यी हुन् -“झापाली लोकनायक २०७४”

  प्रकाशित मिति
१२ आश्विन २०७४, बिहीबार १६:३८


menukaमेनुका काफ्ले,
अध्यक्षः कमल गाउँपालिका

स्थानीय तहको प्रमुखमा निर्वाचित प्रदेश नं. १ की एक मात्र महिला मेनुका काफ्ले आफ्नो कमल गाउँपालिकालाई ‘महिलामैत्री’ बनाउने कार्ययोजना निर्माणमा छिन् ।

आधा आकाश ओगटेका महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र स्वाभिमानको पक्षमा पाँच वर्षभित्र नमुनायोग्य कार्य गर्ने अठोट लिएकी उनी छिमेकी मुलुक चीनको स्थानीय सरकारको गतिविधि समेत भर्खरै अध्ययन गरेर फर्किएकी छन् ।

सामन्तबादी संस्कारबाट हुर्किएको नेपाली समाज महिलाका लागि विभेदकारी छ । पितृसत्ताको ह्याङओभर बाँकी नै रहेकाले घर, अफिस, स्कुल, बजार जहाँ पनि महिलाहरु हिंसाको शिकार भइरहेका छन् । ‘कमल गाउँपालिकालाई हामी घरेलु हिंसामुक्त बनाउने छौँ’, उनी महिलामैत्री कार्यक्रमका बारेमा भन्छिन्–‘विभेद र हिंसाको जालो च्यात्नै पर्छ अब ।’

महिला र वालवालिकाको विषय जोडिने भएकाले अध्यक्ष मेनुका दुबै विषयमा सँगसगै अभियान अघि बढाउने सोचमा छिन् ।

गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य र हेरचाहमा विशेष प्रोत्साहन दिने, विशेष स्याहार कार्यक्रम ल्याउने, विपन्न समुदायका महिलालाई स्वास्थ्योपचारको पहुँच पुर्याउन सक्रिय पहल गर्ने, गाउँहरुमा वाल क्लव गठन गरी उनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि सहयोग पुर्याउने उनको योजना छ ।

……………

 

bimalबिमल आचार्य ,
नगर प्रमुख ः मेचीनगर नगरपालिका

नेपालीभाषीको वाहुल्य भएको पश्चिम बङ्गाल, दार्जीलिङ, सिक्किम, आसाम, मेघालय जस्ता भारतीय प्रान्त मात्र नभएर भूटान, बङ्गलादेश, बर्मा जस्ता छिमेकी तेस्रो मुलुकसँग निकट दूरी रहेको मेचीनगर प्रचुर पर्यटकीय र व्यापारिक सम्भावना बोकेको ‘बोर्डर सिटी’ हो ।

यही सम्भावनालाई अवसरमा बदलेर समृद्धिको ढोका खोल्ने सोच बनाएका नगर प्रमुख विमल आचार्यले पाँच वर्षे कार्यकालभित्र मेचीनगरको विशाल भूगोल (१९३ वर्ग मिटर)लाई सडक सञ्जालले जोड्दै ‘चक्र पथ’ अर्थात ‘रिङरोड’ निर्माण गर्ने सङ्कल्प गरेका छन् ।

‘जनताका आवश्यकता र अपेक्षा अरु धेरै छन्’, आफ्नो ‘ड्रिम’को औचित्य प्रस्ट्याउँदै नगर प्रमुख आचार्य भन्छन्–‘समृद्धिको पहिलो स्टेप भनेकै सडक हो, त्यसमै पर्यटन, उद्योग, व्यापार र रोजगारी जस्ता विषय निर्भर गर्दछ भन्नेमा म प्रस्ट छु ।’

रोङ, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड र भद्रपुरसँग जोडिएको मेचीनगरको १५ वटै वडालाई चक्र पथले छुने छ ।

एक इन्जिनियरका अनुसार ६ मिटर चौडाइ भएको एक किमि चक्रपथ बनाउन १ करोड २५ लाख रुपैयाँ चाहिन्छ । ‘चक्रपथ ड्रिम’ साकार तुल्याउन १ अर्ब १० करोड रुपैयाँको बजेट अहिलेकै बजारभाउ अनुसार लाग्ने देखिन्छ ।

उनका अनुसार चक्रपथ निर्माणको तीन चरण हुने छन् । डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर), राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट लगानी र निर्माण कार्य ।

‘यस बारेमा म विज्ञहरुसँग परामर्शमा छु’–उनी बताउँछन् । चक्रपथ निर्माणसँगै विभिन्न ठाउँमा सहरी विकासका स्मार्ट प्रोजेक्टहरु अघि बढ्ने उनको विश्वास छ ।

दुहागढी र ज्यामिरगढीमा औद्योगिक करिडर बन्ने छन् । मेट्रो बस चल्ने छ । पर्यटकीय क्षेत्रहरुमा आन्तरिक र वाह्य पाहुनाहरुको ओइरो लाग्ने छ । हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना हुने छ । शैक्षिक केन्द्र, आवास क्षेत्र र बन्यजन्तु आरक्षण क्षेत्र (निकुञ्ज)को निर्माण हुने छन् ।

…………………

jiwan kumar shresthaजीवन कुमार श्रेष्ठ, नगर प्रमुख ः भद्रपुर नगरपालिका

‘मृत सहर’को बिल्ला बोकिरहेको सदरमुकाम भद्रपुर नवजागृतिको तीब्र रफ्तारमा दगुर्न सकेन भने यसले विकासको दौडमा अरु नगरलाई उछिन्न त के भेटाउन पनि मुस्किल छ ।

इतिहासको एउटा कालखण्डमा भारतलाई धानचामल निर्यात गर्ने यही भद्रपुर नगर आजभोलि भान्सा चलाउन निगुरोको मुठो पनि भारततिरैबाट आयात गर्न विवश छ ।

चुनौति र अवसरको यो यथार्थलाई ठम्याउँदै नगर प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरलाई आत्मनिर्भर सहरको रुपमा अघि बढाउने सङ्कल्प लिएका छन् । उनले पाँच वर्षभित्र तरकारी तथा फलफुलमा नगरलाई आत्मनिर्भर बनाउने ‘सपना’ सजाएका छन् ।

‘मेची पुलको निर्माण गरिसक्नु पर्ने छ, औद्योगिक पुनर्जागरण गर्नु पर्ने छ, एयरपोर्टको स्तरोन्नति गर्नु छ, समग्रमा आर्थिक रुपमा नगरलाई समृद्ध बनाउनु छ’, आफ्नो विकासे प्राथमिकता सुनाउँदै उनले भने–‘कम्तीमा एउटा ठोस उपलब्धि देखियोस् भन्ने सोचेर भद्रपुरलाई तरकारी र फलफुलमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छु ।’

उनले यो योजना सफल बनाउन महेशपुर क्षेत्रमा पर्ने मेची पारिको नेपाली भूमिलाई ‘तरकारी पकेट क्षेत्र’ घोषणा गर्ने भएका छन् ।

त्यहाँको उर्वर जग्गामा अग्र्यानिक तरकारी र  फलफुल खेतीका लागि प्रोत्साहित गर्न स्थानीयवासीलाई सम्पूर्ण करबाट मुक्त गराउने र आवश्यक पर्ने मल, वीऊ र यान्त्रिकीकरणमा पर्याप्त अनुदान दिने सोच अघि सारेका छन् उनले ।

मेचीमा पुल अन्तिम चरणमा रहेको हुँदा त्यसको निर्माणपछि भारतसँगको व्यापारिक कारोवार भद्रपुरबाट मनग्ये मात्रामा हुने निश्चित छ । अहिलेसम्म भारतबाट तरकारी र फलफुल भित्रिने गरेकोमा भविष्यमा नेपाली कृषि उपज भारतीय बजारमा पुर्याएर व्यापार घाटा न्यून गर्न मदत पुर्याउने उनको दूरदर्शी सोच छ ।

………………..

rajendra lingdenरविन्द्र लिङ्देन, अध्यक्षः हल्दिबारी गाउँपालिका

झापाको अधिकांश क्षेत्र जङ्गली हात्तीको उपद्रोबाट बर्षौदेखि प्रताडित छ । दुर्लभ बन्यजन्तुको सूचीमा रहेको हात्तीलाई मार्न नपाइने र उसको आक्रमणबाट मान्छेहरुलाई जोगाउन पनि नसकिने सकसबाट राज्य समेत अकर्मण्य छ ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले ‘साप मर्ने र लठ्ठी पनि नभाँचिने’ प्रकृतिको नयाँ जुक्ति निकालेका छन् । त्यो हो–चारकोसे जङ्गललाई ‘मिनी’ निकुञ्ज बनाउने । उनले यस प्रोजेक्टबाट हल्दिबारीलाई आत्मनिर्भरताको मार्गमा लैजान सघाउ पुग्ने सम्भावना देखेका छन् ।

‘ठ्याक्कै निकुञ्ज बनाउन गाउँपालिकाको सामथ्र्य नपुग्ला’, उनी भन्छन्–‘जङ्गल, जनावर र पशुपंक्षी संरक्षण गरेर पर्यटक आकर्षण गर्ने हाम्रो सोचाइ हो ।’ उनको यो ‘ड्रि«म’ले हात्ती आतङ्कको चर्को पीडा व्यहोरिरहेका जिल्लाका अन्य नगर र गाउँपालिकाहरुमा समेत आशाको तरङ्ग पैदा गरेको छ ।

मासिदो अवस्थामा रहेको प्राकृतिक जङ्गल, लोप भइसकेका बन्यजन्तुहरू र गाउँवस्तीतिर रैफाडो गर्दै हिड्ने हात्तीहरुलाई एकीकृत रुपमा संरक्षण गर्नका लागि ‘मिनी निकुञ्ज’ बनाउने आइडिया उपयुक्त हुन सक्छ ।

गाउँपालिकाले पर्यटकीय क्षेत्र घोषणा गरे पश्चात त्यहाँ विचरण गर्ने जङ्गली जनावरहरुलाई मानव वस्तीतिर जान नदिने भरपर्दो उपाय खोजिने छ । जङ्गलका हात्ती देखाएर पर्यटक लोभ्याइने छ । ‘तस्करको धन’ बनिरहेको १ हजार ७ सय हेक्टर क्षेत्रफलमा फैलिएको साल लगायतको हराभरा चारकोसे जङ्गलको उचित संरक्षणमा पनि निकुञ्जको स्थापनाले निश्चय नै सघाउने छ । मेचे र सन्थाल समुदायको संस्कृतिमा आधारित ‘होम स्टे’ चल्ने छन् ।

हाल बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबेराका कारण भारतबाट सयौँको हन्जामा भारतीय हात्ती आउने क्रम घटे पनि चारकोसे जङ्गलमै घुमिरहने कम्तीमा १२ वटा रैथाने हात्तीको आतङ्क झन् बढेको छ ।

बर्दियामा हात्ती र चितवनमा बाघ पाल्दा हुन्छ भने झापामा हात्ती पाल्न किन सकिदैन ? हात्तीलाई पर्यटकीय आकर्षणको माध्यम बनाउने र स्थानीयवासीहरुको जीवन रक्षाको भरपर्दो व्यवस्था मिलाउने गरी मिनी निकुञ्जको अवधारणा ल्याउने गाउँपालिका अध्यक्ष लिङ्देन भन्छन्–‘यस अघि कसैले कहिल्यै नउठाएको विषय भएकाले सुन्दा अचम्म लाग्ला, तर यो असम्भव भने छैन ।’

………………….

 

romnath oliरोमनाथ ओली, नगर प्रमुख ः दमक नगरपालिका

दोस्रोपटक नगर प्रमुखको जिम्मेवारी जनताले दिएपछि नयाँ योजनाको सोचमा रहेका दमकका रोमनाथ ओलीको दिमागमा ‘नलेज बैङ्क’ खोल्ने आइडिया फुर्यो । झट्ट सुन्दा हावादारी कुरा जस्तो लाग्ला, तर यो विषय ज्यादै उन्नत सोचको उपज हो ।

नगद र सुनचाँदी थन्काउने बैङ्क हुन्छ । रगत र आँखा राख्ने पनि बैङ्क खुलेका छन् । लाइब्रेरी आफैमा पुस्तकको बैङ्क हो । ‘त्यसो भए मानिसले आर्जन गरेको वौद्धिक ज्ञानलाई संरक्षण गरी आवश्यक प्रयोग गर्न मिल्ने नलेज बैङ्क खोल्न किन नहुने ?’–नगर प्रमुख रोमनाथको तर्क छ ।

व्यक्तिहरुले आर्जन गरेको ज्ञानलाई पेटेन्ट राइटसहित सङ्ग्रह गर्ने कार्य यो नलेज बैङ्कले गर्ने छ । ‘यसले ज्ञान संरक्षण मात्रै गर्दैन’, उनी भन्छन्–‘संरक्षित ज्ञानलाई बाँड्ने र मानव जातिलाई फाइदा पुर्याउने कार्य पनि यसले गर्ने छ ।’

नगरपालिकाको एउटा अलग युनिटको रुपमा नलेज बैङ्क खोल्ने र त्यसमा दमक बाहिरबाट समेत आउने बौद्धिक ज्ञानलाई संरक्षण, संबर्धन र प्रोत्साहन गर्ने उनको योजना छ । ‘नलेज बैङ्कमा बुद्धि जम्मा गर्न कुनै शुल्क तिर्नु पर्ने छैन’, नगरप्रमुख रोमनाथ भन्छन्–‘बरु संरक्षणमा राखिएको बुद्धि अरु कतै प्रयोग हुने अवस्थामा रोयल्टी पाउने व्यवस्था मिलाइने छ ।’

पाँच वर्ष पछि कस्तो हुन्छ त दमक ? ‘रतुवा र मावा नदीका किनारमा स्थायी तटबन्ध गरिएको हुनेछ, दमकको सिरानमा बुद्धको मूर्ति हुनेछ र पुछारमा एउटा हरित औद्योगिक उद्यान हुनेछ’, उनी भन्छन्–‘यतिले मात्र होइन दमकमा मुलुककै पहिलो नलेज बैङ्क सञ्चालन हुने छ ।’

…………………

 

anjar amlamअन्जार आलम, अध्यक्ष ः कचनकवल गाउँपालिका

संसारमा ठूलो चरा ‘आस्ट्रिज’प्रति जति चासो छ, सानो ‘हेमिङ बर्ड’प्रति उत्ति नै जिज्ञासा छ । सगरमाथाको एक झलक नजिकबाट हेर्नैका लागि विश्वका कुना कुनाबाट पर्यटकहरु नाम्चे ओइरिन्छन् । त्यसैगरी, ‘मुलुककै होचो’ भूमि भनेर ‘कचनकबल’ हेर्नैका लागि आउने नेपालीहरुको पनि चाहना हुन्छ ।

पर्यटक भित्रिन सडक, होटल, घुमफिर र सुरक्षाको आकर्षक प्रबन्ध हुन जरुरी हुन्छ । समृद्धिको प्रमुख आधार बन्न सक्ने कचनकबलको वृहत्तर प्रबर्धन गर्ने यही सोचलाई गाउँपालिकाका अध्यक्ष अन्जार आलमले आफ्नो पाँच वर्षे ‘ड्रिम’ बनाएका छन् ।

समुुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको कचनकबल स्तम्भ नजिकै पर्यटक लोभ्याउन सकिने ठूला ठूला पोखरी छन् भने चारकोशे जङ्गलमा रैथाने हात्ती पनि छन् । होचो स्थानमा पर्यटक भित्राउने योजनामा ‘पोखरीमा बोटिङ गराएर चारकोशेमा हात्ती देखाउन लैजाने’ सोचलाई फ्युजन गर्ने बताएका छन् अध्यक्ष अन्जारले ।

पूर्वपश्चिम र हुलाकी राजमार्गले छुन नसकेको कचनकबलमा आदिवासी र अल्पसङ्ख्यक समुदायको बसोवास छ । उनीहरुको समृद्धिका लागि कचनकबललाई पर्यटक घुम्नलायक बनाउनुको विकल्प नरहेको बताउँदै अध्यक्ष अन्जारले रिङरोडको निर्माण र होमस्टेको समेत व्यवस्था गर्ने सोच बनाएका छन् ।

उनी भन्छन्–‘कचनकवल स्तम्भ वरिपरि बगैँचासहितको सुन्दर पार्क बनाउँछु, स्वमिङ पुलको व्यवस्था गर्छु, चारकोसे झाडीका हात्तीलाई जङ्गलभित्रै पर्याप्त आहारको व्यवस्था गरेर गाउँतिर आउनै नपर्ने अवस्था सिर्जना गर्छु, अनि कसो नहोला त पर्यटकको ओइरो ?’

…………………

 

dhurbwa siwakotiध्रुव शिवाकोटी, नगर प्रमुख ः विर्तामोड नगरपालिका

राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति स्वस्थ नागरिक हो । लोककल्याण्कारी राज्यले आफ्ना नागरिकको आरोग्यताका लागि निःशुल्क उपचार र विमाको व्यवस्था मात्र गरेका हुँदैनन्, रोग लाग्नै नदिनका लागि स्वस्थ आहार, विहार र जीवनशैलीमा पनि प्रोत्साहित गरिरहेका हुन्छन् ।

व्यक्ति स्वस्थ भए पछि मात्र उसले परिवार, समाज र देशको समृद्धि बारे सोच्न भ्याउँछ । नेपाली समाजमा अन्धाधुन्ध विषादीको प्रयोगले आम नागरिकको स्वास्थ्यमा विकराल समस्या निम्त्याइरहेको वास्तविकतालाई मनन गर्दै विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीले नगर बोर्डको पहिलो बैठकबाट ‘विषादीमुक्त नगर’ बनाउने लक्ष्य अनुमोदन गराएका छन् ।

मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा नगरपालिकाले गर्नु पर्ने कामको चाङमा धेरै योजना छन् । तर उनले ‘विषादीमुक्त नगर’ बनाउने ‘ड्रिम’ नै किन रोजे होला त ? ‘आज कोखमा रहेको अबोध एवम् निर्दोष नानीले पनि जहर खानु पर्दैछ’, कारण बताउँदै उनी भन्छन्–‘हामीले खाने हरेक खाद्य पदार्थमा विषादी मिसिइरहेको हुँदा केही गर्नै पर्र्छ भन्ने सोचेर नै नगरलाई विषादीमुक्त बनाउने योजना अघि सारेका हौँ ।’

हानिकारक रासायनिक मल र किटनासक विषादीको विकल्पमा नगरपालिकाले अग्र्यानिक मल र अग्र्यानिक विषादीको प्रयोग अनिवार्य गराउने सोच बनाएको छ । नगरवासीहरुलाई अग्र्यानिक मल र विषादी बनाउने अभियानको सुरुवातमै एक लाख निमपत्तिको विरुवा बाँड्ने र व्यापक रुपमा अग्र्यानिक उत्पादन सम्बन्धी जनचेतना फैलाउने नगर प्रमुखको योजना रहेको छ ।

कृषि थोक बजारमा तरकारी र फलफुलमा रहेको विषादी परीक्षण गर्ने मेसिन आइसकेको र त्यसको प्राविधिक छिट्टै ल्याएर प्रयोगमा ल्याइने उनले बताए । हानिकारक मात्रामा विषादीको प्रयोग भएको उत्पादनलाई बेच्न नदिइने र नगरभित्र अग्र्यानिक सागसब्जीको अलग बजार सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।

……………….

ramesh bhujelरमेश भुजेल, अध्यक्ष ः बुद्धशान्ति गाउँपालिका

सुन्दर पहाडी जिल्ला इलामसँग उत्तरी सीमा जोडिएको बुद्धशान्तिलाई हरित गाउँपालिकाको रुपमा विकास गर्ने ‘ड्रिम’ बोकेर अघि बढ्दैछन् अध्यक्ष रमेश भुजेल ।

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका अध्यक्ष रमेश अबको आर्थिक उन्नतिसँग पर्यावरणको सवाल गाँसिनु पर्ने बताउँछन् ।

‘भौतिक विकासले मात्र मानव जीवन सुरक्षित हुँदोरहेनछ, वातावरण पनि सुरक्षित हुनुपर्छ’, हरित नगरको सङ्कल्प सुनाउँदै उनी भन्छन्–‘हामीले फेर्ने सास, खाने गाँस र बस्ने बास स्वच्छ र स्वस्थ बनाउन पर्यावरणमैत्री विकासमा ध्यान दिनै पर्ने भएकाले हरित नगर बनाउने सोच बनाएको हुँ ।’

वातावरण स्वच्छ राख्दै स्थानीयवासीको आयआर्जन हुने खालका विरुवा रोप्ने, विद्यालयहरुमा हरित नगर सम्बन्धी अभियान लैजाने, सडक र नदी किनारहरुमा हरियाली हुर्काउने उनको सोच छ ।

सातै वडामा तेजपत्तिको विरुवा रोप्ने अभियान यसै बर्षदेखि गाउँपालिकाको अगुवाइमा सुरु गर्ने अध्यक्ष रमेश बताउँछन् ।

हरित नगरको निर्माणले जैविक विविधताको संरक्षण र अग्र्यानिक चेतना चुलिने उनको विश्वास छ । रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भइरहेको छ भने क्यान्सर, किड्नी फेलियर जस्ता ज्यानमारा रोगको शिकार बनिरहेका छन् झापालीहरु ।

हरियाली बनाउनु भनेको मानिसलाई समृद्ध र स्वस्थ राख्ने दीगो विकास हो भन्ने बुझेका उनी पाँच वर्षभित्र बुद्धशान्तिलाई शान्त, पर्यावरणमैत्री, सभ्य र समृद्ध हरित नगरको रुपमा चिनाउन चाहन्छन् ।

………………

hari ranaहरि राना, नगर प्रमुख ः अर्जुनधारा नगरपालिका

राजनीतिक मानचित्रमा ‘नगर’ लेखिए पनि भौगोलिक रुपमा ‘ग्रामीण वाहुल्य क्षेत्र’ हो अर्जुनधारा । साविकको शनिश्चरे, अर्जुनधारा र खुदुनावारीलाई समेटेको अर्जुनधारा नगरपालिकामा पर्यटन, कृषि र खनिजजन्य उद्योगको सम्भावना छ ।

पाँच वर्षभित्र गर्नु पर्ने धेरै काममध्ये नगर प्रमुख रानाले अर्जुनधारालाई ‘अग्र्यानिक नगर’को रुपमा चिनाउने ‘ड्रिम’ सजाएका छन् । यसका लागि उनले नगरभित्रका ३६ वटा कृषि सहकारीसँग हातेमालो गर्ने सोचाइ बनाएका छन् ।

‘भूटानी शरणार्थी बसेको कैदले क्षेत्रमा ८४ विघा जग्गा खाली छ’, सामूहिक अग्र्यानिक खेतीको योजना सुनाउँदै नगर प्रमुख राना भन्छन्–‘साथीहरुले त्यहाँ हर्बल पार्क बनाउने भन्नु भएको रहेछ, त्यहाँ जग्गा मिलेन भने सालबारीमा १२ विघा सरकारी जग्गा छ, त्यहीँ पनि अग्र्यानिक नमुना खेती थाल्न सकिने छ ।’

अर्जुनधारा नगरभित्र कृषि सहकारीहरुको सक्रियता धेरै भएको र कृषिमै भविष्य खोजिरहेको जनसङ्ख्यालाई उद्यमशील बनाउन सकिने अवसर भएकाले ‘अग्र्यानिक सामूहिक खेती’तर्फ नगरपालिकाले हात हाल्न लागेको उनको भनाइ छ ।

२०४९ र २०५९ सालमा शनिश्चरे गाविसको अध्यक्ष निर्वाचित भइसकेका उनी अर्जुनधारा नगरपालिका बनेपछिको पहिलो नगर प्रमुख हुन् । जनसेवामा खारिएका र भूगोलको आवश्यकतालाई सुक्ष्म रुपमा चिनेका अनुभवी जनप्रतिनिधि राना अर्जुनधारामा चितवन रामपुरको जस्तो कृषि कलेज र स्कुल खोल्ने सोचाइमा पनि छन् ।

कृषिमा आधुनिकीकरण र सहकारीकरणले मुलुकको कायाकल्प हुने बताउँदै जापान, इजरायल, चीन र भारतले कृषि क्षेत्रमा गरेको प्रगतिबाट नेपालले सिक्नु पर्ने धारणा व्यक्त गर्छन् ।

अर्जुनधाराको अग्र्यानिक कृषि उपजले मुलुकभित्र मात्र नभएर भारत र बङ्गलादेशसम्म बजार पाउन सक्ने उनी बताउँछन् ।

……………..

 

rohitkumar shaरोहितकुमार साह, नगर प्रमुख ः गौरादह नगरपालिका

‘गौरादहको बजारैमा…’ बोलको गीतले मुलुकभर चिनिएको गौरादह नगर क्षेत्रमा एउटा रमणीय पर्यटकीय स्थलको समेत निर्माण हुन नसक्नु विडम्बना हो । नगर प्रमुख रोहितकुमार साहले नगरको पहिचानसँग जोडिएको गौरादह पोखरीलाई संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने ‘ड्रिम’ प्रस्तुत गरेका छन् ।

गौरादह नगरको पहिलो प्रमुख साहले पाँच वर्षभित्रमा गौरादहलाई ‘सुन्दर र समृद्ध’ तुल्याउने बाचा गरेका छन् । गौरादहका पोखरीको व्यवस्थापन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यसैले नै गौरादहको समग्र विकासमा टेवा पु¥याउन सक्नेमा उनी विश्वस्त छन् ।

नगर प्रमुख साह पञ्चवर्षीय योजना अन्तर्गत गौरादहको पहिचानसँग जोडिएको लगभग १३ विगाहामा फैलिएको पोखरीलाई व्यवस्थित गर्न तीन करोड लाग्ने बताउँछन् ।

यसका लागि गुरुयोजना निर्माण गर्ने र केन्द्र एवम् प्रदेश सरकारसँग विकासमा साझेदारी गर्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछन् ।

पोखरीका डिलमा रहेको अतिक्रमण हटाएर गुरु योजनाका साथ नक्साङ्कन कार्य सम्पन्न भएको बताउँदै नगर प्रमुख साहले घेराबाराको काम थालिएको बताए ।

पोखरीलाई मस्य पालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्राम स्थल सहितका फूलबारी निर्माण गर्ने, बोटिङ चलाउने, चिल्ड्रेन पार्क, बालबाटिका, जातीय सङ्ग्रहालय र बनभोज स्थल बनाइने गुरुयोजनामा उल्लेख छ ।

पोखरी व्यवस्थापन र पर्यटकीय स्थल निर्माणको पहिलो चरणमा २२ लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ ।

पूर्व पश्चिमको १० किमि दक्षिणमा पर्ने यस नगरमा पुग्न यातायातको सुगमता छ । नगरको कूल क्षेत्रफल १४९.८६ वर्ग किमि छ भने जनसङ्ख्या ४७ हजार ३ सय ९३ रहेको छ ।

 

……………….

rajendra phokrelराजेन्द्र पोखरेल, नगर प्रमुख ः कनकाई नगरपालिका

‘लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ..’ राजनीतिक सङ्घर्षका दिनहरुमा यस्तै जनवादी गीत गुनगुनाउँदै हिड्ने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलको काँधमा अब तिनै ‘उजाड लाखौँ’का लागि केही गर्नु पर्ने जिम्मेवारी आइपुगेको छ ।

‘कनकाईमा कसैले पनि आफुलाई सुकुम्वासी हुँ भनेर चिनाउनु नपरोस्’, आफ्नो पाँच वर्षे कार्यकालको ‘ड्रिम’ सुनाउँदै नगर प्रमुख पोखरेल भन्छन्–‘अनुकूल भयो भने हामी २ वर्षभित्रैमा सबै सुकुम्वासीलाई कि घर कि जग्गाको धनीपूर्जा दिइसक्ने छौँ ।’

कनकाईमा वर्षौदेखि जग्गा भोगचलन गरिरहेका झण्डै ३५ प्रतिशतसँग धनीपूर्जा छैन । अव्यवस्थित बसोवासको विकराल समस्यालाई छिचोलेर एउटा व्यवस्थित नगरको रुपमा समृद्धि सपना सजाउँदै जाँदा नगर प्रमुखले ‘व्यवस्थित बसोवास’लाई आफ्नो प्राथमिकता ठम्याएका हुन् ।

नगरभित्र कति जग्गाको धनीपूर्जा छैन, सुकुम्वासी कति छन्, कति घरविहीन छन् भन्ने जस्ता विषयमा चालू वर्षदेखि नै तथ्याङ्क सङ्कलन गर्ने उनको योजना छ । नगरपालिकाले कार्यालय प्रयोजनमा लगाइरहेको आफ्नै जग्गाको समेत धनीपूर्जा छैन । हरेक वर्ष २ सय विपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गर्ने र जोतभोगका आधारमा धनीपूर्जा दिने मात्र नभएर बाहिरबाट बसाइ सराइ आउनेहरुसँग नगरभित्र जग्गा वा घर छ कि छैन भनी कडाइका साथ हेक्का राखिने समेत उनको सोचाइ छ ।

कनकाई र विरिङ नदीको काखमा रहेको कनकाई नगरमा २ वर्षभित्र सबैका घरमा ‘उज्यालो’ र ५ वर्षभित्र ‘स्वच्छ पिउने पानी’ पुर्याउने उनको थप योजना छन् ।

……………….

chandra shresthaचन्द्रकुमार शेर्मा, नगरप्रमुख ः शिवसताक्षी नगरपालिका

नकाई नदीको पश्चिम किनारमा रहेको शिवसताक्षी नगरमा सतासीधाम, दोमुखा, चिल्लागढ, माइधार लगायतका प्रख्यात पर्यटकीय स्थल छन् । गाउँ नै गाउँले भरिएको उर्वर खेतीयोग्य भूमि र उत्तरतिर चुरे पहाडसँग जोडिएको जङ्गल पनि नगरको समृद्धिको आधार बन्न सक्छ ।

प्रकृतिले धेरै उपहार दिए पनि यस नगरमा सडकको सञ्जाल ज्यादै कमजोर छ । यही अवस्थालाई दृष्टिगत गर्दै नगर प्रमुख चन्द्रकुमार शेर्माले आगामी ५ वर्षभित्र नगरका ११ मध्ये ९ वटा वडालाई जोड्ने ‘रिङ रोड’ निर्माणलाई नै आफ्नो ‘ड्रिम’ बनाएका छन् ।

‘सडक नबनाई अरु विकासको कुरै गर्न नहुने जटिल समस्यामा छौँ हामी’, नगर प्रमुख चन्द्रकुमार भन्छन्–‘पर्यटक आकर्षण गर्न सकिने अनेक सम्भावना छन्, तर सडक नै नबनाए कहाँबाट आउछन् ?’ उनले नगरको ‘रिङ रोड’ करीव ५० किलोमिटरको हुने अनुमान गरेका छन् ।

चालीस बर्षको राजनीतिक जीवनमा पहिलोपल्ट जननिर्वाचित प्रतिनिधि बन्ने अवसर पाएका उनले ‘रिङ रोड’लाई ५ वर्षभित्र कालोपत्रे गरेरै छाड्ने समेत अठोट गरेका छन् ।

हरेक वडालाई पहिलो वर्ष नै ५० लाख समानुपातिक बजेट दिएर विकासप्रति झुकाव देखाएका उनले सतासीधाम मन्दिर र दोमुखा क्षेत्रको पर्यटकीय प्रबर्धन गर्न बहुउद्देश्यीप परियोजना सञ्चालन गर्ने सोच बनाएका छन् ।

बर्षेनी लाखौँ पर्यटक भित्राउने वातावरण बनाउन सकियो भने नगरवासीको मुहार बदल्न सकिन्छ । ‘यहीकारण मैले समृद्धिका लागि सडक बनाउने योजनालाई मूल प्राथमिकतामा राखेको हुँ’–नगर प्रमुख चन्द्रकुमार बलियो आत्मविश्वास व्यक्त गर्छन् ।

……………….

jayanarayanजयनारायण साह, अध्यक्ष ः झापा गाउँपालिका

चुनावमा भोट माग्दा जाँदा ‘जितेपछि सडक बनाइदिनु पर्छ’ भनेर जनताले गरेको आग्रह झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बिर्सेका छैनन् ।

विकासको पूर्वाधार निर्माणमा प्राथमिकता दिदै गर्दा उनले पाँच वर्षभित्रमा सात वटै वडाको सडकलाई ‘साइकललेन सहितको कालोपत्रे’ बनाउने ‘ड्रिम’ सजाएका छन् । हाल गाउँपालिकाभित्र एउटा पनि सडक पीच भएको छैन ।

५९ वर्ष अघिसम्म झापाको सदरमुकाम यहीँ थियो । चन्द्रगढीमा सदरमुकाम सारिएपछि यो ठाउँ विकासका दृष्टिले अहिलेसम्म ओझेलमै परेको छ । इतिहासले ठगेको झापा बजार समृद्धिको नयाँ पर्खाइमा छ । जसको नेतृत्व अब अध्यक्ष जयनारायणले गर्नु पर्ने भएको छ ।

‘अरु नगर र गाउँको तुलनामा हामी विकासमा ५० वर्ष पछाडि पर्यौँ होला, तर अब ५० वर्ष अगाडिसम्मका लागि सोच्नु पर्ने बेला भयो नि’, दूरदर्शी सोचका साथ उनी आफ्नो सडक योजना सुनाउँछन्–‘सबै वडाका मुख्य सडक पीच गर्ने छु र ती सडकमा साइकल गुडाउने छुट्टै आधुनिक प्रकृतिको ‘लेन’ पनि हुने छ ।’

विद्युतिकरण र नदी तटबन्धनको माग पनि स्थानीयबासीले चर्को रुपमा उठाइरहेका छन् । गाउँपालिकाको पहिलो बोर्ड बैठकले ती कामसँगै सडक बनाउने योजनालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ ।

गाउँको सडक कसरी बनाउनु पर्दोरहेछ भनेर अन्यत्रका मानिस हेर्न आउन् भन्ने उनको सोच छ ।

……………..

baburaja shresthaबाबुराजा श्रेष्ठ, अध्यक्ष ः गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ गाउँ जान्छन् र त्यहाँको सडक नियाल्छन् । गाउँलेको कुरा सुन्छन्–‘राम्रो सडक भए त गाउँको उपज बजार लगेर बेच्न सजिलो हुने थियो ।’ उद्योगीहरुको गुनासो पनि उस्तै छ–‘गतिलो सडक भए पो उद्योग धन्धा पनि खुल्छन् ।’ सर्वसाधारणहरुको झन् ठूलो पीर छ–‘विरामी हुँदा एम्बुलेन्स आउन सक्ने बाटो कहिले बन्ला ?’

जनताकै दुःखहरणका लागि समर्पित अध्यक्ष बाबुराजाले पाँच बर्षभित्र गौरीगञ्जका सबै गाउँ जोड्ने सडकलाई कम्तीमा उच्चस्तरको ग्राभेल गर्ने अठोट गरेका छन् । विकासको मियो भनेकै सडक भएको हुँदा उनले यसैलाई आफ्नो ‘ड्रिम’ मानेका छन् ।

गौरीगञ्जको ग्रामीण सडक र हुलाकी राजमार्गमा अधुरा पुलहरु छन्, तिनलाई बनाउनु छ । गाउ“ नै गाउ“ले भरिएको यस गाउ“पालिकामा वेरोजगारीको विकराल समस्या छ । सडक सञ्जाल निर्माण भयो भने आवातजावत हुन्छ, किनमेल बढ्छ, बजार विस्तार हुन्छ, विभिन्न उद्योगहरू स्थापना भई रोजगारीका अवसरहरू सिर्जना हुने उनको विश्वास छ ।

बाबुराजाले २१ वर्ष अघि खजुरगाछी गाविसको चुनावमा अध्यक्षको उम्मेद्वार बन्दा पनि सडक निर्माणलाई नै आफ्नो मुख्य प्रतिबद्धता बनाएका थिए । त्यसबेला चुनाव हारेका उनले यसपटक पुरानो ‘ड्रिम’ साकार तुल्याउने अवसर पाएका छन् ।

नौ वटा ग्रामीण पुल र हुलाकी राजमार्ग निर्माणले नै गौरीगञ्जको का“चुली फेर्ने उनको ठम्याई छ । । ग्रामीण सडक कम्तीमा ६ मिटर चौडाइको हुने र त्यसको निर्माणमा २० प्रतिशत लागत सहभागिता उपभोक्ताले व्यहोर्नु पर्ने उनको सोच छ ।

नेपाल सरकारले गौरीगञ्जलाई नमुना सहर बनाउने घोषणा गरेको छ । पाँच वर्षभित्र सबै गाउँमा ग्राभेल सडक पुर्याए भने नमुना सहर निर्माणमा सघाउ पुग्ने नै छ, यसले बाबुराजालाई गौरीगञ्जको ‘बाबु’ र ‘राजा’ दुबै सावित गर्ने छ ।

………………..

khadka rajbansiखड्ग राजबंशी, अध्यक्ष ः बाह्रदशी गाउँपालिका

निन्छ अँध्यारोलाई सरापेर समय खेर फाल्नु भन्दा एउटा मैनबत्ती सल्काउनु जाति हुन्छ । झापाकै सबैभन्दा बढी लोडेसेडिङ खेपिरहेको गाउँबासीको पीडामा मल्हम लगाउन बाह्रदशीका अध्यक्ष खड्ग राजबंशी सिङ्गो गाउँपालिकालाई उज्यालो बनाउने अभियानमा होमिएका छन् ।

उनले एक वर्षभित्रैमा गाउँपालिकालाई अँध्यारोमुक्त तुल्याउन आवश्यक सबै साधन स्रोत परिचालन गर्ने बताए । ‘अरुतिर उज्यालोको चर्चा हुन्छ’, गाउँबासीको नियति दर्शाउँदै उनी भन्छन्–‘विकासमा सँधै हेपिएको हाम्रो बाह्रदशीमा जहिल्यै लोडसेडिङ भइरहन्छ ।’

पाँच वर्षमा पाँच वटा मुख्य काम सक्ने लक्ष्य बनाएका अध्यक्ष खड्गले ‘उज्यालो बाह्रदशी’ कार्यक्रम अन्तर्गत सबै गाउँवस्तीमा विजुलीका पोल, तार र ट्रान्सफर्मर पुर्याउने तयारी गरेका छन् । यो काम पहिलो वर्षमै पूरा गर्ने उनको बाचा छ ।

बाह्रदशी मात्र झापाको यस्तो स्थानीय तह हो, जहाँ एउटा पनि सडक कालोपत्रे भएको छैन । न त यहाँ कुनै सिञ्चाइको परियोजना नै छ । एउटा पनि क्याम्पस छैन । राम्रो सडकको व्यवस्था नभएका कारण विद्यार्थीहरु खोलाको बगर र खेतका आली छिचोलेर पढ्न जान्छन् ।

‘गर्नु पर्ने काम धेरै छन्’, गाउँपालिकालाई सुन्दर र समृद्ध बनाउन कुनै कसर बाँकी नराख्ने सङ्कल्प बोकेका अध्यक्ष खड्ग भन्छन्–‘बाटो बनाउने छु, पुल बनाउने छु, तर सबैभन्दा पहिला बाह्रदशीलाई उज्यालो बनाउँछु ।’

(लोकतन्त्र पोस्ट दसैँ म्यागेजिनमा प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: