यस्तो बन्दैछ काँकरभिट्टादेखि चार लेनको एसियन हाइवे

  प्रकाशित मिति
२३ श्रावण २०७९, सोमबार १२:३६


काँकरभिट्टामा आइपुगेको एसियन हाइवे ।

काँकरभिट्टा, २३ साउन । एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडक बनाउँदा सडक क्षेत्रभित्रका अनाधिकृत ३७७ वटा संरचना हटाइने भएको छ ।

यो राजमार्गलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको छ । बिर्तामोडमा आइतबार यसको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले बिर्तामोड नगरपालिकासँग जोडिएको सडक अन्तरगत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन लगायत सात वटा संरचना हटाइने सूचीमा रहेको जानकारी दिए ।

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रू. २८ अर्ब १७ करोड रहेको छ । निर्माण कार्य तीन वर्ष भित्रमा सम्पन्न हुने बताइएको छ । यो सडकको कूल लम्बाईमध्ये झापामा ५४ दशमलव ९ किलोमिटर पर्छ ।

झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पौषसम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुवातदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरण विज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।

शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।

तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।

आयोजनाले काँकरभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरी लगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।

यस आयोजनाबाट १२ वटा नगरपालिका, चार वटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वटा वडा प्रभावित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: