राजाबादीहरुको निरर्थक उत्साह

  प्रकाशित मिति
२१ मंसिर २०७७, आईतवार १३:१३


‘राजा आउ देश बचाउ’ को नारासहित देशका बिभिन्न स्थानमा र्र्यालि र प्रदर्शन भइरहेका छन् र ती प्रदर्शनका सहभागीहरुमा भंयकर आक्रोस र ठुलो उत्साह रहेको सहजै अन्दाज गर्न सकिन्छ । त्यो आक्रोश, उत्साह र एैक्यबद्धतालाई लोकतान्त्रिक पद्धतिमार्फत कुनै अग्रगामी मुद्दा स्थापनार्थ प्रयोग गरिन्थ्यो भने त्यसले सुन्दर समाजको निर्माणमा केही सकारात्मक योगदान पुर्याउने आश गर्न सकिने ठाउँ थियो । तर, आम नागरिकका आक्रोशलाई केही थान कुण्थित दक्षिणपन्थीहरुले तुरुप बनाएको बुझ्न त्यति कठीन छैन । धेरै जसो आधारीहन र अप्रमाणित तर्कहरु अघि सारेर गरिने यस किसिमका प्रदर्शनहरुले कुनै निश्चित आकार र गति ग्रहण गर्न सक्दैन भन्ने कुरा पटक पटक प्रमाणित भइसकेको तथ्य हो । पश्चगामी आशयसहितका यस्ता आन्दोलनहरु लोकतन्त्रको ढाडमा टेकेर गणतन्त्रलाई गाली गर्न अभ्यस्त छ । संघीयता, लोकतन्त्र र धार्मिक निरपेक्षतालाई दुत्कारेरै टिकेका पश्चगामी झुण्डहरुसँग समाज परिवर्तनको निम्ति आवश्यक कुनै पनि प्रगतिशील मुद्दाहरु छैन । प्रतिगमनको आशय ब्यक्त गर्न कतै नहिच्किचाउने यो भिडको अनवरत एउटै रटान छ, ‘राजा आउ देश बचाउ !’ मानौ यो देशमा राजा कहिल्यै थिएनन् र राजतन्त्र नेपालको निम्ति एउटा नौलो अभ्यास हुनेछ ।

२०६१ सालको ‘कु’ मार्फत सत्तामा आए पश्चात तत्कालिन राजा ज्ञानेन्द्र आफ्नो ‘कु’ लाई बैधानिकता दिन मुलुकका बिभिन्न स्थानमा भ्रमण गर्ने क्रममा पनि यस्ता झुँडहरु प्रकट नभएका होइनन् । तर त्यसको एक बर्ष भित्र नै ‘ज्ञाने चोर देश छोड’ भन्दै लाखौं जनताहरु सडकमा निस्किए र ज्ञानेन्द्र शाहलाई सत्ताबाट च्युत गराए । स्पष्ट छ ः मौजुदा लोकतान्त्रिक व्यवस्थाप्रति आक्रोसको धारे हात प्रदर्शन गर्नु एउटा कुरा हो तर लोकतन्त्रलाई नै ललकारेर राज संस्थाको पुनर्बहाली गराउनु नै प्रदर्शनमा सहभागीहरुको अन्तिम ध्येय हो भनेर बिश्वास गर्न सकिने आधार न्यन छ । बिगतले प्रमाणित गरिसकेको छ, केही हजार आक्रोशित नागरिकहरु सडकमा आएर ‘गणतन्त्र मुर्दाबाद’ सम्म भनिदेलान तर आफ्नो आधारभूत स्वतन्त्रालाई पटक पटक घाँटी निमोठ्ने कुत्सित अभीष्ट प्रदर्शन गरिसकेको राजसंस्थालाइ फेरि ब्यूताउलान् भन्ने कुरा टाउको दुखाइरहनु पर्ने बिषय नै होइन ।

राजतन्त्र एउटा ब्यक्तिको लहडमा चल्ने निरंकुश शासन ब्यवस्था हो र यसमा सामाजिक गतिशीलताका अबयवहरु पूर्णरुपमा निष्क्रिय हुन्छन् । फलत ः समाजमा यथास्थीतिबाद हाबी हुन्छ भन्ने सत्य हामीले अनुभव गरिसकेका छौं । करिब २५० बर्ष शासनमा रही मुलुकको चरम दोहन गरेर समग्र आर्थिक, राजनीतिक र सामाजिक प्रगतिलाई ठप्प पार्ने शाहबंशका अन्तिम मतियार ज्ञानेन्द्र शाहलाई आफ्नै वंश नास गरेको अप्रमाणित कलंक लागेको भए पनि नेपाली जनताले संबैधानिक राजाको रुपमा स्विकारेकै थिए । प्रजातन्त्रलाई निलम्बन गरेर निरंकुश शासकको रुपमा हावी हुन उद्धत ज्ञानेन्द्र शाहलाई सत्ताच्युत गरिसके पछि पनि एउटा नेपाली नागरिकसरह सम्मानपूर्वक जिउन पाउने अधिकार दिएकै हो ।

त्यसो भए किन संघीयताको खारेजी र राजासहितको हिन्दु राष्ट्रको मागसहित हजारांै जनताहरु सडकमा निस्किए त ? यो अहम प्रश्न हो र यसमाथि बिमर्श जरुरी छ । नागरिक सहभागिता लोकतन्त्रको अनिबार्य शर्त हो र बिद्यमान शासन ब्यवस्थामा प्रत्येक नागरिकले आफू समाबेश रहेको महशुस गर्नु गणतन्त्रको मुख्य चरित्र हो । राजनीतिक प्रक्रियाहरुमा प्रत्यक्ष भाग लिएर आम जनताहरु तमाम लोकतान्त्रिक संयन्त्रमा सरिक भइरहेका हुन्छन् । मुलतः आवधिक निर्बाचनमार्फत आफूले रोजेको प्रतिनिधि चुनेर राज्यको शासन ब्यवस्थामा आफ्नो उपस्थिति जनाइरहेका हुन्छन् । तर जनप्रतिनिधीहरु सत्तामा पुगेपछि आम जनजीवनका बिषयहरु भुलेर निजी स्वार्थमा लिप्त हुन थाल्छन् । जनताहरुले आफूमाथि धोखा भएको महशुस गर्छन् । लोकतान्त्रिक प्रक्रियाहरुले जब आम जनजीवन र नागरिकका प्रत्यक्ष सरोकारका बिषयहरुलाई सम्बोधन गर्न असमर्थ हुन्छ केही प्रश्नहरु स्वतः उत्पन्न हुन्छन् । जनप्रतिनीधि को हुन् ? कसका प्रतिनिधी हुन् ,के गरिरहेका छन् र कसको प्रतिनिधित्व गरिरहेका छन् ? यी प्रश्नहरुलाई पृष्ठभूमिमा राखेर हाल बिकसित राजनैतिक घटनाक्रम र त्यसले राजाबादीहरुको उत्साहलाई कसरी प्रशय गरिरहेको छ भन्ने बारेमा केही चर्चा गरौ।

संबिधान निर्माण पछिको पहिलो प्रधानमन्त्री भएको कारण बर्तमान प्रधानमन्त्री खडगप्रसाद ओलिको काँधमा नेपालको संबिधान २०७२ ले सुनिश्चित गरेको राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्नु पर्ने ठूलो जिम्मेवारी थियो तर उनले त्यो जिम्मेवारी बहन गर्ने रुचि देखाएनन् । राष्ट्रबाद र बिकासको नारालाई मुल पुर्जा बनाएर सत्ता हासिल गरेका बर्तमान प्रधानमन्त्रीको अधिकांश समय तिनै उटपट्याङ नाराहरुको पक्षपोषण गर्नमा खर्च भयो । संबिधानले प्रदत्त गरेको संघीयता र धार्मिक निरपेक्षताको प्रयोजनलाई धुलिसात पार्न स्वयम् लागि परेका प्रधानमन्त्रीको बचे खुचेको समय ठूला भ्रष्टाचारका काण्डहरुमा मुछिएका आफ्ना प्रियपात्रहरुको बचाव र सत्तारुढ दल नेकपाको आन्तरिक कलह ब्यवस्थापनमा बित्यो । महामारीको कहरले थलिएको शरीर र भयाबह आर्थिक चुनौतिले भयभित जनताहरुलाई टेक्ने समाउने कुनै हतियार उपलब्ध छैन । चौतर्फी निराशाले जेलिएका जनताहरुलाई यो आन्दोलनले आफ्नो रोश प्रकट गर्ने माध्यम प्रदान गरेको छ ।

कर्पोरेट संसारमा ‘सेल्फ हेल्प’ पुस्तकहरु निकै चर्चामा रहन्छन् । धनी बन्ने सपना देखेरै धनी बन्न सकिने देखि बिहान ५ बजे उठेरै जीवनका सारा समस्याहरुका हल हुने जस्ता सस्ता औजारहरुको बिक्री गर्ने यस्ता ‘स्वबिकासे’ पुस्तकहरु संघर्षशील जागिरेहरुको ठूलो आकर्षण हुने गर्दछ । जागिरे जीवनमा भोग्नु परने यावत संकटहरु, असफलताका क्षणहरुसँग जुध्न यस्ता पुस्तकहरुले केही सहयोग पनि गर्लान् तर त्यस्ता पुस्तक पढेरे मानिस सफल हुन्छ भनेर पत्याउन सकिदैन । त्यसरी नै लोकतन्त्रले अपेक्षा गरे बमोजिम नतिजा नल्याएको झोकमा ‘गणतन्त्र मुर्दाबाद’ भन्दै केही युवाहरु जम्मा भएर आफ्नो आक्रोशलाई साम्यसम्म पार्न सक्लान् । तर, त्यो आक्रोशले राजसंस्थालाई फेरि स्थापित गर्ला भनी बिश्वास गर्न सकिदैन । ‘राजा आउ देश बचाउ’ भन्ने सेल्फ हेल्प पुस्तक पढ्न छोडेर त्यसमा खर्च हुने समय र शक्ति अन्य् सृजनशील कार्यमा खर्च गरे समाजलाई केही सकारात्मक योगदान पुग्ने थियो ।

प्रशिद्ध दार्शनिक कार्ल पोप्पर खुला समाजमा ब्यैक्तिक स्वतन्त्रता असीमित नहुने तर्क अघि सार्दै यसो भन्छन् – खुला समाजमा स्वतन्त्रा र सहिष्णुता असीमित हुन्छन् भन्ने कुरा मान्न सकिदैन । स्वतन्त्रा र सहिष्णुताको प्रतिपूर्ति गर्न तयार रहनेहरुको लागि स्वतन्त्राको ग्यारेण्टी गरिनु पर्छ तर यो प्रक्रियामा असहिष्णुता र हिंसा भडकाउन खोज्नेहरुलाई सामेल गरिनु हँुदैन । जन आन्दोलनको भावना अनुसार प्राप्त भएका स्वतन्त्रालाई प्रतिपूर्ति गर्न नचाहने असहिष्णु प्रतिगामी झुण्डहरुको स्वतन्त्रता माथि पनि नजर लाउनु पर्ने बेला आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: