राजनीति र महिला आन्दोलन

  प्रकाशित मिति
३२ श्रावण २०७३, मंगलवार १६:३१


Binita Upreti

विश्व राजनीतिको केन्द्र संयुक्त राज्य अमेरिका अहिले राष्ट्रपतीय निर्वाचनको माहोलले तातिएको छ । डेमोक्य्राटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेद्वार बनेकी छिन्, हिलारी क्लिन्टन । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको उम्मेद्वार बन्ने पहिलो महिला हुन्, उनी । महिला र तथा अल्पसङ्ख्यक समुदायमा लोकप्रिय हिलारी विपक्षी डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै छिन् । हिलारी क्लिन्टनका अनुभव र योग्यताका आधारमा ट्रम्पभन्दा श्रेष्ठ छिन् । तर, हिलारी क्लिन्टनको उमेद्वारी कठिन परिस्थितिमा छ । अमेरिकाको इतिहासमा कुनै पनि पार्टी लगातार तेस्रो पटक राष्ट्रपति निर्वाचनमा सफल भएको इतिहास छैन । त्यसैले क्लिन्टनलाई चुनौती ठूलो छ ।

डेमोक्य्राटिक पार्टीको राष्ट्रिय सम्मेलनमा कार्यकर्ताले क्लिन्टनलाई विजयी बनाए । हिलारीलाई इमेलबाट महत्वपूर्ण दस्तावेज सावजनिक गरेको र लिबियासम्बन्धी विवादकै कारण केही अमेरिकी नागरिक उनीसँग रुष्ट छन् । अर्को महत्वपूर्ण सत्य चाहिँ राजनीतिक शक्तिकेन्द्र र अमेरिकी पुरुष नेताहरु हिलारीलाई राष्ट्रपतिका रुपमा देख्नै चाहाँदैनन् । यो सत्यलाई विभिन्न समय आफै पुष्टि गर्दै आएका छन्, अमेरिकी पुरुष नेताहरु । सन् १९८८ रिपब्लिकन पार्टीले तेस्रो पटक जीत हासिल गरेको थियो । त्यति बेला जर्ज डब्ल्यू बुश राष्ट्रपति भएका थिए । डेमोक्य्राटिक पार्टीकी उम्मेद्वार हिलारीलाई इतिहास बनाउने अवसर छ । साथै पुरुष सत्ताको निरन्तरको आरोहणलाई विस्थापन गर्ने अर्को अवसर पनि छ । त्यसका लागि उनले उनकै विपक्षमा रहेकाहरुलाई कुटनीतिक रुपमा परास्त गर्नु पर्छ । साथै उनीहरुलाई नै जिताउने जिम्मेवारी दिएर अमेरिकी समाजको हिरो भन्ने लक्ष्य पूरा गर्न अग्रसर हुनु पर्छ ।

नेपाली समाज भौतिक रुपमा अमेरिका जति विकसित छैन । सङ्क्रमणकालिन गणतन्त्रले नेपालमा विभिन्न किसिमका उथलपुथल ल्यायो । नेपाली महिला जागरणको क्षेत्रमा पनि ठूलो परिवर्तन ल्यायो । मान्यता नै परिवर्तन भए । राष्ट्रपतिमा विद्यादेवि भण्डारी निर्वाचित भएपछि मुलुकमा जारी महिला आन्दोलन नयाँ चरणमा प्रवेश गरेका अनुभूति भयो । त्यति मात्रै होइन, संसद्को सभामुखमा ओनसरी घर्ती मगर निर्वाचित भइन् । र, नेपालका न्यायिक व्यवस्थामै इतिहास निर्माण गर्दै सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मुलुकको महिला आन्दोलन एउटा सशक्त बिन्दुमा पुगेको टिप्पणी हुन थालेको छ । तर, यसलाई व्यवस्थित बनाउन र निरन्तरता दिन सक्नु पनि एउटा चुनौती हो । सशक्त महिला आन्दोलन, चेतनास्तर बृद्धिबाट मात्रै नेपालको राजनीतिमा महिलाको उपस्थिति प्रतिशत बढ्न सक्छ । हामीलाई यति प्रतिशत उति प्रतिशत आरक्षण चाहियो भन्नेभन्दा पनि मानसिक रुपमा सशक्त बन्ने, चेतनाको स्तर बृद्धि गर्ने र हस्तक्षेपकारी ढङ्गले उपस्थिति बढाउने अठोट लिनु नै बुद्धिमानी हुन्छ । नेपाली समाज सधैँ यही स्थितिमा रहँदैन भन्ने पुष्टि त राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशमा महिलाको उपस्थितिले गराइसकेको छ । तर, पितृसत्तात्मक समाजमा समानता स्थापित गर्न आफै अघि बढ्नु पर्छ भन्नेमा चाहिँ हामी प्रष्ट हुनै पर्छ ।

महिला सशक्तिकरणका विषयमा व्यापक बहस भइरहेका छन् । शिक्षा र चेतनाको स्तर अहिले व्यापक ढङ्गले अघि बढिरहेको छ । यद्यपि शिक्षाले पनि महिलालाई शैक्षिक ज्ञान र जानकारी दिएपनि सशक्त बनाउन सकेको छैन । र, के कारणहरु छन् त यो समाजमा जसले गर्दा महिला सशक्तिकरणको विषय प्रचारमै सीमित भएको छ । महिला विशेष कार्यक्रम परिचालन भइराखेका छन् । तर, किन समाजमा महिला सुरक्षाको प्रश्न अझै जटिल नै छ त ? यसको जवाफ हामी आफैले खोज्नु पर्छ । कम्तिमा सामाजिक सुरक्षाको दायित्व बहन गर्न सक्ने स्थितिमा आफूलाई पुर्याउनु चाहिँ नेपाली नारीको अहिलेको मुख्य कार्य हो । अरुले सुरक्षा गरिदेलान् भनेर बस्नु कदाचित न्याय सङ्गत हुँदैन । आफैमाथिको अन्याय हो त्यो । त्यसैले मानसिक कमजोरी अब हटाउनै पर्छ ।

प्रत्येक व्यक्तिमा आत्मनिर्भर बन्न सक्ने खुबी हुन्छ । आत्मविश्वास, कुनै पनि गाह्रो स्थितिलाई ढिट भएर सामाना गर्न सक्नु, परिस्थितिलाई सम्हाल्न सक्ने क्षमताको विकास गर्नु पर्छ । यदि कसैलाई आत्मनिर्भर बनाउन प्रेरणा दिइन्छ, उत्साहित गरिन्छ, त्यो प्रक्रियालाई सशक्तिकरणको एउटा खुड्किलोकै रुममा लिनु पर्छ । वर्तमानलाई अध्ययन गरौँ, विगतलाई स्मरण गरौँ । र, भविश्यको बाटो तय गरौँ । विश्वभरकै महिला विभिन्न क्षेत्रमा सक्रिय छन् । सफल छन् । र, विश्वको नेतृत्व गर्ने दिशामा अग्रसर छन् । पछिल्लो समय तुलनात्मक रुपमा महिला आन्दोलन सफल र उन्नत स्थितिमा पुगेको छ । तर, अझै पनि चुप लागेर बस्ने स्थिति छैन नै । नेपालमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । यो प्रतिशतको मापदण्ड महिलाको शारीरिक, मानसिक र बौद्धिक विकासको मानक हुन सक्दैन ।

नेपालमा महिलाको सहभागिताको कुरा गरौँ, कृषि, व्यापार, शिक्षण व्यवसाय आदिमा महिलाको उल्लेख्य सहभागिता छ । तर, प्रतिस्पर्धात्मक छैन । शिक्षण पेशामा हेरौँ, विद्यालयमा सर्बे गर्ने हो भने पुरुषको सङ्ख्या धेरै भेटिन्छ । राजनीतिमा पनि यस्तैै छ हालत, अझ बढी महिलाको संख्या न्युन देखिन्छ । यस्तै अरु क्षेत्रमा पनि महिलाको सङ्ख्या न्युन देखिन्छ । जन्मिँदै कोही श्रेष्ठतम् गुणयुक्त हुँदैन । बुद्धिमान हुँदैन । क्षमता विकासका लागि कडा परिश्रम र अध्ययन चाहिन्छ । व्यक्ति मुख्यतः दुई वटा कारणले ज्ञान आर्जन गर्छ । पहिलो, शैक्षिक क्षेत्र वा अध्ययनबाट । दोस्रो, परिस्थितिजन्य सिकाईबाट । हाम्रो समाजमा पुरुष मात्रै जन्मसिद्ध बुद्धिमान र सशक्त हुन्छन् भन्ने मानसिकता अन्त्य गर्नु पर्छ । धर्मकै आधारमा भन्नुपर्दा पनि नारीलाई आदिशक्ति, देवी, पार्वती जस्ता प्रतिमा–उपमा दिइन्छ । सम्मान गरिन्छ । पुरुष जति सक्षम हुन्छन्, महिला पनि त्यति नै सक्षम हुन सक्छन् । तर, आवश्यक छ त केवल मौकाको, खोज र अध्ययनको । उदाहरणको रुपमा अहिले महिलाहरुले सवारीसाधनको प्रयोग र व्यावसायिक प्रयोगले पनि पुष्टि गर्छ । कोही देश चलाउँछन्, कोही मेस चलाउँछन् । तर, जेभए पनि आफ्नो क्षेत्रमा अब्बल हुँदै द्धन् । महिलाहरु सक्षम छन् । सुधार पनि हुँदैछ ।

अब जरुरी महिला सशक्तिकरणका नाममा सङ्ख्या वा आँकडालाई गन्ने मात्र होइन । वास्तविक स्तरबृद्धि भएको छ भन्ने प्रमाणित गर्नु पनि छ । सशक्तिकरणको लाभ स्वयम्सँगै परिवार, समाज र देशले प्रत्यक्ष रुपमा लिन सक्छ । महिला सशक्तिकरण कार्यक्रम जति धेरै ल्याइए, त्यति नै धेरै सामाजिक परिवर्तनमा टेवा पुग्छ । त्यसैले समाजलाई परिवर्तनको अनुभूति दिन आजको विश्व हाँक्ने आँट हामी नारीले गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: