यस्तो फेरि नदोहोरियोस्

  प्रकाशित मिति
११ चैत्र २०७४, आईतवार ११:०७



क्षमादान सबैभन्दा ठूलो दान हो । गौतमबुद्धको सन्देशमा पनि यही भनिएको छ । ढाडभरि शिक्षकले पिटेको सुम्ला बोकेका दिप्सन राउत र उनको अभिभावकहरुले शिक्षक प्रवेश निरौला र उनले पढाउने स्कुल ग्रीन भिलेजलाई क्षमादान दिइसकेका छन् । मेचीनगरको सेरोफेरोमा भएका थुप्रैमध्ये यो साताको सबैभन्दा चर्चामा रहेको घटना हो यो ।

मेचीनगर–५ स्थित ग्रीन भिलेजमा पढ्ने दिप्सन र उनलाई पढाउने शिक्षक प्रवेशविच कुनै रीसइवी थिएन । तर प्रवेशले होमवर्क नल्याएको निहुँमा दिप्सनलाई पिटेर गल्ती गरे । गल्ती सबैबाट हुन्छ, तर दोहोरिन दिनु हुँदैन । प्रवेशले आफ्नो गल्ती स्वीकार गरेका छन्, त्योभन्दा ठूलो प्रायश्चित अरु केही हुन सक्दैन । उनलाई कठोर सजायको भागिदार बनाएर अँध्यारोतर्फ धकेल्न यो समाज चाहँदैनथ्यो । एउटा गल्तीको सजायको नाममा अर्को गल्ती नहोस् भनेर सकारात्मक सोच राखिएका कारण यो घटना आपसी समझदारीमा साम्य भएको छ ।

यो घटनाबाट प्रवेश र ग्रीन भिलेजले मात्र होइन मेचीनगरका सबै स्कुल र शिक्षकहरुले पाठ सिक्नु पर्दछ । अब प्रवेश र दिप्सन विस्तारै आफ्नै दैनिकीमा फर्किने छन् । घटनाको घाउ पुरिएर जाने छ, जानु पनि पर्छ । ग्रीन भिलेज र प्रवेश निरौलाले एउटा गल्तीका कारण कठघरामा उभिनु पर्यो । तर समाजमा स्कुल र शिक्षकहरु त थुप्रै छन् । सम्भवतः यो प्रकरणका कारण यस्तो गल्ती जानेर वा नजानेर गरिरहेका अरु स्कुलका शिक्षकहरुले पनि आफुलाई सुधार्ने मौका पाएका छन् ।

यही विषयलाई लिएर केही आदरणीय शिक्षकहरुबाटै सामाजिक सञ्जालमा आएको प्रतिक्रिया पढ्दा चाहिँ ज्यादै दुःख लागेको छ । वालमैत्री शिक्षाको लागि राज्यले यत्रो लगानी गरिरहेको छ । कैयन मञ्चहरुमा प्रशिक्षण र तालिम भन्दै यही करोडौँ राज्यकोष खर्च भइरहेको छ । केही विद्यालयहरु (आदर्श मावि इटाभट्टा र बाल सुबोधिनी आधारभूत विद्यालय दुहागढी लगायत)मा यस अघि कल्पना नै गर्न नसकिने किसिमको नमुना वालमैत्री कक्षा र पठनपाठन सुरु गरिएका छन् । यी तमाम कुरालाई विर्सेर केही शिक्षकहरुले ‘विद्यार्थी कुट्ने कार्य सामान्य हो’ भन्ने आशय व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा वालमैत्री अवधारणाको खिल्ली उडाउँदै विवादास्पद दृष्टिकोणहरु राखेको पाइएको छ ।

अब ‘शिक्षक कस्तो हुनु पर्छ’ र ‘शिक्षा कस्तो हुनुपर्छ’ भन्ने वहस सुरु भएको छ, हुनु पर्छ । के शिक्षक भनेको एउटा स्कुलको चार दिवारभित्रको पढाउने मेसिन मात्र हो र ? मैले बुझेको एउटा शिक्षक हाम्रो जस्तो देशमा एउटा विरामीको लागि डाक्टर हो, एउटा किसानका लागि जेटीए हो । पत्रकार, राजनीतिज्ञ, इन्जिनियर, वकिल आदि इत्यादिको कार्यक्षेत्रमा पर्ने सबै विषयमा सल्लाह माग्न मानिसहरु शिक्षककहाँ पुग्छन् ।

शिक्षक भनेपछि असाध्य ठूलो श्रद्धा हुन्छ हाम्रो समाजमा । शास्त्रहरुले शिक्षकलाई पितातुल्य पूज्य भनेका छन् । समाजबाट पाएको यस्तो सम्मान उहाँहरुले राज्यबाट पाउने गरेको तलब, भत्ता र पेन्सन भन्दा महान छ ।

एउटा शिक्षक दम्भरहीत, विनयशील र वालवालिकाहरुप्रति सम्वेदनशील होस् भन्ने सबैको अपेक्षा हो । शिक्षकहरुलाई राजनीतिक दलहरुको झोले कार्यकर्ता बनेको रुचाउँदैन आजको सचेत समाजले । हाम्रो पत्रकारिता जगतमा पनि ‘कानूनभन्दा माथि छौँ कि’ भन्ने भ्रम बोकेका पत्रकारहरु नभएका होइनन् । सत्य के हो भने पत्रकार होस् कि शिक्षक यदि उसले कानून विपरीतको काम गर्दछ भने उसलाई कानूनी कार्वाही हुन्छ । किनकि शिक्षक कानूनभन्दा माथिको व्यक्ति होइन, पत्रकार पनि होइन ।

जहाँसम्म प्रवेश निरौलाको सन्दर्भ छ, उनले आफ्नो गल्ती स्वीकारिसकेका छन् । यस्तो अवस्थामा विद्यालय र शिक्षक परिवारले पीडित विद्यार्थीका अभिभावकहरुलाई कन्भिन्स गर्नु पथ्र्यो । केही शिक्षकहरुले सडकमा जुलुस निकालुँला झैँ गरेको पाइयो । के विद्यार्थी कुट्न पाउनु पर्छ भनेर सडकमा जुलुस निकाल्दा समस्याले निकास पाउँथ्यो ? पर्याप्त समझदारी र विवेकको जरुरत हुन्छ यस्तोबेला । ग्रीन भिलेजका संस्थापक हरि बुढाथोकी र वडाध्यक्ष योगेन थापा, पीडित परिवारका राजेश राउत लगायतको पहलले समाधानको बाटो निकाल्यो । उनीहरु धन्यबादको पात्र भएका छन् ।

पत्रकारहरुले झुठा खबर लेखेर ‘त्यसो गर्न पाउनु पर्छ’ भन्न थाल्नु, डाक्टरहरुले गलत ओखती प्रेस्क्राइब गरेर ‘त्यो त हाम्रो अधिकार हो’ भन्न थाल्नु, न्यायाधीशले चोरलाई साधु भन्दै फैसला गरेर ‘हामीले जे भन्यौँ त्यही ठिक हो’ भन्न थाल्नु र शिक्षकहरुले विद्यार्थीलाई ‘कुटेर पढाउनु सामान्य हो’ भन्न थाल्नु हो भने हाम्रो समाज कता जान्छ ?

काउन्टरमा सामाजिक सञ्जालमा एउटा अर्को अतिबादी भड्काउपूर्ण दृष्टिकोण पनि आइरहेको थियो । तिनीहरुले शिक्षकलाई ‘दानव’को संज्ञा समेत दिन पछि परेका थिएनन् । राजनीतिक जिम्मेवारीमा रहेका र आफुलाई जिम्मेवार बताउन चाहने कतिपय व्यक्तिहरु घटनालाई उत्तेजित बनाउन चाहन्थे । म यसलाई समाजमा राजनीतिको आडमा हुर्किरहेको अराजकताबादी चिन्तनको अवशेषको रुपमा लिन्छु ।

दिप्सनले एउटा शिक्षकको वेहोशीका कारण नीलडाम खेप्नु पर्यो । हामीले प्रतिशोध र बदलाको भावनाले घटनालाई हेर्नु हुँदैन । १९ वर्षको किशोर उमेरको शिक्षक प्रवेश निरौलाले अवश्य गल्ती गरेका छन् । तर उनले क्षमादान पाए भने भविष्यमा आफुलाई सच्याएर असल बाटोमा हिडाउन पनि सक्छन् । दिप्सनले जस्तो सास्ती फेरि कसैले खेप्नु नपरोस् भन्ने सकारात्मक सोच सबैले राख्न सकियो भने मात्र यो घटनाबाट साँचो अर्थमा समाजले शिक्षा ग्रहण गरेको ठानिने छ ।

म यतिबेला मेचीनगर नगरपालिकाको पहिलो बैठकले नगरलाई बालमैत्री (वाल श्रममुक्त) नगरपालिका बनाउने निर्णय गरेको सम्झिरहेको छु र चिन्तित पनि छु । यसकारण कि नगरमा थुप्रै वाल क्लवहरु छन्, वाल अधिकारको क्षेत्रमा काम गर्ने एनजीओहरु पनि छन् । यो समस्याको समाधानमा ती वाल क्लवहरु र एनजीओहरुको कुनै भूमिका देखिएन । के ती एनजीओ र वाल क्लवहरुको काम भनेको वाल दिवसमा मिठाइ बाड्ने र बालवालिकाहरुलाई प्ले कार्ड बोकाएर जुलुस निकाल्ने मात्र हो ?

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: