यी हुन् मेचीनगरका उम्मेदवार

  प्रकाशित मिति
८ चैत्र २०७३, मंगलवार ०९:१९


meyar ka mepaka
सर्वेक्षणमा आधारित
अठार बर्ष पछि हुन लागेको स्थानीय तहको चुनावको चहलपहल हरेक मतदाताको आँगनसम्म आइपुगेको छ । बैशाख १६ गते उम्मेदवारहरुको मनोनयन हुने र बैशाख ३१ गते मतदान हुने गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको हुँदा यतिबेला सिङ्गो मुलुक चुनावी उत्सवमा होमिइसकेको छ ।

यो चुनावी उत्सवको माहोलबाट १ लाख ११ हजार ७ सय ९७ जनसङ्ख्या भएको सुदूरपूर्वको मेचीनगर नगरपालिका पनि क्रमशः तात्दै गएको छ । चुनावको मुख्य सारथी राजनीतिक दलहरुले टोल टोलसम्म कार्यकर्ताको भेला र बैठकलाई घनिभूत तुल्याउन थालिसकेका छन् भने सम्भावित उम्मेदवारहरुको नाम सामाजिक सञ्जाल र चिया गफमा समेत चर्चाको विषय बन्न थालिसकेको छ ।

चुनावमा कसले जित्ला र कसको जनाधार कति छ भन्नेतिर भन्दा पनि यतिबेला कस्ता अनुहारहरु भोट माग्दै आउलान् भन्नेतिर आम नगरवासीको चासो बढ्दैmeyar menpa 2 गएको देखिन्छ । लामो अवधिपछि र राज्यको नयाँ पुनर्सँरचना बमोजिम अधिकारसम्पन्न स्थानीय सरकारकै स्वरुपमा हुन लागेको चुनावमार्फत नगर सत्ताको नेतृत्व लिन दल तथा नेताहरुको दौडधुप स्वाभाविकै लाग्छ ।
यही सन्दर्भमा लोकतन्त्र पोस्ट र रेडियो सरगमले संयुक्त रुपमा मेचीनगरको प्रारम्भिक चुनावी सरगर्मीलाई नजिकबाट नियालेर मेयर र उपमेयरका सम्भावित उम्मेदवारहरुको विवरण सङ्कलन गरेको छ । जसलाई पत्रिका र रेडियोसहित दुबै मिडियाका अनलाइनमार्फत एक साथ प्रस्तुत गर्दैछौँ ।

सम्भावित उम्मेदवारहरुको चर्चा सामाजिक सञ्जाल, चिया गफ र अनौपचारिक छलफलहरुमा भइरहेका छन् । हामीले तिनै चर्चाहरुलाई यस रिपोर्टमा थपक्कै ‘कपी पेस्ट’ गरेका होइनौ । कतिपय आकांक्षीहरुले पत्रकारलाई आफ्नो नाम पनि समावेश गरेर उम्मेदवारहरुको मनगढन्ते सूची प्रकाशन प्रशारण गरिदिन जोडबल गरिरहेका हुन्छन् । हामीले त्यसलाई पनि हाम्रो प्रतिबेदनको आधार बनाएका छैनौँ । लोकतन्त्र पोस्टका दुई र रेडियो सरगमका दुई जना पत्रकारले चैत ३, ४, ५, ६ र ७ गते (पाँच दिन) स्थलगत अध्ययन र खोज गरेर मेचीनगरका मेयर र उपमेयरका सम्भावित उम्मेदवारहरुको नाम सङ्कलन गरेका छन् । जसको नेतृत्व लोकतन्त्र पोस्टका तर्फबाट सम्पादक मोहन काजी र रेडियो सरगमका तर्फबाट प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले गरेका छन् ।

हाम्रो अध्ययन टोलीले विभिन्न चरणमा राजनीतिक दलका शीर्ष तहका नेता, क्रियाशील कार्यकर्ता, बुद्धिजीवी, स्वतन्त्र विश्लेषक, आदिवासी जनजाति अगुवा, महिला नेतृ र सर्वसाधारणसँग सम्भावित उम्मेदवारहरुको बारेमा प्रत्यक्ष अन्तक्र्रिया गरेको छ । भेटघाटमा संलग्न अधिकांश महानुभावहरुले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरेको हुँदा यस रिपोर्टमा उनीहरुलाई ‘कोट’ गरिएको छैन ।

हामीले १०० जनालाई अध्ययन क्रममा भेटघाट गरेका छौँ । जसमा राजनीतिक तहका नेता तथा कार्यकर्ताको सङ्ख्या आधा जति छ । हरेकलाई हाम्रो एउटै प्रश्न थियो–‘हरेक दलबाट मेयर र उपमेयर पदमा उम्मेदवार बन्न सक्ने ३÷३ जनाको नाम के होला ?’ जसमा मेयर पदका लागि कम्तीमा एक जना महिलाको नाम भनिदिन आग्रह गरेका थियौँ । तर ‘केही’ बाहेक महिलालाई मेयरको उम्मेदवारको रुपमा कसैले नाम लिएनन् । महिलालाई अधिकांशले उपमेयरको उम्मेदवारको रुपमा लिएका छन् । बरु सम्भावित उम्मेदवारहरुको नाम उनीहरुले ३ जनाभन्दा बढी नै सुनाए ।

चुनावमा दल वा स्वतन्त्र माध्यमबाट उम्मेदवारी दिन पाइन्छ । झापामा ३१ दल दर्ता छन् र मेचीनगरमा एक दर्जनभन्दा ज्याद दल कुनै न कुनै रुपमा क्रियाशील छन् । तर हामीलाई नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, सङ्घीय समाजबादी फोरम र नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बन्न सक्नेहरुको नाम मात्र सर्वेक्षणका सहभागीहरुले बताउन सके । जसका कारण अरु दलहरुको सम्भावित उम्मेदवारहरुलाई यस रिपोर्टमा समावेश गर्न असमर्थ भयौँ । सर्वेक्षणका कतिपय सीमा हुन्छन्, यी ६ दल वाहेक अन्यको चर्चा गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौँ ।

हाम्रो विश्वास के छ भने हामीले सर्वेक्षणका क्रममा पाएको र त्यसलाई सूचीकृत गरिएको पहिलो, दोस्रो र तेस्रो नाम बाहिरबाट उम्मेद्वारहरु छनोट नहुन सक्छन् । उनीहरु नै आफ्नो दल भित्र र बाहिर पनि सर्वाधिक चर्चामा छन् । राजनीतिक दलका उम्मेदवार तिनै दलहरुले निश्चित प्रक्रिया अपनाएर चयन गर्ने हो । उम्मेदवार तोकिदिने काम मिडियाको होइन भन्ने हामीले बुझेका छौँ । तर, लोकतन्त्रको आधारभूत तहसम्म अभ्यास गर्ने सबैभन्दा ठूलो अवसर स्थानीय चुनाव नै भएकाले आम मतदातामा जागरुकता सिर्जना गर्ने दायित्वको निर्वाह गर्ने हाम्रो यो प्रयासलाई आत्मसात गरिने अपेक्षा गरेका छौँ । सर्वेक्षणको यो समाचारलाई उम्मेदवारको घोषणाको रुपमा नबुझिदिनु हुन हामी सरोकारवाला सबै पक्षलाई विनम्र निवेदन गर्दछौँ ।

काङ्ग्रेसबाट पहिलो नम्बरमा विमल

आसन्न चुनावमा मेचीनगरको मेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेद्वारको टिकट पाउनसक्ने नेताहरुको सूचीमा काँकरभिट्टाका विमल आचार्य पहिलो नम्बरमा छन् ।

उनी पार्टीको जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भइसकेका सामाजिक व्यक्तित्व हुन् । काँकरभिट्टा क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका उनी विभिन्न सामाजिक संस्थाको स्थापना र विकास निर्माणसँग प्रत्यक्ष जोडिदै आएका छन् ।

दावेदारहरुको सूचीमा पार्टीका जिल्ला उपसभापति राम कट्टेल दोस्रो नम्वरमा छन् । विमल आचार्यको मुख्य विकल्पमा धुलावारीका कट्टेलको नाम आएको छ ।

तत्कालीन धुलावारी गाउँ विकास समितिको अध्यक्ष भइसकेका र २०५४ सालमा नगरपालिका गठन भए पछि पार्टीको तर्फबाट मेयर पदमा चुनाव लडेका उनी शालीन एवम् अग्रणी नेतामध्येका हुन् । उनले हालै मेची अञ्चल अस्पताल विकास समितिको अध्यक्षको समेत जिम्मेवारी पाएका छन् ।

पहिलो नम्बरका आचार्य र दोस्रो नम्वरका कट्टेलको विकल्पमा उम्मेदवारको खोजी भयो भने पार्टीको क्षेत्रीय राजनीतिमा लामो अवधिसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका मणिकुमार उप्रेती उम्मेदवारहरुको दौडमा तेस्रो नम्वरमा छन् ।

मेचीनगरको पूर्व जनप्रतिनिधि समेत रहेका सबैसँग मिल्न सक्ने र स्थानीय निकायमा राम्रो पकड भएका उनले मेयरको टिकटको अपेक्षा गर्नु अस्वाभाविक होइन ।

ठूलो जनाधार भएको काङ्ग्रेसमा उपमेयरको टिकट महिलाले पाउने पक्कापक्की भएको छ । मेयर वा उपमेयर एउटामा महिला अनिवार्य उम्मेदवार बनाउने कानूनी बाध्यता भएकाले पार्टीका तर्फबाट मेयरमा पुरुषको चर्चा मात्रै भएकाले महिलालाई उपमेयरको उम्मेदवार बनाउने पार्टीको तयारी देखिन्छ ।

उपमेयरको उम्मेदवार बन्ने दौडमा धुलावारीकी दुर्गा खतिवडा सबैभन्दा अगाडि देखिएकी छन् । पार्टीको भगिनी सङ्गठन नेपाल महिला सङ्घको विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालेकी र पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी उनी हाल सहकारी आन्दोलनको नेतृत्व पनि गरिरहेकी छन् ।

उपमेयर उम्मेदवारको दौडमा काँकरभिट्टाकी काङ्ग्रेस नेतृ डम्बरकुमारी थापा दोस्रो नम्वरमा र धुलावारीकी क्षेत्रकी कुसुम कोइराला तेस्रो नम्वरमा रहेकी छन् । थापा पार्टीको जिल्ला सदस्य र कोइराला महिला सङ्घकी जिल्ला सदस्य हुन् ।

पार्टीले मेयरमा धुलावारी क्षेत्रबाट उम्मेदवार बनाउने भएमा उपमेयरको उम्मेदवार काँकरभिट्टा क्षेत्रबाट बनाउने सम्भावना हुन्छ । तसर्थ काँकरभिट्टाका विमल आचार्य मेयरको उम्मेदवार बनेमा धुलावारीकी दुर्गा खतिवडाको उपमेयरको टिकट पक्का हुने देखिन्छ भने मेयरको टिकट धुलावारीकै व्यक्तिलाई दिइयो भने उपमेयरको टिकट काँकरभिट्टातिर सर्ने सम्भावना प्रबल हुन्छ ।

यी भए पहिलो, दोस्रो र तेस्रो नम्वरको विकल्पमा रहेका उम्मेदवारहरु । तर मेयर र उपमेयरको आकांक्षी पार्टीभित्र एक दर्जनको सङ्ख्यामा रहेका छन् । धुलावारी र काँकरभिट्टाबाट मात्र होइन, भर्खरै मेचीनगरमा समायोजन भएका धाइजन, ज्यामिरगढी, दुहागढी र बाहुनडाँगीबाट समेत ती पदमा उठ्ने औकात पुगेका थुप्रै नेता कार्यकर्ता छन् ।

जस्तो कि इटाभट्टाका पुष्पराज पौडेल, ज्यामिरगढीका केशवराज पाण्डे र धाइजनका तिलक गिरीको नाम पनि हाम्रो सर्वेक्षणका सहभागीहरुले उल्लेख गरेका छन् । अधिवक्ता अशोक पोखरेलको नाम पनि सम्भावित उम्मेदवारहरुको सूचीमा परेको छ ।

काङ्ग्रेसका नीति र सिद्धान्त राम्रोसँग बुझेका र अरुलाई बुझाउन सक्ने क्षमता भएका पौडेल धुलावारी क्याम्पसका प्रमुख पनि हुन् । ज्यामिरगढी र इटाभट्टा दुबैतिर घर भएका पाण्डे पार्टीका वर्तमान जिल्ला कोषाध्यक्ष एवम् युवा नेता हुन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य समेत हुन् । महासमिति सदस्य गिरी जिल्ला र केन्द्रीय बन पैदावर व्यवसायी सङ्घका अगुवा हुन् । पोखरेल नेपाल वार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष भइसकेका अब्बल कानूनी ज्ञाता हुन् ।

प्रेम सम्बाहाम्फे, भरत सुब्बा, नरेन्द्र खड्का, तारावीर कटुवाल, विजय डालमिया र इन्द्र बुढाथोकीको नाम समेत सर्वेक्षणका क्रममा सम्भावित उम्मेदवारको रुपमा आएको छ ।मैया उप्रेती, रचना घिमिरे, राधा कार्की, रुपा खतिवडा, मालती विष्ट र शान्ता निरौलाको नाम महिला सम्भावित उम्मेदवारको रुपमा आएको छ ।

एमालेको दौडमा प्रसाइँ अगाडि
धाइजन निवासी नेकपा एमालेका प्रभावशाली नेता विष्णु प्रसाइँ मेचीनगरको मेयर पदको टिकट पाउने दौडमा सबैभन्दा अगाडि छन् ।
झापा जिल्ला विकास समितिको उपसभापति भइसकेका र पहिलो संविधानसभाको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनिसकेका अनुभवी एवम् पुराना नेता प्रसाईको नाम हाम्रो सर्वेक्षणका क्रममा पहिलो नम्वरमा आएको हो ।

पार्टीको सङ्गठन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेको कारण लोकप्रिय एवम् निष्कलङ्कित छवि बनाएका धुलावारीका गोपाल बुढाथोकी मेयरको टिकट पाउनेको सूचीमा दोस्रो नम्वरमा छन् ।

पार्टीको जिल्ला सचिवालय सदस्य, क्षेत्रीय इञ्चार्ज लगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनले यस अघि स्थानीय निकाय एवम् संसदीय मोर्चामा कुनै पनि जिम्मेवारी पाएका छैनन् ।

काँकरभिट्टा गाविस छँदा त्यसमा पार्टीका तर्फबाट अध्यक्ष पदको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका चलायमान नेता डिल्लीराम घिमिरे मेयरको टिकटको हकदार भए पनि हाम्रो सर्वेक्षणमा उनको स्थान तेस्रो रहेको छ । प्रसाई र बुढाथोकीको विकल्पको रुपमा उनको नाम आएको छ ।

यसैगरी, उपमेयरमा नेकपा एमालेले पनि काङ्ग्रेसकै जस्तो महिलालाई उम्मेदवार बनाउने नीति अख्तियार गरेको देखिन्छ ।
धुलावारीकी दुर्गा (रेणुका) डाँगी, काँकरभिट्टाकी मीना पोखरेल उप्रेती र काँकरभिट्टाकै सुभद्रा भट्टराई अर्याल उपमेयरको टिकट दौडमा टप थ्री स्थानमा छन् ।

सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिकामा रहेकी डाँगी पहिलो स्थानमा रहेकी छन् भने उप्रेती र अर्याल क्रमशः दोस्रो र तेस्रो ट्रयाकमा छन् ।
बलियो जनाधार बनाएको एमालेमा मेयर र उपमेयरको आकांक्षीहरु धेरै छन् ।

टप थ्रीमा नपरे पनि मेयर र उपमेयरको उम्मेदवार बन्न सक्ने क्षमता भएका एमाले नेताहरु बन्धन मुण्डा, श्रीप्रसाद मैनाली, लक्ष्मी उप्रेती, निलकण्ठ तिवारी, देबकुमार राई, राजु पोखरेल, भीम खवास, हरिचरण बानियाँ, दिपक भण्डारी, रामचन्द्र उप्रेती, शारदा शर्मा, सङ्गीता थापा, बादलु खड्काको नाम समेत सर्वेक्षणका क्रममा आएको छ ।

माओबादीमा यज्ञराज कि हंशलाल
दश बर्षे जनयुद्धबाट संसदीय खुला राजनीतिमा आएको नेकपा माओबादी केन्द्रले मेचीनगरको चुनावमा काँकरभिट्टाका क्याम्पस प्रमुख यज्ञराज प्रसाई, प्रखर आदिवासी नेता हंशलाल राजबंशी र युवा नेता प्रकाश भण्डारीमध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ ।

हाम्रो सर्वेक्षणले मेयरको टिकट पाउने दौडमा प्रसाई र राजबंशी उन्नाइस–बीसको हाराहारीमा रहेको देखाएको छ । उनीहरुको विकल्पमा धुलावारीका भण्डारीको नाम आएको छ । राजबंशी दुहागढीका र प्रसाई इटाभट्टाका हुन् ।

उपमेयरको टिकट पाउने दौडमा लीला राजबंशी, अनिता पाठक र इन्दिरा कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो देखिएका छन् ।
मेयर र उपमेयरको दौडमा माधव अर्याल, नरेन्द्र मेचे गछाम र कृष्णकुमारी सुबेदीको नाम समेत सर्वेक्षणबाट आएको छ ।

राप्रपामा अशोक, कल्याण र माया
हिन्दु राज्य र संबैधानिक राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बन्ने प्रतिष्पर्धामा बाहुनडाँगीका अशोक सुब्बा पहिलो नम्बरमा छन् ।

पार्टीबाट संविधानसभाको चुनावमा समेत उम्मेदवार बनिसकेका पुराना प्रतिबद्ध नेता सुब्बाको विकल्पमा धुलावारीका प्रभावशाली नेता कल्याण खड्काको नाम आएको छ । टिकटको दौडमा तेस्रो नम्वरमा प्रभावशाली महिला नेतृ माया गुरुङको नाम आएको छ ।

मेयरको दौडमा दोस्रो नम्वरमा रहेका खड्का शाहीकालका मेचीनगरका मेयर हुन् भने प्रखर महिला वक्ता गुरुङ तत्कालीन धुलावारी गाउँ पञ्चायतकी उपप्रधानपञ्च हुन् ।

उपमेयरको उम्मेदवारमा राप्रपाले दुहागढीकी महिला नेतृ सबिना बजगाइँ, धुलावारीकी सुनिता शर्मा र काँकरभिट्टाकी शारदा पराजुलीमध्ये एकलाई टिकट दिने निश्चित जस्तो देखिन्छ । तर दौडमा माओबादी छाडेर राप्रपा आएकी बजगाई अग्रपङ्तिमा छिन् ।

विगत केही बर्षदेखि जनाधार बलियो तुल्याउँदै लगेको राप्रपामा मेयर र उपमेयरका आकांक्षीहरुको सूची लामै आएको छ । जसमा रमेश दाहाल, सुशिल आचार्य, गौरीलाल श्रेष्ठ, गणेशकुमारी न्यौपाने र तुलसा ढुङ्गानाको नाम आएको छ ।

नयाँ शक्तिबाट मेयरमा महिला
नयाँ सोच र नयाँ भिजनका साथ राजनीतिमा होमिएको बताउने नयाँ शक्ति पार्टीले मेचीनगरमा मेयरमा महिलालाई उम्मेदवार बनाउने बलियो सम्भावना छ ।

प्रखर वक्ता एवम् नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य पनिता ढकाल मेचीनगरको मेयरको उम्मेदवार बन्ने दौडमा पहिलो नम्वरमा रहेको हाम्रो सर्वेक्षणले देखाएको छ । उनी महिला समन्वय समिति मेचीनगरकी उपाध्यक्ष भइसकेकी हुन् ।

उनको विकल्पमा नयाँ शक्तिको तर्फबाट मेयरमा टिकट पाउनेको सूचीमा काँकरभिट्टाका पुष्प पौडेल र नरेश लावती क्रमशः दोस्रो र तेस्रो नम्वरमा रहेका छन् ।

तार्किक क्षमताका धनी पौडेल पार्टीको मेचीनगर संयोजक हुन् भने लावती बौद्धिक युवा एवम् सामाजिक स्वयम्सेवक सङ्गठनका नेता हुन् ।
नयाँ शक्तिले मेयरमा महिलालाई उम्मेदवार बनाएमा उपमेयरमा पुरुषलाई उम्मेदवार बनाउनु पर्ने बाध्यता छ ।

मेयर र उपमेयर पदका अन्य आकांक्षीहरुमा बीरु श्रेष्ठ, एसपी लुइँटेल, गोकुल हुमागाइँ र कमला पराजुलीको नाम सर्वेक्षणबाट आएको छ ।
हामीले सङ्घीय समाजवादी फोरमबाट मेयर र उपमेयरमा सम्भावित उम्मेदवारहरुको नाम सङ्कलन गरेका छौँ । तर सो पार्टी हाल चुनाव वहिष्कार अभियानमा रहेको पार्टीका जिल्ला उपाध्यक्ष केवल राईले बताएका छन् । तसर्थ हामीले समाजबादी फोरमका उम्मेदवारहरुको सूची सार्वजनिक गरेनौ ।

(यो समाचार रेडियो सरगम ८८.८ मेगाहर्जको समाचारमा, लोकतन्त्र पोस्ट दैनिक र अनलाइन संस्करण   loktantrapost.com र रेडियो सरगमको अनलाइन संस्करण radiosargam.org.np मा पढ्न, हेर्न र सुन्न सकिने छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: