रहिनन् सगरमाथा उक्लिने पहिलो महिला

  प्रकाशित मिति
६ कार्तिक २०७३, शनिबार २१:०६


junkoझापा । सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल विश्वको पहिलो महिला जुन्को तावेईको निधन भएको छ ।

७७ बर्षीया जापानी नागरिक तावेईको जापानमा बिहीबार निधन भएको टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले जानकारी दिए ।

उनको निधन बिहीबार भए पनि त्यहाँको प्रशासनले शनिबार मात्र जानकारी गराएको राजदूत अर्यालले जानकारी दिए ।

अर्यालले सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिलाको निधनप्रति दुःख ब्यक्त गरेका छन् । जापानका सञ्चार माध्यमलाई समेत शनिबार मात्र उनको निधनको खबर दिइएको छ ।

जनतालाई दुःखी नबनाउन तावेईको निधनको खबर ढिला गरी सार्वजनिक गरिएको बताइएको छ ।
तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन् । उनले नेपाली गाइड आङ छिरिङ शेर्पाका साथमा सगरमाथा आरोहण गरेकी थिइन् ।

हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’का रुपमा लिने गरेकी थिइन् ।
सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरूको समेत आरोहण गरेकी थिइन् ।

ताबेईले गत वर्ष भदौमा नेपालमा आएर ७६ औँ जन्मदिन मनाएकी थिइन् । उनी सगरमाथा आरोहणको चालीसौँ वर्षगाँठ कार्यक्रममा समावेश हुन नेपाल आउँदा जन्मदिन पनि मनाइकी थिइन् ।

श्रीमान् र छोराछोरीसहित आएकी ताबेईले आफूले लुक्लादेखि स्याङ्बोचेसम्मको पदयात्रा गरेकी थिइन् ।
नेपालसहित ७५ मुलुकका अग्ला चुचुराको आरोहण गरिसकेकी उनले आफू बाँचुन्जेल नेपाल आइरहने र सघाउने प्रतिबद्धता जनाएकी थिइन् । उनले हिमाल चढ्ने कामबाट भने अवकाश लिएको बताएकी थिइन् ।

३६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी ताबेईले काठमाडौं सफाइ गर्न चेतनामूलक धेरै कार्यक्रम सरकारले गर्नुपर्ने सुझाएकी थिइन् । सरकारले सगरमाथा आरोहणका लागि अत्यधिक सङ्ख्यालाई अनुमति दिइने विषयमा पनि उनले आफ्नो चित्त नबुझेको बताएकी थिइन् ।
‘मैले १९ वर्षअघि नेपाल सरकारलाई सगरमाथा हरेक ५ वर्षमा मात्रै खुला गर्नुपर्ने सुझाव दिएकी थिएँ । तर, अहिलेसम्म कार्यान्वयन नै भएको पाइनँ’–उनले भनेकी थिइन् ।

ताबेई १५ जना जापानी महिलाका साथ हिमाल आरोहण गर्न पहिलोपटक ०२८ मा नेपाल आएकी थिइन् । नेपाल आएको तीन वर्षपछि मात्रै उनको आरोहण दलले अनुमति पाएको थियो । तर १५ जना जापानी महिलामध्ये चुचुरोमा पाइला राख्न उनी मात्रै सफल भएकी थिइन् । उनलाई चुचुरोमा पुर्याउन सघाउने आङ छिरिङ शेर्पा थिए ।

आफ्नो जन्मदिनको अवसर पारी नेपालमा आई कार्यक्रम गरेकामा ताबेईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन एडभेन्चर ट्रस्टसहित नेपाली पर्यटन व्यवसायीहरूले गत वर्ष सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: