यस्तो छ मिसन टोलीको प्रतिवेदनको सारांश

  प्रकाशित मिति
२८ जेष्ठ २०७६, मंगलवार २२:११


इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारमाथि दिएको धाकधम्की र त्यसपछि उत्पन्न अवस्था एवं सुनसरीको धरानमा पत्रकार दिलकुमार राईमाथि भएको आक्रमणको घटनाको विषयमा अध्ययन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न पत्रकार महासंघ १ नंं. प्रदेश समितिले २०७६ जेठ २३ गते मिसन टोली गठन गरेको थियो ।

२०७६ जेठ २१ गते कोशीपत्र दैनिक र प्रदेश पोर्टलमा कार्यरत पत्रकार विराट अनुपम (गौतम) लाई प्रमुख चौधरीले दिएको नाक भाँच्ने धम्की र न्यूज २४ टेलिभिजनसहित अन्य सञ्चार माध्यममा ‘संविधान र कानुन मान्दिन, इटहरीमा मेरो शासन चल्छ, मेरो विरुद्ध लेख्नेलाई मोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाहरुले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हँुदैन’ अस्वाभाविक, अराजक र अमर्यादित अभिव्यक्ति, त्यसअघि चौधरीले पत्रकारहरुमाथि गरेको दुव्र्यबहारको घटना र सुनसरीको धरानमा २१ गते नै भएको आक्रमणको घटनामा केन्द्रित भएर मिसनले काम गरेको छ ।

यस क्रममा मिसन टोलीले जेठ २५ गतेबाट काम सुरु गरी घटनासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका ३० जनासँगको प्रत्यक्ष र अन्यसँगको अप्रत्यक्ष कुराकानी प्रतिवेदनमा समेटिएको छ । घटनासँग जोडिएका अडियो तथा भिडियो रेकर्ड, समाचार सामाग्रीहरु, सामाजिक सञ्जालमा व्यक्त बिचारहरुसमेत संकलन गरि अध्ययन गरेर निम्न अनुसारको ठहर सुझाब दिइएको छ ।

मिसन टोलीको निश्कर्ष
१. इटहरी उपमहानगरपालिका प्रमुुख द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपम (गौतम) सँगको टेलिफोन संवाद र विभिन्न आम सञ्चार माध्यममा दिएका अभिव्यक्ति असंवैधानिक, गैरकानुनी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिरोधी र पदीय मर्यादा विपरीत छ । पत्रकार विराट अनुपमलाईं आक्रमण गर्न एक करोड रुपैयाँ छुट्याएको भन्ने धम्कीपूर्ण अभिव्यक्ति र पत्रकार कृष्ण वहाव भट्टराई र विकल रेग्मीमाथिको शारीरिक हमला अत्यन्त अराजक, अभद्र र गम्भीर प्रकृतिको छ

२. प्रमुख द्वारिकलाल चौधरीले विभिन्न सञ्चार माध्यमसँगको अभिव्यक्तिमा भ्रष्टाचार नियन्त्रणमा पत्रकारले बाधा उत्पन्न गराएको भनी लगाएको आरोप भ्रामक एवम् आधारहिन भएको पाइयो । सीएफएल खरिदमा भएको अनियमितता पत्रकार विराट अनुपमले नै पहिलोपटक मिडियामा सार्वजनिक गरेको र भ्रष्टाचारविरोधी अभियानमा इटहरीका पत्रकारहरु क्रियासिल रहेको पाइयो ।

३. पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै, पत्रकार विराट अनुपमले पटकपटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुपै्र पाइयो ।

४. मिसन टोलीसँगको भेटघाटमा उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर ‘कान समातेर सयपटक उठवस गर्न पनि तयार’ रहेको बताएका छन् ।

५. मिसन टोलीले प्रमुख द्वारिकलाल चौधरीलाई भेटेपछि पत्रकार र प्रेस जगतप्रतिकोआफ्नो गलत अभिव्यक्ति सच्चाउन तयार रहेको बताएलगत्तै मिति २०७६ जेठ २६ गते प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार जगतप्रति आघात पुग्ने सम्पूर्ण अभिव्यक्ति फिर्ता लिनु सकारात्मक छ । तर, उनले गरेको यस्तो प्रतिबद्धता दोस्रोपटक भएकाले गर्दा घटना फेरि नदोहोरिने वातावरण बनाउन स्वयम् प्रमुख द्वारिकलाल चौधरीले भूमिका खेल्नुपर्ने देखिन्छ ।

६. इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको पत्रकार र प्रेस जगतप्रतिको हर्कत दोहोरिदा पनि उहाँ आबद्ध पार्टी नेकपा घटनाप्रति गम्भीर नभएको र घटना सम्बन्धमा आफ्नो पार्टीको दृष्टिकोण सार्वजनिक नगरेको पाइयो ।

७. धरानमा कार्यरत पत्रकार दिलबहादुर राईमाथि धरान वडा नं. १२ चतरालाइनमा रहेको कार्यकक्षमै भएको भौतिक आक्रमण लागूऔषध सेवन गर्ने युवाबाट भएको खुलेको छ । घटनाका दोषी धरान वडा नं. १६ घर भई अहिले वडा नं. १० मा ठूलीआमाको घरमा बस्दै आएका २३ वर्षीय फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको पाइयो ।

हाम्रो सुझाव ः
१. इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले सञ्चार जगतप्रति आघात पुग्ने सम्पूर्ण अभिव्यक्ति फिर्ता लिनु सकारात्मक भएपनि पीडित पक्षले न्यायको अनुभूति गर्न र आगामी दिनमा दण्डहिनताले प्रोत्साहन नपाओस् भनेर सचेततापूर्वक नगरप्रमुख चौधरीको गतिविधि निगरानी गर्न र आवश्यकता अनुसार कानूनी मार्ग अवलम्बन गर्न पत्रकार महासंघ र पीडित पक्ष तयार हुनुपर्छ ।

२. इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी प्रमुख जवाफदेही व्यक्ति समेत भएको हुँदा सञ्चारकर्मीले उहाँलाई विभिन्न विषयमा जिज्ञासा राखेर प्रश्न गर्नु र कमजोरी भए आलोचनात्मक समाचार लेख्नु स्वाभाविक हुन्छ । पत्रकार एवम् सञ्चार माध्यमले समाचार लेखेको र प्रश्न सोधेको आधारमा अनाश्यक आवेग, उत्तेजना र दुव्र्यबहारमै उत्रिने कमजोरी उहाँले सुधार्नुपर्ने देखिन्छ ।

३. यो प्रकरणभन्दा पनि विभिन्न समयमा कतिपय पत्रकारले आचारसंहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको छ । पेशाको मर्यादा र विश्वनीयता कायम गराउनका लागि सञ्चारकर्मीहरूलाई पूर्णरूपले आचारसंहिता पालना गराउन, पत्रकारको शुद्धिकरण गर्न, पीत पत्रकारितालगायतका विकृति नियन्त्रण गर्न, दक्षता बढाउने विशेष तालिम सञ्चालन गर्न नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाले विशेष योजना ल्याउनु पर्छ ।

४. पत्रकारले समाचार रिपोर्टिङ गर्दा र अन्तर्वार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारहरुले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनु पर्दछ ।

५. समाचारसम्बन्धी गुनासोहरुको प्रारम्भिक सुनुवाईं गर्न पत्रकार महासंघको जिल्ला शाखामा संयन्त्र निर्माण गर्न आवश्यक छ । मिडिया सञ्चालक, पत्रकार, पत्रकार महासंघ र समाचार उपभोक्ताबीच छलफल तथा संवाद नियमित रुपमा गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

६.नेपालको संविधान, प्रचलित कानून र प्रेस स्वतन्त्रताको पालना गर्न गराउन राजनीतिक दलहरुले आफ्ना नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई सचेत गराउन आवश्यक छ ।

मोहनकाजी न्यौपाने
संयोजक
मिति २०७६ जेठ २८ गते, इटहरी सुनसरी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: