराईले झापाको ९८ हजार हेक्टर खेतीयोग्य जमिन मात्रै पूर्ण सिञ्चित रहेको बताए । ‘९० हजार हेक्टर जमिन अर्ध सिञ्चित छ’, भट्टराईले भने–‘उक्त जमिनमा मात्र धान खेती हुने गरेको छ ।’
। तर, खोला दोहनले पैनीको स्रोत नै सुकाएका कारण पूर्वोत्तर झापाका क्षेत्रमा पनि असर परेको छ । दक्षिण झापाका साविकका केहि गाविस जुरोपानी, बैगुनधुरा, कोरोबारी, लखनपुर, पृथ्वीनगर, बनियानी, राजगढ, ज्यामिरगढी लगायतका क्षेत्रहरु सुख्खा क्षेत्रमा पर्छन् । किसानले यस्तो समस्या दशकौँ अघिदेखि भोग्दै आएका छन् । तर, भरपर्दो सिँचाइको प्रबन्ध गर्न कसैले चासो दिएको छैन ।
जिल्लामा कनकाई सिञ्चाई आयोजनाको नहर सबैभन्दा भरपर्दो सिँचाइ स्रोत हो । कचनकवल, बाह्दर्शी, शिवसताक्षी, गौरादह, गौरीगञ्ज, झापा गाउँपालिका, अर्जुनधारा नगरपालिका लगायतका किसानहरुलाई यसको सुविधा प्राप्त छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका, भद्रपुर, बिर्तामोड तथा मेचीनगर नगरपालिका लगायतका क्षेत्र पनि सामान्य सिँचाइ सुविधा पुगेका क्षेत्र हुन्। केन्द्रका निमित्त प्रमुख भट्टराईले साउन अन्तिम हप्तासम्ममा ८० प्रतिशत धान रोपाई हुनेमा आशावादी रहेको बताए । साउन तेस्रो हप्तासम्ममा वाढीपहिरो नआए वा पानी परिरहे अघिल्लो वर्षको हाराहारीमा झापामा धान रोपाई हुने उनको ठम्याई छ ।