राजनीतिक प्रतिस्पर्धा नगरी सिद्घीखोला सिँचाई समिति बन्यो

  प्रकाशित मिति
१७ कार्तिक २०७६, आईतवार २२:१४


मेचीनगर । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अब राजनीतिक क्रान्तिको अन्त्य भएकाले सबैजना आर्थिक र समृद्घिको क्रान्तिमा अघि बढ्नुपर्ने बताएका छन् ।

सिद्घीखोला सिँचाई जल उपभोक्ता संस्थाको नवनिर्वाचित पदाधिकारीहरुको घोषण सभामा आइतवार बोल्दै प्रदेशसभा सदस्य मैनालीले यस्तो बताएका हुन् । उनले विभिन्न समयमा भएका आन्दोलनका कारण मुलुकमा धेरै परिवर्तन भएको भन्दै यो देशलाई आर्थिकरुपमा मजबुत र समृद्घशाली बनाउन आर्थिक क्रान्तिको खाँचो रहेको औँल्याए ।

वर्तमान सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपालीलाई सार्थक बनाउन पनि हरेक नेपाली एक भएर लाग्नुपर्नेमा उनको जोड थियो । हरेक जनप्रतिनिधिहरु चुनाव अघि अलगअलग दलबाट निर्वाचनमा होमिए पनि चुनावको परिणाम आइसकेपछि साझा भएर विकासका लागि अघि बढ्नुपर्ने उनको भनाई थियो ।

हरेक विकासका लागि आफू अहोरात्र बाहुनडाँगीवासीको साथमा रहने भन्दै यसै वर्षभित्र बाहुनडाँगी क्षेत्रमा सञ्चार सुविधा पुर्याउने उनले प्रतिबद्घता पनि जनाए । सभासद मैनालीले हाल १७ सय हेक्टर क्षेत्रफलमा सिँचाई गर्दै आएको सिद्घी नहरलाई २ हजार क्षेत्रफलमा पुर्याउन सुझाव पनि दिए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सामाजिक सङ्घ संस्थामा राजनीतिक प्रतिस्पर्धा भन्दा पनि सहमति र सहकार्य गर्दै अघि बढ्न जोड दिए । हरेक समस्यामा यो पार्टी, ऊ पार्टी भनेर पन्छिनु भन्दा पनि सामुहिकरुपमा अघि बढे समस्याले निकास सहजै पाउने उनले विश्वास व्यक्त गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले सहकार्य र सहमतिले नै सबै समस्या समाधान हुने भएकाले यसतर्फ लाग्न सबैमा आग्रह गरिन् । उनले सामाजिक सङ्घ संस्थामा राजनीतिक गर्नुभन्दा पनि यसको विकास र प्रबर्धनमा लाग्न जोड दिइन् ।

संस्थाको कात्तिक २ गते सम्पन्न चौथो साधारणबाट नीलकण्ठ तिवारीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको थियो । निर्वाचन समितिका संयोजक शान्ता निरौलाले कार्यक्रमको अध्यक्षता गर्दै सबै पदाधिकारीहरुको नाम घोषणा गरेकी थिइन् ।

संस्थाको उपाध्यक्षमा लिलाप्रसाद न्यौपाने, सचिवमा इन्द्रकुमार ढकाल, सहसचिवमा जितबहादुर राई, कोषाध्यक्षमा पार्वतीदेवी घिमिरे रहेका छन् । समितिको कार्यकाल तीन वर्षको हुनेछ ।

यसैगरी, सदस्यहरुमा रत्नबहादुर कार्की, शान्ताराम गुरागाईँ, सूर्य राई, लालबहादुर सुब्बा, प्रेमप्रसाद शिवाकोटी, राम गौतम, प्रणा कार्की, लीलादेवी काफ्ले, यामप्रसाद ढुङ्गेल, निखिल पोखरेल र शान्तादेवी अर्याल रहेका छन् ।

तीलजा घिमिरेले सञ्चालन गरेको घोषणा सभामा नवनिर्वाचित अध्यक्ष तिवारी, संस्थापक अध्यक्ष प्रेमराज घिमिरे, मेचीनगर २ नम्बर वडाका वडाध्यक्ष तिलक न्यौपाने लगायतले संस्थाको हित र उन्नतिका लागि हरेक किसानलाई सहजरुपमा सेवा पुर्याउन लगत राख्न समितिलाई सुझाव दिएका थिए ।

२०६२÷२०६३ मा नेपाल सरकारबाट इजाजत प्राप्त गरेर करीब ५२ करोड रुपैयाँको बजेटमा सिद्घी नहर निर्माण कार्य सम्पन्न भएको समितिले जनाएको छ । उक्त नहर तीन वर्ष अघिदेखि सञ्चालनमा आएको र हाल १७ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: