रविलाई उपप्रमुखको प्रश्न –‘यथार्थ नबुझी जे पायो त्यही आरोप लगाउने ?’

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार १९:२५


विर्तामोड, ६ साउन । विर्तामोड नगरपालिकाकी उपप्रमुख एवम् नेकपाकी प्रभावशाली नेतृ पवित्रा महतरा प्रसाईले ‘न्यूज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछानेले यथार्थ नबुझी समाचार प्रशारण गरेर’ आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।

उनले झुठो लाञ्छना लगाउनु अघि आफुलाई भनाई राख्ने अवसर नदिएको र प्रष्टिकरणको मौका दिन आग्रह गर्दा बारम्बार वेवास्ता गरेको कारण बाध्य भएर पत्रकार लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन लागेको बताएकी छन् ।

उपप्रमुख प्रसाईले मङ्गलवार विर्तामोड नगरपालिकामा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले पत्रकार लामिछानेलाई आरोप पुष्टि गर्न चुनौति दिदै नत्र झुठो समाचार सच्याउन चेतावनी दिएकी छन् ।

लामिछानेले के गरे ?
न्यूज २४ को चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा पत्रकार लामिछानेले विर्तामोडमा २ वर्ष अघि भएको गोली काण्डका घाइतेको प्रसङ्ग हालै उठान गरेका थिए ।

एक जना बालकको रहस्यमय मृत्यु भएको उसबेलाको घटनामा दोषीमाथि कार्वाहीको माग गर्दै विर्तामोडमा ठूलो प्रदर्शन भएको थियो । त्यसबेला कफ्र्यु समेत लागेको र प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको थियो ।

सोही घटनामा इलाम दानावारी घर भई विर्तामोडमा डेरा गरी बस्ने मणिकुमार नेपाली घाइते भएका थिए । विपन्न अवस्थाका उनको उपचार र भरणपोषणमा समस्या थियो । राज्यबाट उनले भरोसा पाउन सकेका थिएनन् । राज्य संयन्त्रप्रति पीडित परिवार असन्तुष्ट र आक्रोशित पनि थियो ।

पत्रकार लामिछाने गाउँगाउँमा कार्यक्रम चलाउने भन्दै केही दिन अघि झापा आएका थिए । विर्तामोडमा रहँदा उनले घाइते मणिकुमार र उनकी पत्नीलाई भेटे । एउटा समाचार श्रृङ्खला उनकै विषयमा बनाए ।

टिभी कार्यक्रममा उपप्रमुख प्रसाईको घरमा मणिकुमार नेपालीको पत्नीले काम गर्दाको पुरानो सन्दर्भ उप्कियो । जसमा मणिकी पत्नीले आफुलाई सुन चोरीको आरोप लगाएर तलब नदिई उपप्रमुखले कामबाट हटाएको दावी गरेकी छन् । अहिले मुख्य विवादको चुरो यही हो । जुन विवादको थालनी पत्रकार लामिछानेले सुरु गरे ।

लामिछानेले आफ्नो कार्यक्रममा उपप्रमुख प्रसाईसँग बुझ्न खोज्दा सम्पर्क हुन नसकेको दावी गरेका थिए । जसलाई उपप्रमुख प्रसाईले सरासर झुठ र भ्रमको खेती भनेकी छन् ।

सुन चोरीको घटना के हो ?
उपप्रमुख प्रसाईले आफुले कहिल्यै पनि मणि नेपालीकी पत्नीलाई सुन चोरीको आरोप नलगाएको बताएकी छन् ।

घरेलु काम सघाउने अर्की महिलाले एउटी दुःख पाएकी बहिनीलाई काम दिनुपर्यो भन्दै मणिकी पत्नीलाई आफ्नो घरमा ल्याएको र आफुले काममा लगाएको उपप्रमुखले स्वीकारेकी छन् ।

तर, सुरुमा उनी गोलीकाण्डका घाइते मणिकी पत्नी भन्ने थाहा नभएको र पछि काम गर्दै जाँदा मात्र उक्त विषय थाहा भएको उपप्रमुखको भनाई छ ।

उनका अनुसार एक दिन एउटा औंठी घरमा राखेको ठाउँमा नभेटिए पछि सोधीखोजी गर्दा तिनै काम सघाउने बहिनीले निकालेर दिएकी थिइन् । उक्त घटनालाई लिएर आफुले कहिल्यै पनि चोरको आरोप नलगाएको उपप्रमुख बताउँछिन् ।

औठी भेटिएको घटनापछि मणिकी पत्नीले उपप्रमुखको घरमा काम गर्न छाडेकी थिइन् । तर सुनको प्रसङ्ग उपप्रमुख र मणिकी पत्नी कसैले पनि बाहिर ल्याएका थिएनन् । कुनै समस्याको रुपमा नरहेको सुनको विषयलाई पत्रकार लामिछानेले अहिले विवादको रुपमा उछालेका छन् । जसबाट उपप्रमुखले चरित्रहत्या भएको अनुभूति गरेकी छन् ।

तलब नदिएको कि नलिएको ?
उपप्रमुख प्रसाईले पत्रकार सम्मेलनमा चार पाँच दिनको तलब दिन बाँकी रहेको स्वीकार गरिन् । ‘हराएको सुनको औठी भेटेर दिएपछि उहाँ काममा आउन छाड्नुभयो, त्यसपछि भेटघाट नभएको वर्षौ भइसक्यो,’ उपप्रमुख प्रसाई भन्छिन्–‘न्यूज २४ मा पो एक्कासी सुन चोरको आरोप लगाएको भन्नुभएछ । तलब नदिएको होइन, नलिएको चाहिँ हो ।’

गोलीकाण्डको घाइते परिवार भएको हुँदा मणिको पुरै परिवारप्रति आफ्नो सहानुभूति र सहयोग रहने गरेको उपप्रमुख बताउँछिन् । गरीव र पीडितकै पक्षमा राजनीति गर्दै आएको कारण काम गरेको तलब नदिई निकाल्ने कुरा आफ्नो कल्पना बाहिरको भएको उनले बताएकी छन् ।

भ्रमको खेती भएकै हो त ?
उपप्रमुख प्रसाईले अन्तर्राष्ट्रिय स्तरसम्म चर्चित छवि बनाएका पत्रकार लामिछानेले आफ्ना बारे तथ्यको छानविन नगरी भ्रमको खेती गरेको आरोप लगाएकी छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तुत गर्ने क्रममा लामिछानेले ‘यस विषयमा बुझ्न खोज्दा उपप्रमुखसँग सम्पर्क हुन सकेन’ भनेका थिए । तर प्रसाईले आफुलाई लामिछानेले कहिल्यै फोन नगरेको बताइन् ।

न्यूज २४ का झापा सम्बाददाता राजु पौडेलले एक दिन फोन गरेर ‘सीधा कुरा जनतासँग’बाट फोन कल आउन सक्ने प्रसाईलाई जानकारी दिएका रहेछन् । त्यसपछि आफु फोन कुरेर रातिसम्म बसेको तर कसैले फोन नगरेको प्रसाईले पत्रकार सम्मेलनमा बताइन् ।

तथ्यहीन आरोपलाई समाचार बनाई प्रशारण गरिएपछि उपप्रमुख प्रसाईले लामिछानेलाई फोन सम्पर्क गरी आफ्नो भनाई राख्ने अवसर दिन बारम्बार आग्रह गरेको तर त्यस्तो आग्रहलाई वेवास्ता गरिएको उनले बताइन् ।

राम्रो गर्दागर्दै लामिछाने चुके
पत्रकार लामिछानेको टेलिभिजन कार्यक्रम जनमानसमा अति लोकप्रिय छ । उनले गरीव, दुःखी, असहाय र पीडितका लागि जोडदार आवाज उठाउँछन् भन्ने आम मानिसमा छाप परेको छ ।

तर कहिलेकाहिँ पीडितले आवेग र आक्रोशमा आएर तथ्यभन्दा बढी आरोप पनि लगाउन सक्छन् भन्ने विर्तामोड प्रकरणमा पत्रकार लामिछानेले हेक्का राखेनन् । उपप्रमुखलाई मात्र होइन अरु कसैलाई पनि आरोप लगाउँदैमा यो कुरा कति सत्य हो भनेर तथ्य परीक्षण गर्न कुनै पनि पत्रकार वा सम्पादकले भुल्न हुँदैन ।

अरोपको सीमा नहुन सक्छ, तर प्रशारणको सीमा हुन्छ भन्ने पनि लामिछानेले सम्झिन सकेनन् । यहाँनेर लामिछाने चुके । उनले मणि नेपाली र उनको पत्नीको एकपक्षीय कुरा मात्र सुने । यतिसम्म कि उपप्रमुखको प्रतिक्रिया समेत कार्यक्रममा राखेनन् ।

अबको समाधान
उपप्रमुख प्रसाईले यो विषयलाई प्रेस काउन्सिलमा पुर्याउने जानकारी दिइसकेकी छन् । काउन्सिलले लामिछानेलाई उपप्रमुखको प्रतिक्रिया प्रशारण गर्न बाध्यकारी निर्देशन दिने सम्भावना छ ।

आरोपका बारेमा प्रष्टिकरण दिन पाउनु उपप्रमुखको अधिकार हो । मणि नेपाली र उनको परिवार अहिले पीडाको चक्रबाट गुज्रिरहेको छ ।
घाइते मणिको परिवारलाई उपचार र भरणपोषणमा मदत पुर्याउनु राज्यको दायित्व हो । यो सन्दर्भमा पत्रकार लामिछानेले सही विषयको उठान गरेका छन् । तर हुँदै नभएका विवाद कथुरेर पीडितलाई विवादमा तान्नु राम्रो हुँदैन ।

अब पत्रकार लामिछानेले वास्तविकता के रहेछ भनेर खोज्न आफ्नो समाचारका विषयमा दुई पक्षकै कुरा सुन्नु पर्छ । यदि उपप्रमुखको भनाई सही रहेछ भने गल्ती सच्याउने तत्परता देखाउनु पर्छ । यदि उपप्रमुख गलत रहेको कुनै तथ्य प्रमाणले देखाउँछ भने त्यो सार्वजनिक गर्नुपर्छ । पीडितले बोलेको आरोपलाई मात्र अन्तिम सत्य मान्नुहुँदैन ।

उपप्रमुख प्रसाईले चार वा पाँच दिन नै किन नहोस्, मणिकी पत्नीको पारिश्रमिक सम्मानपूर्वक दिनुपर्छ । उपप्रमुख जनप्रतिनिधि भएको हुँदा उनले मणिको उपचार र भरणपोषणका लागि विना पूर्वाग्रह राज्यका तर्फबाट सक्दो पहल गरिदिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: