राइजिङ स्टार

  प्रकाशित मिति
१२ मंसिर २०७३, आईतवार ०९:२५


sabina-panta-sanam-bk-tilak-pathak

चर्चित गायक राजनराज शिवाकोटीको शब्द र सङ्गीत रहेको ‘माकुरी माकुरी’ गीतमा राजनराजसँगै झापा काँकरभिट्टाका युवा सनम बिकले पनि आवाज भरेका छन् । राजनराज र सनमको आवाज रहेको यो गीत अहिले नेपाली श्रोताहरुमाँझ लोकप्रिय हुँदै गएको छ । उनलाई लाग्छ – ‘गीत लोकप्रिय हुनु भनेको हाम्रो मेहनतले सार्थकता पाउनु हो ।’

आमोश तामाङको संयोजन रहेको ‘माकुरी माकुरी’ गीतमा आवाज दिने अवसर सनमको सुमधुर स्वरले नै प्रदान गरेको हो । ‘गीत गाउने, रेकर्ड गर्ने र श्रोतालाई सुनाउने चाहना त पहिलेदेखि नै थियो’, सनमले विगत स्मरण गर्दै भने – ‘तर, राजनराज शिवाकोटी र गाउने अवसर चाहिँ मेरो मेहनत र उहाँको विश्वासले जुटेको हो ।’ स्कूले जीवनमै स्टेजमा उक्लिएका सनमको सुमधुर स्वरका बारेमा उपत्यकामा जमेका धेरै कलाकार जानकार छन् । त्यसमा पनि अहिलेका चर्चित गायक राजनराज शिवाकोटीसँगै गाएर स्यावासी कमाएका सनम बिक झापाका उदाउँदा तारा हुन् ।

वि.सं. २०५० साल चैत २२ गते बुबा कर्णबहादुर र आमा ललिताको कोखबाट जन्मिएका सनमले प्लस टुसम्म अध्ययन गरेका छन् । सङ्गीत र पारिवारिक जिम्मेवारीले अघि बढ्न नसकेको पढाईलाई निरन्तरता दिने सोचमा उनी छन् । गीतार र हार्मोनियममा विशेष दख्खल राख्ने सनमलाई सङ्गीतमै भविश्य बनाउने चाहाना छ । उनी निरन्तर सङ्गीतमा डुबिरहेकै हुन्छन् । उनी भन्छन् – ‘सङ्गीत महासागर हो, पौडिन सुरु गरिसकेँ, अब जसरी भएपनि किनारा भेट्नु छ ।’ सनमले तिमी भन्छौ मलाई, जाँदैछु म टाढा, दशैँतिहार, मन किन डराउँछ, आँखा भित्र बस्यौं तिमी आदि गीत रिकर्ड गराइसकेका छन् ।
भस्र्टाइल गायिका हुन्, मेचीनगर–१० काँकरभिट्टाकी सविना पन्त । पप गीत सङ्गीतमा औधि रुची छ, उनीको । इन्दिरा जोशीदेखि अरुणा लामासम्मका गीतलाई सुन्दर ढङ्गले उतार्ने उनी नेपाली सुगम सङ्गीतकी सम्भावनायुक्त नक्षत्र हुन् । ‘सानैदेखि गीत गुनगुनाउने सबिनाको बानी नै थियो, एउटा नयाँ गीत सुन्यो कि टपक्कै टिप्ने क्षमता थियो’, सबिनाकी आमा सुशीला पन्तले भनिन् – ‘तर, यसरी गायनमै लाग्छिन् होला भन्ने सोचेकी थिइन् ।’ प्लसटु अध्ययनरत सबिना सङ्गीत अध्ययनकै लागि अबको समय खर्चिने बताउँछिन् । ‘उच्च शिक्षा पनि लिने अनि सङ्गीतमा पनि जम्दै जाने हो’, उनले भनिन् – ‘अहिले पनि प्राथमिकता पढाईलाई नै दिदै छु ।’

काँकरभिट्टा निबासी शङ्कर पन्त र सुशीला पन्तकी जेठी छोरी सबिनाले केही ‘कबर सङ’मा आवाज दिइसकेकी छिन् । वि.सं. २०५५ साल फागुन ७ गते जन्मिएकी सबिना स्कूलमा हुने स–साना कार्यक्रमदेखि झापामा आयोजित स्टेज सोहरुमा प्रस्तुति दिन थालेकी छिन् । उद्घोषण कलामा दख्खल राख्ने उनी रेडियो कार्यक्रम सञ्चालन पनि गर्छिन् ।

सबिना र सनम मात्रै होइन, स्कूले जीवनदेखि नै सङ्गीतको स्वाद बुझेका काँकरभिट्टाका युवा तिलक पाठक पनि नेपाली साङ्गीतिक आकाशमा उदाउने कोसिसमा छन् । मिठो स्वरका धनी तिलकलाई ‘सुगम पोखरेल’ उपनामले बोलाउनेहरु पनि छन् । ‘म तिलक पाठक नै हो’, उनले थपे – ‘तर, साथीहरुले माया गरेर सुगम भन्छन्, सुगम पोखरेलसँग आवाज मिल्दोजुल्दो छ रे, छ नेपाली स्टार हुनुहुन्छ, म सुगम पोखरेललाई सम्मान गर्छु ।’

तिलक हरेक दिन बिहान सङ्गीत अभ्यास गरिरहेका हुन्छन् । बुबा लिला पाठक र आमा प्रेमकुमारीका सुपुत्र तिलक वि.सं. २०५० साल असोज २५ गते जन्मिएका हुन् । भन्सार एजेन्ट रहेका तिलक काम गरिरहेकै बेला पनि गीत गुनगुनाउन व्यस्त हुन्छन् । उनी भन्छन् – ‘मेहनत गरिरहेकै छु, फलिभूत हुन समय लाग्छ, सङ्गीत साधनामा निरन्तर लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: