‘यो हाम्रो कठिन परीक्षा हो’

  प्रकाशित मिति
२६ मंसिर २०७४, मंगलवार ०८:४८


भद्रपुर । बाम गठबन्धनले झापाको संसदीय चुनावमा एकलौटी वर्चस्व कामय गरेपछि सोमवार भावी प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भद्रपुरमा आयोजित बिजय र्यालीमा झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवम् नेकपा माओबादीका पोलिट्व्यूरो सदस्य राम कार्कीले दिनु भएको मन्तब्य यस्तो छ–

आदरणीय झापाबासी आमा बुबा दाजुभाई दिदीबहिनीहरु !
निर्वाचन सकिएको छ । हामी सजिलै एउटा नारा लगाउने गर्छांै–यो जित कसको ? जनताको ! अहिले बामपन्थी गठबन्धनको जित भएको छ । यो के साँच्चिकै जनताको जित हो त ? त्यो अब प्रमाणित गर्नुपर्छ । वास्तवमा २०७४ मा जनताले विजय गरेका छन् ।
कम्युनिस्ट पार्टीको जन्म भएको ६८ बर्ष भयो । ६८ बर्षदेखि हामीले जनतासँग धेरै प्रतिज्ञा र बाचा बन्धन गरेका छौँ । हामीलाई पृथ्वीनगरमा पञ्चायतकालमा लुकाउने जनतासँग, आमा दिदीहरुसँग महिला मुक्तिका लागि धेरै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । जलथलका सुकुम्वासी गाउँतिर गएर हामीले भनेको छौं–हामी सुकुम्वासीलाई धनीपूर्जा प्रदान गर्नेछौं ।
हामीले झापाका किसान र मजदूरहरुसँग धेरै धेरै बाचा गरेका छौं । साथै यो चुनावमा पनि के–के भनियो । चुनावमा पनि धेरै प्रतिवद्दता जाहेर गरियो होला । बाटो बनाइदिन्छु, स्कूल, पुल बनाइदिन्छु, यस्ता धेरै प्रतिज्ञा भए । हामीले ६८ बर्षदेखि यस्ता धरै प्रतिज्ञा व्यक्त गरेका छौं ।

६८ बर्षपछि मुलुकमा पहिलोपटक कम्युनिस्टहरुको स्थिर सरकार बन्ने स्थितिको सिर्जना भएको छ । त्यसलै पनि हामी जनताको काम गर्छौ । हामीले जनताको काम गर्न सकेनौं भने हामीलाई फेरि जनताले पत्याउने छैनन् । त्यसैले यो हाम्रो कठिन परीक्षा हो ।

म गौरव साथ भन्छु म कम्युनिस्ट हुँ, त्यसैले म प्रतिवद्धता व्यक्त गर्छु–पार्टी एकता हाम्रो सबभन्दा पहिलो कुरा, त्यसपछि पार्टी बनाउने काममा लाग्नेछु । धाराप्रवाह माक्र्सवादको बारेमा बोल्न सक्ने एक लाख कार्यकर्ता उत्पादन गर्नेछौं । एक लाख माक्र्सवाद सिकाउने शिक्षकहरु उत्पादन गर्ने प्रयास गर्नेछौं । जसले गर्दा कम्युनिस्टहरु जे बोल्छन् त्यो पूरा गर्न सक्ने खालको वातावरण तयार हुनेछ । यसो गरेमा नेपालमा आगामी ५० बर्ष समाजवादी शासन लागू गर्न सक्नेछौं ।

समाजवाद भनेको सुकुम्वासीहरुको लागि धनीपूर्जा हो । आदिवासी जनजातिहरुको निम्ति भाषा संस्कृतिको विकास भएर आउनुपर्छ । र, सबभन्दा महत्वपूर्ण कुरा नेपालमा अहिले जुन व्यवस्था लागू छ । जुनप्रकारको अर्थतन्त्र छ । यो समाजवाद होइन । प्रजातान्त्रिक छैन । त्यो एक प्रकारको विकृत पूँजीवाद चाहिँ लागू भइरहेको छ ।

सबै पैसा नेपालको अर्थतन्त्र विकृत पूँजीमा लर्वरिएको छ । विकृत पूँजी भनेको सबभन्दा पैसाको चलखेल कहाँ भइरहेको छ भने घर घडेरीमा, सूचना सञ्चारमा । यस्तो काममा बढी पैसा लगानी भइरहेको छ । झापाको मानवीय मानकलाई हेर्ने हो भने हामीले कति इञ्जिनियर, डाक्टर र बैज्ञानिकहरु तयार गर्यौं । यस कुरालाई नियाल्ने हो भने स्थिति राम्रो छैन । म पत्रकार साथीहरुलाई भन्छु–झापामा त्यो वितेको दशकमा कति राष्ट्रियस्तरका कलाकार तयार गर्यौँ हामीले । यो सबै मानक हेर्ने हो भने हाम्रो स्थिति कमजोर छ ।

अर्को महत्वपूर्ण कुरा २० बर्षदेखि कुनै पनि राष्ट्रियस्तरका उद्योगहरु झापाको यो भूभागमा सञ्चालित छैन । त्यसो हुनाले हाम्रो अगाडि एउटा चुनौती छ । क. केपी हाम्रो अगाडि हुनुहुन्छ । अब हामीले सरकार गठन गरिसकेपछि झापामा केही महत्वपूर्ण राष्ट्रियस्तरका उद्योगहरु सुरु गर्नुपर्छ । मेचीको किनारै किनार श्रीअन्तु हुँदै इलामको चिवा भञ्ज्याङको लेक भएर तिब्बतसँग जोड्ने एउटा महामार्ग हामीलाई खोल्नु छ । त्यसपछि मात्रै यहाँका किसानहरुले उत्पादन गरेको तरकारी, गेडागुडी, धान चामललगायत तिब्बतको बजारमा बेच्न सक्छौं ।

अहिले हामी सोच्छौं नि त्यो सेतो हिमाल हाम्रो हो । त्यही हिमालको उतापट्टि चीनले रेल कुदाएको छ । प्रतिघण्टा ३ देखि ४ सय किलोमिटर कुद्ने रेल चीनले कुदाइरहेको छ । हामीले त्यो ठाउँमा हाम्रो उत्पादन लगेर बेच्नुपर्छ । किनभने हाम्रो उत्पादन भारतमा बेच्ने र विक्री हुने स्थिति छैन ।

अर्को हुलाकी राजमार्ग । दक्षिण क्षेत्र जहाँ आदिवासी जनजातिको बाहुल्य छ । त्यो भित्री भू–भाग जुन हाम्रो तराई छ । त्यहाँबाट हामीले हुलाकी राजमार्गलाई पूरा गर्नुपर्नेछ । अर्को चुरे मार्ग । जुन पाटापुरबाट धरानसम्मको लागि हामीले चुरेको मार्ग बनाउनुपर्नेछ । हामीले यी कुरा गर्न सक्यौ भनेदेखि जनताका सामू विकास गर्न सक्छौं । आजभन्दा अघि जसले विकासको खाका बनाए । रणनीति बनाए उनीहरुले कहिले पनि नेपालको एउटा स्थानलाई अर्को स्थानसम्म जोड्ने लिङ्क गर्ने सोच बनाएनन् ।

यसभन्दा अघि नेपालका जुन विकासका रणनीतिकार थिए, उनीहरुले जहिले नेपालको एउटा ठाउँलाई अर्को ठाउँसम्म कसरी जोड्ने सोचेनन् । जस्तो हाम्रो शान्तिनगरलाई सलकपुरसम्म कसरी जोड्ने ? सलकपुरलाई माथि श्रीअन्तु कसरी जोड्ने ? झापाकै एउटा दमकलाई रविको बजारसँग कसरी जोड्ने ? त्यो ढङ्गले सोचिएन, त्यसैले हाम्रो विकास रणनीति गलत थियो ।

अब हामीले त्यसलाई सही बनाउनु पर्ने भएको छ ।
अहिले पनि हामी काँकरभिट्टा गयौँ भने सयौंको सङ्ख्यामा भारतीयहरु आँखा जाँच्ने सेवा लिन नेपाल आएको देख्छौं । उनीहरु सेवाको निम्ति नेपाल आउँछन् । तर, नेपालीहरु सिलगुढीको तेन्जिङ नोर्गे चोकमा गएर हेर्यौ भने हजारौं नेपालीहरुको ताँती चाहिँ डाक्टरको ढोकामा उभिएर पैसा बुझाइरहेको मात्र देख्छौं ।

तर हामीले सुस्ताउँदै गइरहेको धुलाबारीलाई पुनर्जीवन दिनुछ भने भएका घरहरु, सडकलाई उपयोग गरेर हामी त्यहाँ एउटा सेवा केन्द्र बनाउन सक्छौं । र, त्यो सेवा हामी भारतलाई पनि बेच्न सक्छौं ।

त्यस्तै हाम्रा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्यो भने झापालाई पर्यटकीय क्षेत्रको उर्वरभूमि बनाउन सक्छौं । यहाँ थुप्रै शिक्षित साथीहरु हुनुहुन्छ । हामीले अब फाइनान्स क्यापिटललाई इन्डस्ट्रियल क्यापिटलतिर लैजानु पर्छ । औद्योगिक पूँजीलाई वित्तीय पूँजीमा बदल्न सकेन भने नेपाल विकासको दिशामा अगाडि बढ्न सक्दैन ।

हाम्रा लाखौं लाख युवा युवतीहरु विदेश गइरहेका छन् । र, उनीहरुले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र धुकुरमुकुर चलिरहेको छ । देशको अर्थतन्त्रमा कुनै जीवन छैन । यसलाई जीवनदान दिन सकिन्छ । समाजवाद अन्तरगत समाजवादी ढङ्गले विनियोजन गरेको अर्थतन्त्र हामीले सुरु गर्न सक्दा स्वाभाविक रुपमा केही बर्षमा नै नेपालले औद्योगिक रुपले उन्नति गर्न सक्छ ।

कमरेड प्रचण्ड र कमरेड ओलीले पार्टी एकीकरण गर्ने जुन अभियान सुरुवात गर्नु भएको थियो, तपाई तमाम जनताले लाहछाप लगाइदिनु भयो । झापाले स्पष्ट बुझ्ने गरी छाप हानेको छ । पार्टी एकतालाई अब हाम्रो अनुमोदन छ भनेर । त्यसलाई शिरोधार्य गरेर अघि बढ्छौं ।

हामीलाई सांसदको रुपमा मत नदिने जुन पार्टी छ । त्यसका अनुयायीहरुलाई पनि हामी के भन्छौं भने तपाईहरुलाई उपेक्षा र अवहेला गर्दैनौँ । चुनावमा मत नहालेसम्म तपाईको आफ्नो सांसदका उम्मेद्वार थिए । तर अब चुनाव सकिएको छ । हामीले विजय हासिल गरेका छौं । हामी सबैको साझा सांसद हौँ । त्यसो हुनाले जसरी गठबन्धनका साथीहरु आउनुहुन्छ त्यसरी नै तपाईहरु पनि आउनुस् । हामी कति प्रजातान्त्रिक छौं भनेर हामी कामले सावित गर्छौ । हामी तपाईहरुको नेताले तर्साए जस्तो अधिनायकवादी होइनौँ । चुनावी प्रक्रियामा हामीमाथि लगाइएको आक्षेपहरुलाई हामी गलत सावित गर्नेछौं । तपाईहरुमा माथि पक्षपात गर्ने छैनौं । पाँचबर्ष भित्रमा यो देशको काँचुली फेरेर देखाउनेछौं ।

कमरेड केपी ओलीले चाहेजस्तो नेपालमा अब सरकार बन्नेछ । त्यसपछि हामी यहाँको जमिनको बर्गीकरण गर्नेछौं । कृषि, चरण, उद्योगका लागि बेग्लाबेग्लै जमिन, बसोवासका लागि बेग्लै जमिन गरेर बर्गीकरण गर्नेछौं । जनताको स्तर अनुसारको सामाजिक परिचय छ । अब त्यस्तै हामी नेपाली जनतालाई आर्थिक परिचय पत्र बाँड्दैछौं । अरबपति, करोडपति, सुरबुर खान पुग्ने मध्यम बर्ग र विहान बेलुकी खान दिनभर काम गर्ने मजदूर । उहाँहरुलाई श्रेणीको आधारमा आर्थिक परिचय पत्र दिनेछौं । जो मजदुर गरेर बाँच्ने कृषि मजदूरलाई छुट्टै परिचय पत्र वितरण गर्नेछौं । त्यही परिचय पत्रको आधारमा तपाईहरुलाई आधारभूत खाद्यान्नका बस्तुहरु सरल मूल्यमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दर्छौं ।

अन्त्यमा, जसले मलाई अमूल्य मत दिएर विजयी गराउनुभयो, सम्पूर्ण मतदाताहरुप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु ।

(प्रतिनिधि सभा सदस्यमा झापा–१ बाट निर्वाचित भएपछि मेची रङ्गशालामा सोमवार दिउँसो आयोजित बाम गठबन्धनको बिजय सभामा दिएको मन्तब्य)
…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: