यौन धन्दामा लगाएको आरोपमा तीन पक्राउ

  प्रकाशित मिति
८ फाल्गुन २०७६, बिहीबार २०:२९


मेचीनगर । सहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्त यौन कार्यमा लगाउने तीनजनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ बर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ बर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीहरुलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार विहान २०–२१ बर्षका महिलाहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । आफ्नो घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो ।

युवतीहरुले आफूलाई बन्धक बनाई घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पुर्याउने गरेको बताएको उनको भनाइ छ । उनका अनुसार तिनीहरुले दैनिक पाँचदेखि छ जना व्यक्तिसँग यौन सम्पर्क गराउन महिलाहरुलाई बाध्य बनाउँदै आएका थिए ।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा पाँच सय र रातको समयमा होटलमा पठाउँदा प्रतिरातको दुई हजार ५ सय रुपैयाँ दिने प्रलोभनमा ती युवतीहरुलाई देखाए पनि उनीहरुले भने १० हजारसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ पोखरेलले बताए ।

बुधबार पक्राउ गरिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुलाई मानव बेचविखन ओसारपसारविरुद्धको मुद्धा चलाइने छ । मानव बेचविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ बर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुनेछ । युवतीहरुको उद्धार गरी प्रहरीले काठमाडौंमा रहेको विश्वास नेपालको आश्रममा पुनस्र्थापनाका लागि पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: