मेचीनगर । पूर्व पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न व्यवसायी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्ड मेचीनगर नगरपालिकाले हटाउन सुरु गरेको छ ।
पूर्वाञ्चल डिभिजन सडक कार्यालय दमकले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहराहरु हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफैले त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्ये बताए ।
नगरपालिकाले वडा नं. ६ स्थित पूर्वी प्रवेशद्वार काँकरभिट्टाबाट होर्डिङ बोर्ड लगायतका प्रचार सागम्री हटाउन सुरु गरेको छ ।
यस कार्यमा नगरपालिकाले नगर प्रहरी र विद्युतका कर्मचारी परिचालन गरेको छ ।
सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्ड अनुसार राजमार्गको दायाँ र वायाँ २५÷२५ मिटरलाई सडक क्षेत्र मानिन्छ । सो क्षेत्र अतिक्रमण गरेर घरटहरा बनाइन पाइँदैन ।
नगरपालिकाले राजमार्ग अतिक्रमण गरेर राखिएका होर्डिङ बोर्ड हटाउन माइकिङ गरी सम्बन्धित व्यवसायी तथा संस्थालाई दुई साताको समय दिएको थियो ।
थर सो अवधिमा हटाउन अटेर गरिए पछि नगरपालिका बाध्य भएर आफै हटाउन लागिपरेको नगर प्रहरी दिनेश गुरागाई बताउँछन् ।
नगरपालिकाले काँकरभिट्टाबाट सुरु गरेको राजमार्ग अतिक्रमण हटाउने अभियान इटाभट्टा, धुलावारी र चारआली क्षेत्रमा समेत लैजाँदै छ ।
काँकरभिट्टाबाट शुक्रवार हटाइएका प्रचार सामग्रीमा धेरैजसो होटल, हस्पिटल र गैरसरकारी संस्थाको सन्देश बोर्डहरु छन् ।
नगरपालिकाले सरकारी सूचना सन्देश भएको बोर्ड भने हटाएको छैन ।