यस्तो आयो मेचीनगरको नीति तथा कार्यक्रम

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार १८:०९


मेचीनगर, २४ असार । मेचीनगर नगरपालिकाको छैठौं नगरसभामा उपप्रमुख मीना उप्रेतीले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

उनले विकास निर्माण सम्बन्धी पुराना नीतिहरुलाई निरन्तरता दिने र केही नयाँ कार्यक्रम थपिने जानकारी दिइन् ।

१७ पाना लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेकी उपप्रमुख उप्रेतीले वडाहरुलाई एक करोड रुपैयाँका दरले बजेट दिने घोषणा गरिन् । यस्तो बजेट गत वर्ष पनि दिइएको थियो ।

नगरपालिकाले गौरवका योजना भनी घोषणा गरेका आयोजनाहरुलाई जनप्रतिनिधिहरुको यही कार्यकाल अर्थात आगामी २ वर्षभित्रै सम्पन्न गरिसक्ने उनले बताएकी छन् ।

सार्वजनिक सवातर्फको नीति सुनाउँदै उनले वडा कार्यालयहरुको बन्न बाँकी भवन गरिने बताएकी छन् ।

नगरपालिका खरिद नियमावली बनाउने, खरिद शाखा र भण्डार शाखा अलग बनाउने नगरपालिकाका नीति रहको जनाइएको छ ।

कोभिड १९ को कारण जनाउँदै चालू खर्च कटौती गर्नका लागि कर्मचारीको बैठक भत्ता शीर्षकमा खर्च नगर्ने नीति नगरपालिकाल लिएको उल्लेख छ ।

नगरपालिकाले यस आर्थिक वर्षमा सवारी साधन, यान्त्रिक साधन, आइटीका सामान, फर्निचर, सजावटका सामग्री आदि खरिद नगर्ने नीति लिएको छ ।

नगरपालिकाबाट एक लाखभन्दा माथिको रकमको बिल भर्पाइ भुक्तानी हुनुभन्दा एक दिन अघि नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेर मात्र भुक्तानी प्रक्रिया अघि बढाउने नयाँ नीति नगरपालिकाले लिएको छ ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भन्ने सरकारी सदाचारी नीतिलाई अवलम्बन गर्दै मेचीनगरले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने उपप्रमुख उप्रेतीले बताएकी छन् ।

नगरभित्रका उद्योगधन्धामा आवश्यक पर्ने जनशक्ति नगरभित्रबाटै उपलब्ध गराउने, विकास निर्माणको अनुगमनमा तेस्रो पक्षको समेत सहभागिता गराइने नीतिमा उल्लेख छ ।

कोभिड १९ को महामारीबाट समेत नगरपालिकाले पाठ सिकेको छ । विपद् व्यवस्थापनका लागि विपत् कार्ययोजना बनाउने र व्यवस्थापनका लागि सामुदायिक भवनको निर्माणलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका विकासे आयोजनामा २५ लाखसम्म उपभोक्ता समितिमार्फत काम सम्पन्न गराउने र वडाहरुमा वडा सचिव र तोकिएको लेखा कर्मचारीको दस्तखतबाट बैङ्क खाता सञ्चालन गरी विकास निर्माणका आयोजनाहरुको खर्च फरफारक गर्ने नीति नगरपालिकाले लिएको छ ।

बाहुनडाँगी पशु प्राविधिक शिक्षालय को व्यवस्थापनका लागि डीपीआर एक वर्षभित्रै तयार पारी काम अघि बढाउने, नगरभित्रका सर्वाधिक करदाता र उद्योगी व्यवसायीलाई सम्मानित गर्ने, उत्पादनमा आधारित अनुदन नीति लागू गरिने बताइएको छ ।

घर भाडामा बस्नेहरुलाई अनिवार्य रुपमा सूचीकृत गर्ने, सहकारी, निजी फर्म र साना उद्यमीहरुलाई ग्रेडिङ, प्याकेजिङ, लेबलिङमा अनुदान दिने, भूमि बैङ्कको स्थापना गर्ने, शित भण्डारसहितको थो कृषि बजारको व्यवस्थापन गर्ने, चिया, मरिच, रुद्राक्ष, मेवा, कागती, खोर्सानी लगायतका नगदे बालीको व्यावसायिक उत्पादनको सिञ्चाइका लागि अनुदानको व्यवस्था गरिने, सुपथ मूल्यमा विपन्न परिवारलाई खाद्य वस्तु दिन नमुना परियोजना सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘जनताको उत्पादन, सरकारको मूल्य, सहकारीको बजार व्यवस्थापन’ भन्ने नारा अनुरुप कृषक, कृषि फर्म, कृषक समूहबाट उत्पादित कृषि उपजलाई न्यायोचित मूल्य कायम गरी कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत कृषकको घर आँगनबाटै खरिद तथा बजारिकरणका लागि कार्यक्रम सञ्चलन गरिने उपप्रमुख उप्रेतीले जनाएकी छन् ।

सरसफाई कर लगाइने, राष्ट्रिय आवास कम्पनीबाट जग्गाको स्वामित्व हस्तान्तरणका लागि बजेट छुट्याउने, लकडाउन अवधिको ठेक्का रकम फिर्ता दिइने, सडकको दायाँ बायाँ किनारमा वृक्षारोपण गरिने, नगर विपत् व्यवस्थापन योजना बनाउने, नदीजन्य उत्खनन्बाट उठेको रकमको १० प्रतिशत रकम सोही क्षेत्रको वातावरणीय संरक्षण, गरीवी र जोखिम न्यूनीकरणका आयोजनामा खर्च गर्ने नगरल नीति बनाएको छ ।

शिक्षा सम्बन्धी नीतिमा बाल विकास केन्द्रका शिक्षकलाई मासिक पारिश्रमिक थपिदिने, हेड टिचरहरुलाई तालिम दिने, दीर्घकालीन शिक्षा नीति बनाउने, सामुदायिक क्याम्पसहरुलाई अनुदानमा निरन्तरता दिने उल्लेख छ ।

धुलावारीको स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल र मेची आम्दा हस्पिटललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने नगरको स्वास्थ्य नीति रहेको छ ।

आदिबासी, जनजाति, दलित, महिला, शारीरिक अशक्त आदिका लागि कार्यक्रम ल्याउने, विद्यालयमा छात्रा शौचालय अनिवार्य गर्ने, गरिव तथा विपन्न परिवारका महिला सुत्केरी हुँदा २ सन्तानसम्मका लागि २ हजार रुपैयाँ सुत्केरी पोषण भत्ता दिने, खाली जग्गामा सँधियारले खेतीबाली लगाउन पाउने समेत नगरको नीतिमा समेटिएको छ ।

बुधवार सुरु भएको नगरसभाको अध्यक्षता नगर प्रमुख विमल आचार्यले गरेका थिए भने उद्घोषण प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले गरेका थिए ।

प्रदेश सांसद् श्रीप्रसाद मैनालीले उद्घाटन गरेको नगरसभामा स्वागत भाषण उपप्रमुख आफैले गरेकी थिइन् भने नगरसभा सदस्य धिरावती लिम्बु, लीलादेवी कन्दङ्वालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

-अर्जुन कार्की

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: