राजा, पूर्वराजा र ज्ञानेन्द्र शाह

  प्रकाशित मिति
१६ पुष २०७३, शनिबार १३:०७


संविधान संशोधन र निर्वाचनको लोकदोहोरीकै बिच मन्त्री परिषद्सँगै तत्को राजनीतिक बृत्तमा नयाँ हल्लीखल्ली मच्चियो । मनुवाका आ–आफ्नै पाराका कथनहरुले बचेरा काढे । कसैले राजा ज्ञानेन्द्र बोले भने, कसैले पूर्व राजा ज्ञानेन्द्रले बोले भने त कसैले ज्ञानेन्द्र शाह बोले भने । आ–आफ्नै गच्छे र ल्याकत अनुसार जो–जो मनुवाको मनले जे–जे मर्जी गरेपनि कसैका लागि राजा, कसैका पूर्व राजा र कसैका ज्ञानेन्द्र शाह नै हुन् ।

जुक्ति बुद्धिको घुमाउरो तर्कलाई जेबमै राखेर बोल्ने हो भने राजा, पूर्वराजा र ज्ञानेन्द्र शाहको पछिल्लो विज्ञप्ति बोली कसैलाई प्रतिगामी लाग्न सक्छ त कसैलाई आत्मरति पनि बन्न सक्छ । त्यतिमात्रै होइन, कसैलाई घनघोरको राष्ट्रवादी लागे पनि सिधा कुरो कसैले के–के न हो भनेर कोकोहोलो मच्चाइरहनु पर्ने विषय हो जस्तो लाग्दैन । लोकतन्त्रमा बोल्न पाइन्छ भने लोकतन्त्रमा लेख्न पाइन्छ भने लोकतन्त्रमा देख्न पाइन्छ भने लोकतन्त्र भनेको सत्ता मण्डलीको जप्ने माला नभइ नेपालीजनको स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार सुरक्षित रहेको व्यवस्था हो । यदि राजा, पूर्वराजा र ज्ञानेन्द्र शाह अहिलेको लोकतान्त्रिक व्यवस्थामा नागरिक सरह नै छन् भने र उनको हैसियत आमनागरिक सरह नै हुन्छ भने कसैका लागि राजा, कसैका पूर्वराजा त कसैका ज्ञानेन्द्र शाह अर्थात् हामीले जान्दै सुन्दै आएका ज्ञानेन्द्र नाम गरेका नागरिकले देशमा जे भएको छ त्यो भन्न पाउने कि नपाउने ? आफ्नै आँखाका देखमा भइरहेका छल्ली–छल्ली लीला यस्तो भो भनेर विज्ञप्तिका रुपमा बोल्न पाउने कि नपाउने ? ज्ञानेन्द्र नाममा आएको एउटै विज्ञप्तिले आज किन यति साह्रो उखरमाउलो मच्चाइरहेको छ ? मलाई त लाग्छ, म र ज्ञानेन्द्र नाम गरेका यो देशका दुवै समान नागरिक हौँ । तर, म र हामीजस्ता मनुवाले पटक–पटक दलका डफेदारले गरेका विविध कर्महरुका बारेमा र रचेका दफे दफेका प्रपञ्चका फेहरिस्त सञ्चारमाध्यम मार्फत् सार्वजनिक गरिरहँदा एउटा लुखुरे वताससम्म नआउनु र ज्ञानेन्द्रले एउटा विज्ञप्ति बोल्ने वित्तिकै शक्तिशाली पदका अंशियारहरु आत्तिनु पर्ने के त्यस्तो गाँठी कुरा छ ?

विषय र प्रसङ्गलाई अर्को अर्थ नलाग्ने शर्तमा भन्ने हो भने वर्तमान राजनीति हाट बजारको दुरुस्तै दर्पण हो ज्ञानेन्द्रको पछिल्लो बोली विज्ञप्तिमा अर्को कुनै नियत छैन भने त्यसलाई पार्टी पोलिटिक्सको घुर्मैलो चिन्तनबाट मुक्त भएर हिमाल पहाड तराई मधेशको एकता र सद्भावको चिन्तनबाट अनि सिङ्गो राष्ट्र वर्तमानमा हिँडिरहेको गम्भीर बुझाइबाट आत्मसात गर्नु बुद्धिमता होला । हुन त यो विषयको यसरी उठान गरिरहँदा केही अति बुझक्कडहरुबाट राजावादी, पूर्वराजावादी र ज्ञानेन्द्रवादी त्यसले पनि अपुग भयो भने प्रतिगामी, पश्चगामी र मण्डलेको तक्मा नपाइएला भन्न सकिदैन किन कि यहाँ कागलाई रङ्गाएर कोइली बनाउने गरिन्छ अनि आमाका माखामुन्द्रा बेचेर श्रीमतीजीलाई व्रिmम, पाउडर खरिद गरी खुसी पार्ने चलन छ । तर, सत्य त पक्कै पनि एउटै हुन्छ होला । त्यति मात्र होइन, यो देशमा कसैले कसैलाई खुइल्याउनु प¥यो भने कि दक्षिणमुखी कि उत्तरमुखी कि त दरवारिया भन्दिए पुग्छ । तर, न त अहिले यो देशमा राजतन्त्र नै छ न राजतन्त्रको राजा बस्ने दरवार नै । फेरि पनि सत्य–सत्य नै हुन्छ । पाउमा दाम चढाएर निगुरमुन्टी लगाउने मनुवाहरु पनि व्रmान्तिकारी र प्रजातान्त्रिकको हेमानको पगरी गुथेर गजक्क परेर हाम्रै आँखा अगाडि जुल्फी हल्लाइरहेकै छन् । प्रसङ्गतर्फ नै लाग्ने हो भने ज्ञानेन्द्रकै विज्ञप्ति वरिपरि हुनु मनासिव होला । सञ्चार जगतमा पहुँच पुग्थ्यो भने ज्ञानेन्द्रका जस्ता असन्तुष्टिले टनाटन भएका विज्ञप्तिहरुको उरुङ्ले सञ्चार संस्थाका विज्ञापन राख्ने ठाउँ पनि रहने थिएनन् । सिङ्गो राष्ट्रको वर्तमानको असन्तुष्टिको थुप्रो लगाउने हो भने हेमानको अर्को सगरमाथा बन्छ भन्दा त्यति बढी काल्पनिक नहोला । राजा, पूर्वराजा र ज्ञानेन्द्र शाह भएकै कारणले भन्नुपर्छ यो साता वालुवाटारदेखि गोपेटारसम्म यसको चर्चो सुनियो तर सञ्चारमाध्यममा नआएका भएपनि बढ्दो बेथितिका बारेमा जनताको असन्तुष्टी र आलश्य बढ्दो भुसको आगोको रुपमा सल्कदै छ होला भन्ने कुरा सम्मानित नेता मण्डलीहरुका अक्कलमा कति दख्खल परेको छ भन्ने कुरा महत्वपूर्ण हो । सफा रुपमा ज्ञानेन्द्रको विज्ञप्ति चिन्ताले व्यक्त भएर पोखिएको हो भने यो लोकतान्त्रिक वर्तमान नेपालका जन–जनका मनबाट छचल्किएको असन्तुष्टिको प्रतिनिधि रुप पनि हो । यसलाई किन वर्तमान लोकतान्त्रिक भनिने राज्य व्यवस्थामा देखिएको सत्ताको झिना झप्टीबाट आजित भएका नेपाली जनताको असन्तुष्टिको प्रतिनिधिपात्र नमान्ने ? थिति हैन, यहाँ चरम वेथिति बढेको छ ।

समृद्धिका एकपाथी कुरा हुन्छन् काम लालको पनि हुँदैन । लोकतन्त्रको भरमार गुड्डी हाँकिन्छ तर अलोकतान्त्रिक चरित्र नै हावी हुँदै गएको छ । भनौँ न, लोकतान्त्रिक व्यवस्थामा जे हुनुपथ्र्यो र जे हुन्थ्यो त्यो नहुनु, जे नहुनु पथ्र्यो त्यो हुनु नै आम जनताको असन्तुष्टिको अभिव्यक्ति हो भन्ने कुरालाई सत्ताका ठेकेदारहरुले बुझेर पनि नबुझे झैँ गर्ने अलोकतान्त्रिक व्यवहार र चरित्रकै कारण पछिल्लो विज्ञप्तिले जनसमर्थन पाउला कि भनेर नेताहरुले आतिने भन्दा आफूले आफैलाई समीक्षा गर्न पनि यो विज्ञप्तिले पाठ पढाए जस्तो लाग्छ । सत्तामा पुग्न र सरकारमा बस्न जनतासामू असरल्ल सपनाको विस्कुन फिँजाएर अन्त्यमा सरकार बनाउने, सरकार ढाल्ने, मन्त्री बन्ने, उद्घाटन गर्ने र विकास छर्ने बाहेक जनताले के महसुस गर्न पाएका छन् र ? अनि घुमिफिरि रुम्झाटार भने झैँ सङ्क्रमणकालको हात्तीको दाँत देखाएर यथास्थितिमै रमाउने र त्यसैभित्र कुर्सीको न्यानोमा ढल्किरहने सत्तामुखी चरित्रकै कारण हिजोका दिनमा राजनीतिक दलहरुबाट र त्यसको नेतृत्व गर्ने नेताहरुबाट जनताले जे अपेक्षा गरेका थिए के ती जनताका सपना र अपेक्षाहरुमा नेताहरुले खेलवाड गरेका छौँ कि छैनौँ भनेर कुनै दिन आत्मसमीक्षा गरिएको छ ? ज्ञानेन्द्रको विज्ञप्तिले पनि यही प्रश्न आज तेस्र्याउन पाएको छ । तर यो फगत ज्ञानेन्द्रको मात्रै विज्ञप्ति हो भनेर बुझ्नुभन्दा आमनेपाली जनताको साझा असन्तुष्टिको अभिव्यक्ति हो भनेर बुझ्दा अझ श्रेयकर बन्न सक्छ ।

कसैका लागि राजा, कसैका लागि पूर्वराजा र कसैका ज्ञानेन्द्र शाह होलान् तर राजतन्त्र नभएर यो मुलुकमा अहिले लोकतन्त्र छ । लोकतन्त्रमा सत्तामा बस्ने बाहेक सायद अरु नागरिक वा जनता नै हुन्छन् होला । यसर्थ ज्ञानेन्द्र पनि नागरिक नै हुन् । तर, एउटा नागरिकले आफ्ना असन्तुष्टिलाई शव्दमार्फत् सार्वजनिक गर्दा किन यत्रो चर्चा बहस र छलफल भयो ? के एउटा नागरिकले विज्ञप्ति निकाल्दा मन्त्री परिषद्मै छलफल गर्नुपर्छ र ? यदि त्यस्तो हो भने भोलिदेखि यस्ता असन्तुष्टिका र चिन्ताका विषयलाई समेटिएका लाखौँ विज्ञप्ति निस्कन सक्छन् । ती सबैका विषयमा मन्त्री परिषद्ले छलफल गर्न सक्छ कि सक्दैन ? होइन भने राजा, पूर्वराजा र ज्ञानेन्द्र शाहको वास्तविक पदीय हैसियत के हो ? जसले एउटा विज्ञप्ति फ्याँक्दैमा मन्त्रिपरिषद्मै छलफल गर्ने विषय बनियो । यसको जवाफ पनि मन्त्री परिषद्बाटै दिन मिल्छ कि मिल्दैन । मिल्छ भने पाउन सकिन्छ कि ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: