झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताएका छन् ।
नेपाल सरकारले मंगलबार बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वान्ले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई सबै मानवका लागि भएको बताए ।
शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
उनले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योगको अपरिहार्यता रहेको जनाउँदै संयुक्त राष्ट्र सङ्घबाट योग दिवसलाई मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार व्यक्त गरे ।