मेचीनगर, ६ भदौ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएको मेचीनगरमा आइसोलेसन वार्डको विस्तार र कोभिड हस्पिटल स्थापनाको माग जोडदार रुपमा उठ्न थालेको छ ।
मेचीनगरको वडा नं. ९, १० र १५ का युवाहरुलाई समेटेर गठन भएको धुलावारी युनिटीले आज संघीय सांसद् राम कार्कीलाई भेटेर कोभिड उपचारका लागि अति आवश्यक आइसोलेसन र हस्पिटलको माग राख्यो ।
युनिटीका संयोजक प्रकाश खड्काको नेतृत्वमा सांसद् कार्कीको निवास पुगेको युवा टोलीले २ बुँदे माग लिखित रुपमा पेश गरेको थियो ।
संयोजक खड्काका अनुसार एउटा बुँदामा मेचीनगरमा कोरोनाको सङ्क्रमण तीब्र रुपमा बढिरहेको हुँदा भविष्यमा उपचारका लागि कठिनाई नहोस् भन्नाका लागि आइसोलेसन वार्डको पर्याप्त मात्रामा विस्तार गर्न आवश्यक रहेको विषय प्राथमिकताका साथ उठाइएको छ ।
अर्को बुँदामा भारतबाट सामान बोकेर नेपाल भित्रिने भारतीय गाडीका चालक दललाई अनिवार्य रुपमा पीसीआर टेस्ट गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन जोडदार माग गरिएको उनले जानकारी दिए ।
यस अघि धुलावारी युनिटीले समुदायस्तरमा पीसीआर टेस्ट गर्न र आम्दा मेची हस्पिटललाई कोभिड हस्पिटलको रुपमा विकास गर्न मेचीनगर नगरपालिकासमक्ष माग गरिसकेको छ ।
हाल मेचीनगर –११ धाइजनमा रहेको स्वास्थ्य चौकीमा ३२ बेडको आइसोलेसन वार्ड रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त वस्ती बताउँछन् ।
मेचीनगरको धुलावारीमा चिकित्सक र इटाभट्टामा बैङ्कका कर्मचारी समेतमा कोरोना सङ्क्रमण भइसकेको हुँदा नगरमा समुदायस्तरमा व्यापक मात्रामा कोरोना फैलिइसकेको आशंका गर्न थालिएको छ ।
युवाहरुको मागप्रति संघीय सांसद् राम कार्कीले सकारात्मक प्रतिक्रिया जनाएको संयोजक खड्का बताउँछन् । सांसद् कार्कीले कोभिड नियन्त्रणको उच्चस्तरीय समितिको नेतृत्व गरिरहेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई युवाहरुको माग जायज भएको बारेमा जानकारी गराउने आश्वासन दिएका छन् ।