यात्रुको  रोजाइमा नागरिक र सगरमाथा

  प्रकाशित मिति
१६ चैत्र २०७३, बुधबार ११:१०


nagarik
काँकरभिट्टा । बाहुनडाँगीका शरण राई आइतवार विराटनगर जान काँकरभिट्टा बस स्टेनमा आए । उनी आफन्त बिरामीलाई हेर्नका लागि विराटनगर अस्पताल जाने हतारोमा थिए । उनले समयमा विराटनगर पुर्याउने गाडी आएको छ भनेर गाउँमा सुनेका थिए । नभन्दै काँकरभिट्टा आएर सगरमाथा र नागरिक बस लाग्ने स्टेण्ड भएतर्फ हानिए । उनलाई बस स्टेण्डमा तान्नका लागि अन्य बसका कर्मचारीहरू पनि थिए । तर, उनले उनीहरूको आग्रहलाई अस्वीकार गर्दै सोझै सगरमाथा बसमा चढे ।

काँकरभिट्टाका विवेक खवासलाई पनि आइतवार दमक पुग्ने हतारो रहेछ । उनलाई पनि अन्य बसका कर्मचारीले नतानेका भने होइनन् । तर, उनले सहजै जवाफ दिए– ‘म समयमै गन्तव्यमा पुर्याउने बसमा जान्छु ।’
राई र खवास त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता धेरैको पहिलो रोजाइमा पर्ने गरेका छन्, नागरिक र सगरमाथा यातायात ।

प्रविधिको विकाससँगै यातायात क्षेत्रमा पनि यसले फड्को मारेको छ । यात्रुलाई तोकिएको समयमा गन्तव्यमा पुुर्याउने सँगै प्रविधिको पनि सुविधा दिइएको छ । यही भएर पनि यात्रुहरू समय कुरेरै यी बस चढ्ने गरेका छन् ।

भारतको पानीट्याङ्कीबाट सिलगुढी रुटमा चल्ने स्टेट बसको कन्सेफ्टलाई आधार मानेर सञ्चालनमा आएका यी दुई कम्पनीका बसले यतिबेला पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका यात्रुको मन जित्न सफल भएका छन् ।
‘यी बस सञ्चालनमा आएपछि हामीलाई ठूलो राहत भएको छ’, इटहरी माइत हिँडेकी इटाभट्टाकी गीता अधिकारीले भनिन्–‘अरुबेला ननस्टप बस भनेर चढ्यो । सबै उस्तै देखिन्थे । ५ घण्टामा पनि इटहरी पुग्न गाह्रो पथ्र्याे । अहिले अढाइ घण्टामै पुगिन्छ ।’

आइतवार बसको स्थलगत रिर्पाेटका लागि म आफैँ काँकरभिट्टाबाट विर्तामोडसम्म नागरिक बसमा चढेको थिएँ । बसमा चढ्ने धेरै यात्रुलाईलाई मैले सोधेँ– ‘तपाईले किन यो बस नै रोज्नु भयो ?’ सबैको एउटै उत्तर थियो–‘समयमा गन्तव्य पुगिन्छ ।’

यसैगरी एक साता अघि दमकबाट सगरमाथा यातायातमा म चढेर आएको थिएँ । उक्त बसमा पनि कर्मचारीले यात्रुप्रति गर्ने व्यवहार, निश्चित स्टेण्ड बाहेक अन्यन्त्र नरोक्ने अनि भाडादर अनुसारको टिकटको व्यवस्थापन गरिएको पाएँ । यसले के देखाउँछ भने यात्रुको भावना अनुसारको बसले सेवा दिइरहेको छ ।
अशक्त र महिलाहरूका लागि आरक्षण सिटको व्यवस्था, अपाङ्ग, विद्यार्थीका लागि तोकिएको भाडामा छुटको व्यवस्था गरिएको छ ।

नागरिक बसले पहिलो पटक जीपीएस प्रणाली समेत जडान गरेको छ । जसले नयाँ यात्रुका लागि कुन ठाउँमा पुगिने हो त्यसको जानकारी हुन्छ ।

अधिकतम् पूँजी १० करोड लगानी गरेर कम्पनी दर्ता गरी सञ्चालनमा आएको यो कम्पनीमा संस्थापक ७ जनासहित हाल ३३ जना सेयर सदस्य रहेको अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए । अध्यक्ष उप्रेतीका अनुसार बसको व्यवस्थित पार्किङका लागि मेचीनगरको इटाभट्टामा १८ कठ्ठा १० धुर जग्गा समेत खरिद गरिएको छ । उक्त जग्गामा व्यावसायिक पार्किङसहित ग्यारेज पनि सञ्चालनमा ल्याइने अध्यक्ष उप्रेतीले बताए ।

मेची बस व्यवसायी सङ्घको मातहतमा रहेर काँकरभिट्टाबाट सञ्चालन हुने यी बसले पहिलो चरणमा धरान र विराटनगरसम्म सुविधा दिँदै आएका छन् । दुबै कम्पनीका बसले धरानलाई अढाइ घण्टा र विराटनगरलाई ३ घण्टाको समय तोकेको छ । उक्त तोकेका समयमा बसले सुविधा समेत दिँदै आएको छ । बिहान ५ बजेबाट सञ्चालन हुने बसहरू हरेक १० मिनेटका दरले छुट्ने गरेका छन् । एउटा कम्पनीको २ वटा बस छुटेपछि अर्काेको पालो आउँछ । जसमा एउटा धरान र एउटा विराटनगर रुटका लागि जाने गरेका छन् ।

गत कात्तिक १२ गतेदेखि सञ्चालनमा आएको सगरमाथा यातायात र फागुन ५ गतेदेखि सञ्चालनमा आएको नागरिक बसले दिइएको सुविधाप्रति आम यात्रु खुसी छन् । सगरमाथा यात्रायातको हाल ११ वटा बस सञ्चालनमा रहेको र त्यसमा ५ वटा धरान र ६ वटा विराटनगरका लागि काँकरभिट्टाबाट छुट्ने गरेका सगरमाथा यातायात प्रालिका प्रबन्ध निर्देशक राजकुमार पाण्डेले बताए । पाण्डेका अनुसार अबको एक महिनाभित्रमा ५ वटा बस थपिनेछन् ।
बसमा हाल २० जना सेयर सदस्य रहेका छन् ।

समग्र देशलाई चलायमान एवम् गतिशील बनाउने कार्य यातायात व्यवसायले गरेको हुन्छ ।

निजी क्षेत्रको तर्फबाट कम्पनी स्थापना गरी प्रविधि र सुविधासहित भरपर्दो यातायात सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सञ्चालनमा आएका यी बसले सुविधालाई निरन्तरता दिन सफल बनून्, आम यात्रुको चाहना यही हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: