राजनीतिबाट टाढै छन् किसानहरु

  प्रकाशित मिति
४ पुष २०७३, सोमबार १०:४५


?
?

धुलावारी । मुलुकलाई सङ्घीय गणतन्त्र घोषणा गरेको दश वर्ष बितिसकेको छ । यसबिचमा थुप्रै परिवर्तन भएका छन् । गणतन्त्र स्थापना गराउन राजनीतिक दलहरुलाई नेपाली जनताले ठूलो सहयोग गरे । झापामा मात्र बसोबास रहेको लोपोन्मुख समुदाय किसानहरुले पनि परिवर्तनका खातिर दलहरुलाई सघाए । तर, सघाएकोमा उनीहरु खासै सन्तुष्ट देखिँदैनन् । ‘हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,’ किसान समुदायका एक अगुवाले भने– ‘तर समुदायको उत्थानका लागि कुनै पनि दलले चासो नदेखाउँदा दुःख लागेको छ ।’

झापाको मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारीलगायतका ठाउँमा बसोबास रहेको यो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसाले उनीहरुले आफ्नो जीविका चलाउँदै आएका छन् ।

राजनीतिमा यिनीहरुको खासै रुचि छैन । त्यही भएर पनि यिनीहरु राजनीतिदेखि डराउँछन् । अर्थात् टाढै हुन खोज्दछन् । राजनीतिक चेतनाको अभावले किसान समुदायको उत्थान हुन नसकेको बुझाइ छ । चुनावका बेला मात्र पुग्ने राजनीतिक पार्टीका नेताहरु अरुबेला यो समुदायको खोजी नै गर्दैनन् । ‘हाम्रो सोझोपनको फाइदा उठाउने काम मात्र भएको छ,’ किसान समुदाय प्रतिष्ठानका अध्यक्ष कहरु किसानले भने– ‘के गर्नु हामी पढेलेखेका परेनौ ।’

२०६८ को जनगणना अनुसार किसान समुदायको जनसङ्ख्या १ हजार ९ सय रहेको छ । त्यसमा तिनदेखि चारजना मात्र राजनीतिक तथा सामाजिक गतिविधिबारे केही बुझेका छन् । स्थानीय स्तरमा हुने कार्यव्रmममा जाने गरेकाले बाहिरी कुरा थाहा पाउने गरेको समुदायका अगुवा जोगी किसान बताउँछन् । उनी भन्छन्– ‘हाम्रा अहिलेका पुस्ताले त केही बुझेका छैनन् । केटाकेटी स्कुल जान्छन्, ठुला अरुकोमा मजदूरी गर्छन् ।’

यतिखेर मुलुकमा स्थानीय निकायको चुनावको चर्चा भइरहेको छ । चुनाव गराउनेमा प्रमुख राजनीतिक दलहरु एकमत भएका छन् । यदि चुनाव भइहाल्यो भने किसान बस्तीमा दलहरुको उपस्थिति फेरि देखिन थाल्ने छ । अनि ठूला–ठूला आश्वासन बाँड्न पछि पर्दैनन् ।

संविधानसभाको चुनावताका किसान बस्तीमा कार्यव्रmमहरु बाक्लै भए । जसले पहिला चुनावी कार्यव्रmम गरे, त्यही दललाई उनीहरुले भोट दिए । तर चुनावमा जितेका सांसद फर्किएर नआएको जोगीले गुनासो गरे । अब हुने चुनावमा पनि यस्तै धोका हुन सक्नेमा उनीहरु सशंकित छन् । ‘हाम्रा लागि यो गर्छौँ उ गर्छौँ भने तर खोई त ?’–उनले प्रश्न गरे । उनीहरुको एउटै माग छ–‘हाम्रो जातिको उत्थानका लागि दलहरुले कार्यव्रmम ल्याउन पहल गर्नुप¥यो ।’

तर, राजनीतिक दलहरु किसान समुदायको आर्थिक तथा सामाजिक विकासमा सहयोग गरेको दाबी गर्छन् । नेपाली काङ्ग्रेस झापाका सचिव प्रेम सम्वाहाम्फे किसान समुदायको शिक्षा, स्वास्थ्यलगायतमा पार्टीले सहयोग गरेको बताउँछन् । उनले गरिबी न्यूनीकरणका लागि भनेर किसान बस्तीमा सुँगुरको पाठो वितरण गरिएको बताए । ‘हामीले किसान बस्तीमा बिजुली, बाटो पु¥याउनका निम्ति पहल गरेका छौँ,’ उनले भने–‘अब प्याकेज बनाएरै किसान समुदायको विकास गर्छौँ ।’

नेकपा एमालेका एक नम्बर क्षेत्रीय इञ्चार्ज गोपाल बुढाथोकीले किसान समुदायको जीवनवृत्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताए । उनले समुदाय उत्थानका लागि पार्टीले राज्यसँग पहल गर्न भूमिका मात्र खेल्न सक्ने उल्लेख गरे । ‘पार्टीले पहलमात्र गर्ने हो,’ उनले भने–‘ यो काम त भइरहेको छ ।’

नेकपा माओवादी केन्द्रका मेचीनगर इञ्चार्ज प्रकाश भण्डारीले माओवादी आन्दोलनले किसान समुदायले पनि अधिकार प्राप्त गरेकाले यो नै ठूलो उपलब्धी भएको टिप्पणी गरे । उनले पार्टीले किसान जातिमा आइपरेका समस्यामा सहयोग गरिरहेको बताए । ‘आर्थिक रुपमा आइपरेका समस्यामा सकेजति सहयोग गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: