युवा, उमेर कि गुण ?

  प्रकाशित मिति
८ आश्विन २०७५, सोमबार ०९:१८


युवा कुनै उमेर समूह मात्र होइन, युवा क्वालिटी पनि हो । त्यो क्वालिटी १८–४० वर्षको उमेर समूह होस् या ४० बर्ष समय पछाडि रहेको उमेर समूहमा होस् । त्यसभित्र कार्य सम्पादनमा जिवन्त उत्साह, इच्छाशक्ति र गुणस्तरले भरिएको कार्य सम्पादन हुन्छ भने सबैलाई युवा भन्न रुचाउँछु म । सरसर्ती यति ठूलो विश्वमा आफ्नो अमिट छाप छोडेर जाने सबै उमेर समूहलाई हृदयबाट नमन गर्दछु । यो युवा समूह कसले कहिलेदेखि औपचारिक रुपमा पुष्टि गरिदियो त्यो कुरा त मलाई ठ्याक्कै थाहा भएन । तर, यो अवस्था जीवनकै उर्भर उमेर समूह पर्दो रहेछ ।

यो समूहमा हरेक सफल व्यक्तिले यो समयलाई गर्विलो उपस्थितिका साथ अमिट छाप छोडेको पाएँ । तर, कहिलेकाहीँ मेरो समाजमा आफुलाई समाजको मसिहा हुँ भन्ने र समाजमा आफ्नो प्रभुत्व सधैँ स्थापित गर्न चाहने केही सामाजिक अगुवाहरुको युवाप्रतिको अविश्वास हो वा ऊसँग रहेको सम्भावनाको पूर्ण नजर अन्दाज मलाई थाहा छैन । तर पनि उहाँहरुमा एक प्रकारको तरङ्ग पैदा हुन्छ । उहाँहरु यो समाजका स्थापित अगुवाहरु भइरहँदा आफ्नो युवा उमेर समूहलाई मध्यनजर गर्ने हो भने मात्र पनि युवा उर्जा प्रतिको सम्मान जाहेर हुन्थ्यो होला ।

मैले जीवनमा केही यस्ता विश्व पुरुषहरुको आत्मवृत्तान्त पढ्न सकेँ जसले गर्दा म उहाँहरुलाई जीवनको प्रेरणाको स्रोत मान्न सक्छु । अल्वर्ट आइन्सटाइन, माओत्से तुङ, वीपी कोइराला, दलाइ लामा, भिआई लेनिन, नेल्सन मण्डेला, चे ग्वेभारा, कार्ल माक्र्स, स्टिभ जब्स, म्याक्सिम गोर्की, मदन भण्डारी, प्लेटो, सुकरात, गौतम बुद्ध, ली क्वान यु लगायत ५०–६० युग पुरुषहरुको जीवनी भित्र रहेको सम्पूर्ण उर्जाको प्रयोग त्यही युवा उमेर समूहमा भएको देख्न, सुन्न र अनुभूति गर्न पाउँदा गर्व लागेर आयो ।

आफ्नो जीवनको राजनीतिक कालखण्डमा युवाको ऊर्जा प्रयोग गरेर एक अविकसित देशका राष्ट्रप्रमुख ली क्वान युले आज विश्वको अर्थबजारमा आफ्नो गौरवशाली उपस्थितिका साथ विश्वका १० उत्कृष्ट राष्ट्रको सूचीमा पर्न सफल भएको सुन्दा गर्व लाग्छ । सो राष्ट्रका राष्ट्रप्रमुख जम्मा आफ्नो ३५ वर्षको उमेरमा पहिलो प्रधानमन्त्री भए । त्यो समय मलेसिया र सिङ्गापुर एउटै देश थिए । त्यसको केही समयपछि विविध समस्यालाई चुनौती दिँदै थोरै जनसङ्ख्या र सानो भूगोल भएको देश सिङ्गापुर अलग भयो र पुनः ४२ वर्षको उमेरमा आधुनिक सिङ्गापुरका निर्माता ली क्वान यु प्रधानमन्त्रीमा निर्वाचित भए ।

आज पनि हरेक खोज, तथ्य तथा प्रमाणको आधारमा मानिसको सबैभन्दा उच्च दरले प्रगतिपथमा लाग्ने उमेर समूह २१ देखि २८ वर्ष लाई पुष्टि गर्दो रहेछ । तर, मेरो देश तथा समाजमा यो समय त उसले बोलेका हरेक शब्द र बनाएका सबल योजनालाई एकै वाक्यमा ‘यो केटाकेटी मस्तिष्क’ भनेर आफुलाई पुनः समाजमा स्थापित गराउन आफ्नो जन्म मिति, फुलेको कपाल र दाह्री देखाएर अनुभवको प्रमाणपत्र ठान्ने अगुवा सामाजिक अभियन्तालाई दिने जवाफको खोजीमा धेरै सफल युग पुरुषको जीवनीको अध्ययन गर्ने जमर्को गरेँ । तत्पश्चात पो थाहा पाएँ मानिस त सत्यमा भन्दा बढी सङ्ख्याको पछाडि दगुर्दो रहेछ भन्ने । आखिरमा सत्य र सङ्ख्या बीचको लडाइँमा सत्यलाई सङ्ख्याले क्षणिक जीत दर्ज गरे तापनि पुनः सत्य स्थापित हुन्छ । किनकि सत्य भन्ने शब्द आफैँ पुष्टि हुन्छ यसलाई पुष्ट्याइँ गर्न कुनै दलिल आवश्यक पर्दैन ।

विश्वका महान खेलाडी स्मरण गर्नुहोस् । कुनै महान वैज्ञानिक, सफल राजनीतिज्ञ यी सबैको मार्गचित्र सफासँग देख्न सक्ने उमेर समूह हो युवा । जति राम्रा कामहरु हुन्छन्, त्यसको वरपर त्यति नै नराम्रा ठाउँहरु हुनु स्वभाविकै हो । आज बिहान मात्र इलाका प्रहरी कार्यालय काँकरभिट्टा पुग्दा हिरासत पूरै युवा उमेर समूहले भरिएको तितो अनुभूति गरेँ मैले । लागू औषधमा युवा मस्त छ । एउटा सहरमा कम्तीमा एउटा लागू औषधको लत छुटाउने सुधार गृह छ, जसमा अधिकांश सुधार गृह युवाले भरिएका छन् ।

अधिकांश युवा मस्तिष्कलाई राज्यले सही दिशा निर्देश गर्न सकेको छैन । सिङ्गो राज्य विदेशमा काम गर्ने युवाले पठाएको रेमिट्यान्सबाट सञ्चालन भएको आभाष हुन्छ । यो अवस्थामा एउटा युवालाई समाजमा स्थापित गराउन तपाईंले खेलेको भूमिकाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? आफुले आफैँलाई एकपटक प्रश्न गरी हेर्नुस् ।

आफ्नो कर्ममा जो टिक्न सक्दैन ऊ समाजमा बिक्न पनि सक्दैन । तर, समाजमा जबरजस्त टिक्ने र बिक्ने प्रथाले सिङ्गो मुलुक अविकसित देशमा सूचिकृत भइरहेको छ । आन्दोलनको हरेक दस्ताको अगुवाईमा आफ्नो जीवन उत्सर्ग गर्न तयार त्यो युवा, प्रविधिका हरेक असहजतामा सहजता पहिल्याउने त्यो युवा, शारीरिक श्रमका लागि विना इन्धनको मेसिन त्यो युवा समाज परिवर्तनको दिशामा प्रयोगमा किन कन्जुस्याइँ छ ? एकपटक गम्भीर रुपमा सोच्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: