यसपाली नचढी फर्किन्न

  प्रकाशित मिति
१८ पुष २०७२, शनिबार ०७:४७


anis 2 anis 3
कसैको भनाई सुनेको थिएँ–‘तिमी अगाडि गए पनि मर्ने छौँ, पछाडि भागे पनि मर्ने छौँ, तसर्थ पछाडि भागेर मर्नुभन्दा अगाडि बढे उचित हुन्छ ।’ मलाई लाग्छ यो भनाई प्रष्ट छ । यदि केही साहसिक कार्य गरिँदैछ भने हुन सक्छन् धेरै गलतिहरु । कार्य सफल पार्न समय पनि लाग्न सक्छ । तर अतालिनु हँुदैन, प्रयास यथावत राख्नु पर्दछ । दुःखी कहिले पनि हुनुहँुदैन । आज लडिन्छ त भोलि अवश्य उठिन्छ, आज गुमाइन्छ त भोलि अवश्य पाइन्छ । तसर्थ जिन्दगीका हरेक शिक्षा दुःखबाट नै पाइएको हुन्छ ।

एक दिन जिन्दगी र मृत्युको भेट भएछ । जिन्दगीले मृत्युलाई सोधेछ–‘ए साथी, किन मानिसले तिमीलाई घृणा गर्छन् र मलाई माया ।’ मृत्युले हाँस्दै भनेछ–‘जिन्दगी तिमी एउटा झुटो सत्य हौ र म एउटा कुरुप सत्य हँु ।’ मृत्युले अझ थप्दै भनेछ–‘तिमीले नै मान्छेलाई बाण्ड भन्ने शब्द सिकाएको छौँ, मेरो त के छ र ! न त मेरो कुनै बाण्ड छ, सबै कफीन र सबै चिता एउटै हुन्छन् ।’

एउटा हिमाल आरोहीको जिन्दगीमा यी सबै कुरा मेल खान्छन् । हिमाल आरोहणका लागि त धेरै जान्छन्, तर कति फर्केर आउँछन् भन्न सकिन्न । एउटा आरोहीले एक लाखको डाउन सुट, अस्सी हजारको जुत्ता सहित थप तीस लाख भन्दा बढी खर्च गरेर आरोहणको लागि निस्केको हुन्छ । उसलाई परिवार र साथी भाइको माया र मृत्युको डर केहीले पनि रोक्न सक्दैन । किनभने आरोहीको आ“खामा हुन्छ त केवल हिमालको चुचुरो ।

जोसँग एक असल मित्र र शुभचिन्तकहरू हुन्छन्, सफलताका लागि अरु केही चाहिदैन । एउटै उमालेको पानीले अण्डालाई कडा बनाउँछ र आलुलाई नरम । त्यसैले समय सबैको लागि एउटै हो, को कस्तो बन्ने आफ्नो प्रकृतिमा भर पर्छ ।
म सानैदेखि उत्तरतिरका अग्ला अग्ला पहाड देखेर आनन्दित हुन्थे । जब हिउँदका चिसा दिन सुरु हुन्थे, अनि देखिन्थे सेता हिमाल लस्करै । कुम्भकर्ण हिमाल झापाबाटै देखिन्छ । त्यतै कता पर्छ होला विश्वको तेस्रो उच्च चुचुरो कञ्चनजङ्घा । सानैदेखि म हिमाल देखेर रोमाञ्चित हुन्थे ।

जब अलि ठूलो भएँ–कितावमा पढ्न थाले हिमाल । विश्वकै अग्लो चुचुरो सगरमाथा हाम्रै देश नेपालमा रहेछ । थाहा भयो–एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलोपल्ट सगरमाथाको आरोहण गरेर नाम कमाए । अहिलेसम्म पनि बर्षेनी सगरमाथा आरोहण गर्नेको नाम सुन्न पाइन्छ । मलाई भित्र कताकता हिमाल चढ्ने रहर पलायो । सानो मान्छे ठूलो कुरा गर्यो भनेर कसैले नपत्याउला कि भनेर निकै बर्षसम्म हिमाल आरोहण गर्ने रहर मनमै गुम्स्याएर छोपे ।

जब स्काउटमा भर्ना भएर साहसिक काम गर्नु पर्छ भनेर सिक्न थालियो । मेरो मनमा सगरमाथा झल्झली सम्झना हुन थाल्यो । अरु कसैले गर्न नचाहेको साहसिक काम म गर्छु भन्ने प्रतिज्ञा गरे मैले । मलाई थाहा थियो–मधेसमा जन्मेको झापाली केटोले हिमाल चढ्छु भन्दा मान्छेहरू एकपटक हाँस्नेछन् । तर म त्यो प्रमाणित गरेर देखाउन चाहन्थेँ । यहीकारण सगरमाथा भन्दा केही तलको ‘आइल्याण्ड पिक’ सफलतापूर्वक आरोहण गरेर आएँ । त्यसपछि मात्र मैले हिमाल चढ्ने कुरा सबैले पत्याए ।

यसै बर्षको बैशाखमा म सगरमाथाको चुचुरोमा हुन्थे, यदि महाभूकम्प नआइदिएको भए । मलाई झापाका तमाम अग्रजहरूले त्यत्रो हौसला र भरोसा दिएर पठाउनु भएको थियो । बैशाख १२ गते भूकम्पले धरती हल्लिदा म सगरमाथाको दोस्रो शिविरमा थिएँ । त्यसबेला त्यहाँ हुनु शायद बाँचिने आशा कम हुन्छ । धेरै आरोही साथीले ज्यान गुमाए । तर म बाँचे, किनकि मैले सगरमाथाको शिरमा पुगेर झापाली झण्डा फहराउन बाँकी नै छ । अब आउँदो बैशाखमा म त्यो मेरो सपना साकार पार्नेछु, सगरमाथामा झापाली सान अवश्य झल्काउने छु ।

धेरै सङ्घ संस्थाहरूको झण्डालाई सगरमाथामा पु¥याउने कार्य अझै अधुरो छ, सम्पूर्ण नेपालीले गर्व गर्न पर्ने एउटा अर्को ऐतिहासिक काम पनि मैले सगरमाथाको चुचुरोमा सम्पन्न गर्नु छ, जसलाई यसपाली पूरा गर्ने बाचा गर्दछु । जय सगरमाथा !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: