यस्तो नहोस् तर, भयो भने के गर्ने ?

  प्रकाशित मिति
१६ बैशाख २०७७, मंगलवार १६:२१


कोभिड–१९, अर्थात कोरोना भाइरसको कहरले मानिसको दैनिकि नराम्ररी प्रभावित भएको छ ।

अहिले दैनिक ज्यालामा काम गरेर वा दैनिक आर्जन हुने सानोतिनो पेशा व्यवसाय गरेर जीविका चलाउनेहरु सबैभन्दा धेरै संकटमा छन् ।

उनीहरुको चुल्हो बल्न हम्मे पर्न थालेको छ । लकडाउनले एक महिना पार गरेको छ, अब मासिक तलव जीविहरुमा समेत यो संकट देखिने छ ।

सरकारी कर्मचारीलाई सहज होला उनीहरुले निर्वाध तलव पाउलान् तर निजी क्षेत्रले बिनाकाम र बिना आम्दानी सधै तलव दिने छैनन् ।
लकडाउनको महिना २०७६ चैतको तलव लगभग सबैले देलान । लकडाउन लम्बिदै गएमा बैशाखबाट मासिक तलव पाउनेको संख्या घट्दै जानेछ ।

पर्यटन व्यवसायसँग जोडिएका व्यवसाय होटल, यातायात, सवारी साधन आदि पूर्णरुपमा बन्द छन् । त्यहाँ कार्यरत कर्मचारी, मजदुर पूर्णरुपमा काम विहिन भईसके र तिनले चाडै काम पाउलान् भन्ने अवस्था पनि छैन । बजार बन्द भएकाले शहरिया साना व्यवसायीको अवस्था नाजुक बन्दै गएको छ । व्यवसायीक किसानको कहर उस्तै छ ।

वित्तिय संस्थाहरु बैंक, सहकारीहरुमा जनताले जम्मा गरेको पैसा अभावमा बाहिरिन्छ र सहज अवस्थामा भित्रिन्छ । कोरोनाले पारेको असहज प्रभावका कारण सहकारीबाट पैसा बाहिरिने धेरै हुन सक्छ ।

बैंकमा केही ठुलो कारोवार गर्ने मानिसको कारोवार हुने हुदा त्यहाँबाट घरखर्च गर्नकै लागि बैंकमा राखेको पैसा झिक्ने कम हुन सक्छन् । तर कमाई नभएपछि बैंकमा पैसा राख्नेको कमी हुन्छ ।

बैंक र सहकारीबाट कर्जा लिएर कारोवार गर्नेहरुले व्याज र किस्ता तिर्न धेरै नै कठिन हुने छ । यस्तो अवस्थामा अलि कमजोर बैंक तथा सहकारीलाई नराम्रो असर पर्नेछ ।

राजश्वका श्रोतहरु ठप्प जस्तै छन् । राष्ट्रिय ढिकुटीमा देश विकासको त के कर्मचारीलाई तलब दिन र साधारण खर्च धान्न नै मुस्किल पर्ने अवस्था आउन सक्छ ।

विदेश मुद्राका श्रोत रेमिट, पर्यटक, बस्तु तथा सेवाको निकासी र वैदेशिक सहयोग हुन् । यी मध्ये पर्यटकले ल्याउने विदेशी मुद्रा शुन्य अवस्थामा, रेमिटको आम्दानि ४०÷५० प्रतिशतले घटने, बस्तु तथा सेवाको निकासी ठप्प हुने र वैदेशिक सहयोग न्युन हुने सम्भावना धेरै छ ।
त्यसो भएपछि विदेशबाट अत्यावश्यक बस्तु तथा सेवाको आयातलाई नै हम्मे पर्न सक्छ ।

कोरोना कहर एक हप्ताबाट बढेर एक महिनाभन्दा धेरै भएको छ । यो कति दिनका लागि भन्ने निश्चित छैन । यस्तो नहोस् तर भयो भने के गर्ने ? जस्तो यो कहर दुई, तिन, चार महिना हुदैँ लम्विदै गयो ।

६ महिना वा वर्ष दिन पनि त हुन सक्छ । त्यस्तो अवस्थामा अहिलेका सबै तयारी र होशियारी फेल हुनेछन् । लकडाउनको उपायले काम गर्ने छैन । किनकि यति लामो समय मानिस घरभित्र बसेर जीविका चलाउन सम्भव छैन । सबैलाई राहतका सामग्री वितरण गरेर तथा राहत लिएर सधैँ चुल्हो बाल्न सम्भव नै छैन ।

कोरोनाको कहर लम्बियो भने के गर्ने ? यसबारेमा पनि सोच्नु पर्छ र तयारी शुरु गर्नुपर्छ । अहिलेसम्म हामी कोरोनालाई जित्न घरमै बस्ने भन्ने मै छौँ तर कोरोनाले हारेन भने बाहिर ननिस्किएर हुँदैन ।

त्यो बेला के गर्ने ? कसरी जोगिने ? कोरोना लागि हालेछ भने के के गर्ने ? मैले सुृनेको थिएँ बिफरको महामारीबाट विश्वमा धेरै मानिस मरे । नेपालमा पनि त्यसको कहर ठुलो थियो ।

हाम्रै परिवारलाई पनि त्यसले छोडेन भन्नु हुन्थ्यो आमा हजुरआमाहरु । मर्ने मरेर गए बाच्नेले गरिखानु परिगो भन्ने गर्नु भएको थियो ।

यदि कोरोना सजिलै पराजित भएन भने हाम्रो पुस्ताले पनि बिरामिलाई घरमा वा अस्पतामा राखेर, मर्नेहरुका लास पुरेर वा जलाएर कोरोनाबाट बचेर जीवनलाई सक्रिय बनाउँनुको विकल्प हामीसँग रहने छैन ।

माक्स, साबुन पानी, सेनेटाइजर, सामाजिक दुरी, एउटाले प्रयोग गरेका समान अरुले प्रयोग नगर्ने, सकेसम्म थोरै व्यक्तिसँग कारोवार गर्ने, नगद लिनेदिने कम गर्ने, बाहिरबाट घर पुग्ने वित्तिकै लुगा फुकाल्ने, नुहाउँने, लुगा फेर्ने, सरसफाइमा विशेष ध्यान दिने, खानपानमा विशेष ध्यान दिने, खर्च कटौती गर्ने, कम आम्दानी भएपछि कम खर्च गरेर जीवन चलाउँने, परिवार धान्ने जस्ता थुप्रै उपायको खोजी गर्ने र यसैमा बानी पार्नु पर्छ ।

लकडाउनका यी दिनसम्म त थोरै मानिस समस्यामा होलान् । यो संख्या अब हरेक दिन, हरेक हप्ता, हरेक महिना थपिँदै जाने पक्का छ ।

गएका भुकम्प, बाडीपहिरो र हुँरी बतासले धेरै घर, स्कुल, मन्दिर भत्कायो, पैरो गयो, खेत बगायो, बाटो, पुल बगायो, धेरै बाली बिरुवाको नोक्सान गर्यो, धेरै रुख उखलिए, भाँचिए यस्तै, यस्तै ।

धेरै धनजनको क्षति भयो । यो देखिने र तुरुन्तै असर पर्ने खालको विपत्ति हो । तर कोरोनाको असर र प्रभाव यसरी प्रत्यक्ष देखिने गरि कम हुने तर मानिसको जीवनमा, परिवारमा, संघ–संस्थामा, राष्ट्र–राष्ट्रमा गहिरो र लामो आर्थिक संकट पुर्याउने खालको छ ।

यस प्रकारको विपत्ति हाम्रो पुस्ताले पहिलो पटक व्योहोर्दै छौँ । शुरुमा चीनमा यो समस्या देखिँदा भारत लगायत पश्चिममा विश्वले गिज्याउँदै थियो ।

अहिले चीनमाथि आरोप लगाएर आफ्नो असफलता छोप्ने प्रयास गर्दैछन् । यो बेग्लै कुरा हो । तर हामीले अरु कसैलाई दोष लगाएर हाम्रो समस्या कम हुनेवाला छैन ।

अझै ठुलो विपत्ति आउँनु अगाडि नै हामीले समाधानको उपायहरु अपनाउन थाल्नु पर्छ । कोरोनालाई हराएर काममा फर्कने हामी सबैको सोच हो तर कोरोना हारेन भने कोरोनासँगै काममा फर्कनुको विकल्प हुँदैन ।

त्यसैले अब कोरोना मुक्त घर, टोल, गाउँ, वडा, पालिका, जिल्ला बनाउन र घोषणा गर्न आवश्यक छ । कोरोना मुक्त क्षेत्रमा सावधानी अपनाएर काममा फर्कनु पर्छ ।

उत्पादन, विकास र सेवाका क्षेत्रमा तोकेर स्थानीय पालिका र सरकारबाट अनुमति लिएर तोकिएको मापदण्ड पुरा गरेर मानिसलाई काममा फर्काउनु पर्छ ।

जस्तै कुनै पालिका कोरोना मुक्त भयो भने त्यहाँका स्थानीय किसानलाई पहिला कृषिका सबै काममा फर्कन अनुमति दिनुपर्छ । सरसफाइ, सामाजिक दुरी कायम गराएर, माक्स अनिवार्य गर्न सकिन्छ ।

कोरोना मुक्त पालिकामा आवत–जावतमा केही खुकुलो गर्न सकिन्छ । सवारीका साधनमा ढुवानीका साधन, कृषि फार्मका लागि आवश्यक साधन (टेक्टर लगायत) प्रयोगलाई अनुमति दिनुपर्छ ।

विकास निर्माणका काम बाटो, पुल, कुलो, नहर, घर निर्माण आदिका कामलाई खुकुलो बनाउनु पर्छ । यसका लागि चाहिने बालुवा, गिटी, ढुंगा, सिमेन्ट, इँटा आदिको आपुर्ति खुकुलो बनाउन सकिन्छ ।

सामाजिक दुरी र अरु सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सकिने उद्योग क्रमशः खुकुलो बनाउँदै जानुपर्छ । कोरोना मुक्तक्षेत्रमा भएको जनशक्तिको मात्र प्रयोग गर्ने नीतिलाई अवलम्वन गर्नुपर्छ ।

ंबजारमा भिडभाड हुने क्षेत्रलाई खुला नगरी साइडका जरुरी पसल खोल्न शुरु गर्नु पर्छ । यस्ता पसल खोल्न स्थानीय पालिका वा वडाबाट बनाएको नियमको पालना गराउँने र खोल्ने क्रम खुकुलो पार्नु पर्छ ।

मानिसको आवत–जावत र कामको अवस्था खुकुलो पार्दाको पहिलो शर्त भनेको कोरोना मुक्त क्षेत्र भएको हुनुपर्छ । कोरोनाका बिमारी भटिएमा तुरुन्तै फेरी पूर्ण लकडाउनको अवस्थामा फर्कनु पर्छ ।

यसो गर्दा टे«सिङ गर्नु पर्ने अवस्था आएमा कसरी गर्न सकिन्छ भनेर पनि ख्याल गरेर सेवालाई खुकुलो बनाउनु पर्छ ।

यदि कोरोनाको कहर लामो समय रहन गयो र काममा मानिस फर्कन पाएनन् भने त्यसले स्थिति झनै भयावह बनाउँन सक्ने कुरालाई बेलैमा ख्याल गर्नुपर्छ । त्यसैले अब कोरोनासँगै काममा फर्कने र जीवन जिउँने अभ्यास गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: