यो भुइँटावर हो कि भ्यूटावर ?

  प्रकाशित मिति
८ श्रावण २०७९, आईतवार ०६:३५


फोटो : अर्जुन कार्की / लोकतन्त्र पोस्ट

मेचीनगर, ८ साउन । मेचीनगर नगरपालिकाद्वारा पूर्वीद्वार काँकडभिट्टामा निर्माणाधीन बहुतले भ्यूटावर परियोजना सुरु भएको डेढ वर्ष बितिसक्दा भुइँमै अलपत्र छ ।

बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण गर्न नगरपालिकाले प्रदेश नं. १ सरकारसँगको सहलगानीमा २०७७ सालदेखि यो भ्यूटावरको निर्माण सुरु गरेको हो ।

२०७८ पुस २९ गते कार्य सम्पन्न गर्ने सम्झौतासहित नगरपालिकाले कनकाई इन्टरनेसनल बिल्डर्सलाई भ्यूटावर निर्माणका लागि रु. तीन करोड ७९ लाख ८६ हजारमा ठेक्का दिएको थियो ।

ठेक्का अवधि गुज्रिए तापनि भ्यूटावरको संरचना भुइँभन्दा माथि उठाउन सकेको छैन । हाल भ्यूटावरको निर्माण कार्य अलपत्र छ ।

झापा क्षेत्र नं. १ का प्रदेश सांसद्द्वय श्रीप्रसाद मैनाली र राधा थापा, तत्कालीन प्रदेश सांसद् तथा वत्र्तमान नगरप्रमुख गोपाल बुढाथोकी, निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती र राजनीतिक दलका नगरप्रमुखहरुले सो भ्यूटावरको २०७७ माघ १ गते संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

तामझामका साथ शिलान्यास गरिएको भ्यूटावरको अधुरो संरचना मेचीनगर वडा नं. ६ स्थित सशस्त्र प्रहरी गुल्मसँगै जोडिएको सार्वजनिक जग्गामा अलपत्र छ । वरिपरिबाट झारजंगलले छोप्न लागेको र ठाडा पारिएका फलामे छडमा कालो खिया लागिसकेको छ ।

नियम विपरीत रु. ६५ लाख पेश्की

स्रोत सुनिश्चित नगरी कार्य थालिएको भ्यूटावर परियोजना स्थानीय नेताहरुको सस्तो लोकप्रियता र लहडको उपज थियो ।

नगरपालिकाले प्रदेश र संघीय सरकारबाट स्रोत जुटाउने भन्दै लागतमा ३० प्रतिशत सहभागिता स्वीकार गरेको थियो ।

तर, अहिले भ्यूटावर मात्र अलपत्र परेन, यसको निर्माणमा समेत आर्थिक अनियमितता भएको महालेखा परीक्षकको २०७९ सालको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनमा भ्यूटावर बनाउने निर्माण व्यवसायीलाई नियम बिपरीत रु. ६५ लाख ९८ हजार पेश्की दिएको पाइएको जनाएको छ ।

भ्यूटावर बनाउन नगरपालिकाले रु. छ करोड ४५ लाख २६ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी निर्माण व्यवसायीसँग रु. ३ करोड ७९ लाख ८६ हजार रुपैयाँको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

हाल अलपत्र अवस्थामा रहेको भ्यूटावर परियोजना अघि बढाउने कि नबढाउने भनेर नगरपालिका नै दोधारमा रहेको छ । तर निर्माण व्यवसायीले लगेको पेश्की नियमसंगत नदेखिएको प्रतिवेदनले प्रष्ट भनेको छ ।

आगामी दिनमा संघीय सरकारबाट रकम आएमा बहुवर्षीय आयोजनाका रुपमा सञ्चालन हुने शर्त राखी निर्माण व्यवसायीसँग सम्झौता गरेको हुँदा बजेटको सुनिश्चितता नभएको प्रतिवेदनमा उल्लेख छ ।

अपजस आउने डरले तैँ चुप मै चुप

भ्यूटावर बन्नु अघि यसको अवधारणा र बजेट ल्याउन आफुले योगदान दिएको भनेर सार्वजनिक रुपमै जस लिन खोज्ने नेताहरु अहिले चुपचाप छन् ।

ठूलो बजेट र गौरवको आयोजना ल्याएको भनेर भ्यूटावरको जस लिन खोज्नेमा प्रदेश सांसद् राधा थापा र श्रीप्रसाद मैनालीबीच सार्वजनिक रुपमै विवाद हुने गरेको थियो ।

मेचीनगरका निवत्र्तमान प्रमुख विमल आचार्य पनि भ्यूटावर परियोजनाको जस लिन खोज्नेमै पर्छन् । नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले भ्यूटावर ल्याउन आफ्नो पार्टी र नेताले पहल गरेको जिकीर गर्दै आएका थिए ।

तर अहिले भ्यूटावरले भुइँ नछाडेपछि अपजस लाग्ला भनेर कसैले पनि यो परियोजना ल्याउन आफ्नो योगदान थियो भनेर बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: