यात्रा संस्मरण : ताप्लेजुङको पाथिभरासम्म

  प्रकाशित मिति
२६ जेष्ठ २०७९, बिहीबार ०९:२८


‘त्यहाँ यस्तो पनि देखियो कि २० देखि ३० वर्षका युवा केटा र केटीहरु (भरिया) ले हिड्न नसक्ने ५० देखि ८० केजी तौलसम्मका भक्तालुहरुलाई डोको र नाम्लोमा बोकेर उकालो–ओरोलो गरिरहेका थिए । उनीहरुले मान्छेलाई ल्याउन र पुर्याउने सहितको एक केजी तौल बराबर रु.२०० लिने गरेका रहेछन् ।’

ताप्लेजुङको ठुलो पाथिभरा मन्दिर जाने इच्छा मेरो धेरै वर्षअघि देखिको थियो । तर यो होइन की भाकलै थियो । मेरो इच्छा पुरा भएको छ । १७ जेठ, ०७९ ठुलो पाथिभरा माताको दर्शन गर्न पाउँदा औधि नै खुसी महसुस गरेको छु ।

अभूत पूर्व शक्तिको देवी भनेर परिचित पाथिभरा माताको दर्शन गर्न म पनि धेरै वर्ष अगाडिदेखि इच्छा गरेको थियो । हजार्रौ दर्शनार्थीहरु मन्दिरमा सधै गईरहने, त्यहाँ जहिलै पनि दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको तपाई हामीले देखेको र सुनेकै कुरा हो ।

आफुलाई जाने इच्छा रहदा रहदैँ पनि झापाको ब्यस्त जीवनले छोड्न सकेको थिएन । मैले सुनेको थिए–‘त्यहाँ पुगेपछि इच्छाएका धेरै कुराहरु पुरा हुनेछ ।’ त्यो इच्छा पुरा गर्न वा माताको दर्शन गर्न त्यति सजिलो पनि त थिएन । किनकी विहान गयो बेलुका फर्किहाल्ने ठाँउ पनि त होइन । पुरै तीन दिनको समय जोगाड गर्नु पथ्र्यो । माताको दर्शन गर्न त्यति समय चाहिँ छुट्टाउनु पथ्र्यो ।

जान सोचेदेखि ०७८ बैशाख सम्म त्यो सम्भव भएन वा विभिन्न कारणले सकिएन । ०७९ साल लाग्यो । स्थानीय तहको चुनाव पनि बैशाख ३० गते थियो । बैशाख महिनामा त जान सक्ने अवस्था थिएन । चुनाव सकिएपछि पनि जेठको दोस्रो हप्तासम्म उम्मेद्वारहरुको नतिजा घोषणा सुन्दै समय व्यतित भयो ।

उम्मेद्वारहरुको हार–जितको छिनोफानो भएपछि हल्का फुर्सद भयो । उनीहरुले सपथ र पदभार पनि ग्रहण गरे । हुन त पत्रकारको कहिलै पनि फुर्सद हुँदैन । यो बेलामा हल्का र्फुसद निकाल्यो । हुन त मान्छेको मन न हो, जाने इच्छा भयो भने गन्तव्यमा जसरी पनि पुगिन्छ । यहाँ मैले त्यहिँ गरे ।

त्यहि पनि मैले साथीहरुलाई भनेको थिए । चुनाव सकिएपछि एकपटक ताप्लेजुङ गएर ठुलो पाथिभरा माताको दर्शन गरेर आउँछु ।साथीहरुको पनि जाने इच्छा छ भने जौँ है भनेको थिए । मोहन काजी सर, प्रकाश पौडेल, झुलन रेग्मी, डम्बर बराल लगायतका साथीहरुलाई भनेको थिए । त्यसमध्ये बरालजीले इच्छा देखाउनु भयो । उहाँ मसँग जान राजी हुनुभयो ।

रेग्मीजीले म पनि परिवारसहित हलेशी दर्शन गर्न जाने तयारी गरिरहेको सुनाउनु भयो । उहाँले पनि सो समयमा हलेशीको दर्शन गर्नु भयो । अन्य साथीहरु विविध कारणले गर्दा जान भ्याउनु भएन ।

डम्बरजी र मैले जेठ १६ गते सोमबार जाने निर्णय गरिम । जेठ १५ गते मैले चारआली पुगेर  निरु परियारको सहयोगमा काउन्टरबाट २ वटा टिकट रु.२६०० मा लिए । काउन्टरमा आएर  परियारले टिकटमा छुट गरिदिन सहयोग गरिदिनु भयो । उहाँलाई धन्यवाद छ । चारआलीदेखि ताप्लेजुङको बसपार्क सम्मको एक जनाको भाडा रु.१५०० लाग्दो रहेछ ।

डम्बरजीले आफन्तसँगको सल्लाहमा कि मोटरसाइकलमा जाने भन्दै हुनुहुन्थ्यो मलाई तर मैले यत्रो लामोबाटो बाइकमा नजुम ट्याक्सीमा नै बरु जुम भन्ने कुरा गरेपछि हामी अन्ततः ट्याक्सीमा नै जाने निधोमा गर्यो ।

जेठ १६ गते सोमबार विहान ८ वजे चारआलीबाट म्याक्स गाडीमा हामी उकालो लागिम । इलामको मनमोहक दृश्यहरु नियाल्दै गन्तव्यतिर लाग्यो । वीच वीचमा गाडी रोकेर चिया–नस्ता र खाना खादैँ करिव ६ वजे बेलुका ताप्लेजुङ बसपार्क पुगेका थियौँ।

बसपार्कबाट सानो फेदीका लागि बोलेरो गाडीमा प्रति व्यक्ति रु.४०० भाडा तिरेर उकालो लाग्यो । करिव ढेड घण्टामा सानो फेदी पुग्यो । हिलाम्मे सडकमा दुःखले सानो फेदी पुग्दा पानी परिरहेको थियो । जाडो महसुस भएपछि नजिकैको एउटा पसलमा पुगेर चाउचाउको झोल र रातो चिया पिएका थियौँ ।

राति नै ठुलो फेदीको होटलमा बस्न पुग्नु नै पर्ने हाम्रो बाध्यता थियो । किनकी ठुलो फेदीको पाथिभरा कालिका होटलको साउजीलाई यसअघि नै फोन गरेर २ जना बस्ने कोठाको व्यवस्था मिलाउन अनुरोध गरेका थियौँ । सो होटलमा बस्न कोठाको व्यवस्था मिलाउन सहयोग गर्ने प्रदिप परियार जीलाई धन्यवाद छ । प्रदिप र एकराज प्रधानजी पनि एक दिनअघि पाथिभरा दर्शन गर्न आउँदा त्यहिँ बस्नु भएको रहेछ । त्यसैले हामीलाई पनि सजिलो भएको अनुभुती भयो ।

सो होटलमा एक जनालाई एकरात खान र बस्न रु.४०० लागेको थियो । हामी दुवै जना पाथिभरा मन्दिर पहिलो पटक जादैँ थिम । त्यसकारण हामीले धेरै कुराहरु सुन्दै, बुझ्दै जानु पर्ने अवस्था थियो । सानो फेदिबाट साढे ८ वजे राति लौरो, पानी र झोला छेक्नका लागि प्लास्टिक र व्याग बोकेर ढेड घण्टाको उकालो ढुंगै ढुंगाको सिडीको बाटो टचलाइट बालेर गएका थियौँ।

राति १० वजे होटल पुग्यो । पानी रोकिएको अवस्था थियो । चिसो भने बढिरहेको थियो । चिसो पानीका कारण हात धुनै गाहे परेको थियो । हात धुदा पनि औँला झर्ने गरिको चिसो पानी थियो । मैले होटलको साउनीलाई यस्तो चिसो पानीमा विहान नुहाउनु गाहे पो हुन्छ होला, कसोपो गर्नु भनेर सोधे । उहाँले भन्नु भयो एकजक तातो पानी दिन्छौँ त्यसैले नुहाउनु होला । एकजक तातोपानीले मलाई पुग्दैन थियो । भोलि केहि जुक्ति लगाउँला भनेर चुप्प लागे ।

विहानदेखि गाडीमा लामो यात्रा गरेको कारण हामी थकित भएका थियौँ । ताततातो खाना खाने वित्तिकै हामी दुवै जना सुत्ने तरखरमा लाग्यो ।

भोलिपल्ट अर्थात जेठ १७ गते मंगलबार विहान ४ वजे उठ्यो । पानी परेको थिएन । मौसम चिसो थियो । त्यहाँ प्रायः सधै चिसो नै हुने ठाँउ रहेछ । चिसो हावा चलिरहेको थियो । साउजी पुजाको सामग्री बेच्न व्यस्त हुनुहुन्थ्यो । म चुलातिर हेर्न गए तातोपानी । चुलामा दाउरा बालेर ठुलो भाडाको एक भाडा पानी तताईरहेको देखे ।

डम्बरजीलाई कित्लीमा एक कित्लीभरि तातोपानी दिएर नुहाउन पठाए । त्यसपछि मैले एउटा बाल्टीको आधा चिसो पानीमा एक कित्ली पानी हाले । त्यो कसैले थाहा पाएनन् । त्यसपछि साउजीलाई एक कित्ली पानी लगे है भनेर नुहाउन पसे । हुन त मलाई त्यति पानीले के पुग्थ्यो । धारामा मजाले नुहाउने मान्छे त्यसले त के पुग्थ्यो । मन्दिर जानका लागि शुद्व चाहिँ भईयो ।

विहान ५ वजे मन्दिर जानका लागि तयारी गरिम । झोलामा पुजाको सामाग्री, पानी, भुटेको मकै, अधुवा, बदम जुस र पानी परिहाल्छ कि भनेर रेनकोट पनि साथै बोकेको थिम । लामो बाटो उकालो चढ्दा चिसोले लेक लाग्छ भनेर ती सबै कुराको व्यवस्था गरेका हिडेका थियौँ ।

विहान ५ः१५ वजे पाथिभरा माताको दर्शनका लागि उकालो चढ्यो । स्याँस्याँ र फ्याँफ्याँ गर्दै लौरो टेक्दै विस्तारै सिडी चढ्दै, ठाँउठाँउमा चौतारोमा झोला विसाउँदै, भुटेको मकै खादैँ, अधुवा चपाउँदै पाउने ८ वजे पाथिभरा माताको मुल गेटमा पुग्यो ।

त्यसदिन हामीसँगै माताको दर्शन गर्न आउनेको घुईचो थियो । काठमाडौँ, दाङ, सुनसरी, मोरङ, फिदिम, पाँचथर, झापाका विभिन्न ठाँउका भक्तजनहरु मताको दर्शन गर्न अघिल्लो दिनै माथ्लो र सानो फेदीका होटलहरुमा बसेका थिए । माताको दर्शनका लागि बालबालिकादेखि वृद्ववृद्वा र युवा–युवतीसम्म लौरो टेक्दै ढुंगाको उकालो सिडी टेक्दै हिडिरहेका थिए ।

यसैवीचमा एउटा रोचक सन्दर्भ जोड्न मन लाग्यो, त्यो उहाँहरुको बाध्यता पनि हो । माताको दर्शन गर्न माथ्लो फेदिबाट करिव ३ घण्टा उकालो हिड्नु पर्छ । एक्लो शरिर र सामान्य झोला बोकेर माथि जान पनि धेरै कष्ट व्यहोर्नु पर्छ ।

तर, त्यहाँ यस्तो पनि देखियो की २० देखि ३० वर्षका युवा केटा र केटीहरु (भरिया) ले हिड्न नसक्ने ५० देखि ८० केजी तौलसम्मका भक्तालुहरुलाई डोको र नाम्लोमा बोकेर उकालो–ओरोलो गरिरहेका थिए । उनीहरुले मान्छेको एक केजी तौल बराबर रु.२०० लिने गरेका रहेछन् । ल्याउन र पुर्याउने सहितको सो रकम लिने गरेका रहेछन् ।

धेरै वर्षदेखि मातालाई भेट्ने इच्छा थियो । उहाँलाई आँखा अगाडि देख्न पाउँदा म भावुक अनि भित्रैदेखि औधि खुसी पनि भईरहेको थिए । मेरो एउटा सपना पुरा भएको महसुस त्यतिबेलै गरे । हामी दुवै जनाले विधि पूर्वक पाथिभरा माताको दर्शन लाग्यो ।

माताको दर्शन गरिसकेपछि माथ्लो फेदिको होटलतिरका लागि ओरालो झर्यो । विहान ९ः१५ वजे ओरालो झरेको करिव १०ः४५ वजेतिर होटलमा पुग्यो । ११ वजे खाना खाएर बेडमा ढल्केको दिउसो ३ वजेमात्र उठ्यो ।

दिउसो झापा झर्ने गाडी भेटिदैन रहेछ । त्यसो भएकोले हामीले पाँचथरको थर्पुमा बास बस्ने र भोलिपल्ट मात्र झापा फर्किने निधो गर्यो । थर्पुमा डम्बरजीको साली गीताञ्जली निरौला भट्टराईको डेरा रहेछ । उनका पति दामोदर भट्टराई सहारा नेपाल थर्पु शाखाका प्रमुख रहेछन् ।

होटलको सबै हिसाव किताव गरेर साउजीलाई धन्यवाद दिएर माथ्लो फेदिबाट हामी ओरालो १ घण्टा हिडेर सानो फेदीमा आईपुगीम । सानो फेदिमा हल्का पानी परिरहेको थियो । त्यहाँको एउटा होटलमा थुक्पा खायौँ । ती नजिकैको पसलमा थप प्रसादका सामाग्रीहरु खरिद गर्यो ।

सानो फेदीबाट बोलेर गाडीमा चढेर हामी ताप्लेजुङ बसपार्क पुग्यो । हामीसँग गाडीमा चढेका अन्य भक्तजनहरु पनि झापा शरणामती रहेछन् । उहाँहरुले झापाबाटै गाडी ल्याउनु भएको रहेछ । गाडी बसपार्कमा राख्नु भएको थियो । उहाँहरु पनि फिदिममा आफ्नो मान्छेको बस्ने योजना बनाउनु भएको रहेछ ।

हामीले उसो भए त्यहि गाडीमा जान्छौँ थर्पुसम्म लागेको भाडा दिन्छौँ भन्ने कुरा राखिम । उहाँहरुले सहर्ष स्वीकार गर्नु भयो । र हामी पनि त्यहि गाडीमा चढ्यो । करिव राति ८ वजे थर्पुको गणेश चोक आइपुग्यो । गाणेश चोकबाट ५ किलोमिटरको बाटो ट्याम्पोमा गएपछि डम्बरजीको सालीको डेरामा राति ८ः३० वजे पुग्यो । साली गीताञ्जली, साडुभाइ दामोदर, डम्बरजी र मैले दुःख सुखका कुरा गर्यो । अनि खाना खाएर सुत्दा १० वजेको थियो । त्यहाँ पनि पानी हल्का पर्दै, रोकिदै गरेको अवस्था थियो ।

थर्पुमा डम्बरजीको साथी रमेश पोखरेलसँग २० वर्षपछि भेट भयो । साथी, साडुभाई र हामी केहि समय भलाकुसारी गरिम । २० वर्षअघिका कुराहरु स्मरण गर्दै हामी छुट्ने तयारीमा थियौँ । जेठ १८ गते विहान चिया नस्ता खाएर १० वजे गणेश चोकबाट सानो म्याक्स गाडी चढेर हामी झापातिर लाग्यो ।

पाँचथर र इलामको उकाली ओराली गर्दै हरियाली डाँडाको दृश्य हेर्दै हामी घर फर्किरहेका थियौँ । काहिँ पारिलो घाम, काहिँ पानी परिरहेको थियो भने काहिँ हुस्सुले आकाश धुम्म भएको अवस्था देखिन्थ्यो ।

दिउसो १ वजे इलामको राँके बजारको एउटा होटलमा खाना खाएर बेलुका ६ वजे चारआली आईपुगेका थियौँ । करिव ७ वजे बेलुका दुवै जना आ–आफ्नो घर पुगीम । यात्रा गन्थन यहिँ टुगिन्छ । यो मनले एउटा नयाँ अनुभुती पाएको महसुस भएको छ । धन्यवाद ।

।अर्जुन कार्की ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: