राज्यमन्त्री आउँदा स्वास्थ्य कार्यालयको मूलगेटमा ताला

  प्रकाशित मिति
१९ बैशाख २०७७, शुक्रबार १६:५५


स्वास्थ्य कार्यालयमा अत्यावश्यक सामान हस्तान्तरण गरेर फर्किदै राज्यमन्त्री गजमेर ।

भद्रपुर, १९ वैशाख । दुई जनामा कोरोना पुष्टि भएको झापा जिल्लामा स्वास्थ्यकर्मीका लागि पीपीई लगायतका स्वास्थ्य सामान पुर्याउन विराटनगरबाट सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर शुक्रवार दिउँसो आइपुग्दा भद्रपुरस्थित स्वास्थ्य कार्यालयमा ताला झुण्डिएको थियो ।

दिउँसो १२ बजेर ३० मिनट जाँदा राज्यमन्त्री गजमेर एक जना सहयोगी र अर्का एक जना सुरक्षाकर्मीसँग कोरोना नियन्त्रण तथा उपचारमा अति आवश्यक पीपीई लगायतका सामग्री लिएर स्वास्थ्य कार्यालयको गेटमा आइपुगेकी थिइन् ।

तर उनी आइपुग्दा कार्यालयको मूलगेटमा ठूलो ताला झुण्डिएको थियो । कार्यालयमा कोही पनि थिएनन् । करीव १५ मिनेट राज्यमन्त्री गजमेर गेटमै उभिएर कर्मचारीलाई पर्खिएर बसिन् । राज्यमन्त्रीका सहयोगीले कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई फोनबाट सम्पर्क गरेर बोलाए ।

राज्यमन्त्री गेटमै रोकिएको पन्ध्र मिनेटपछि एक जना कर्मचारी साइकल चढेर गेट खोल्न आए । त्यसपछि राज्यमन्त्रीको गाडी कार्यालयको परिसरभित्र पस्यो ।

ती कर्मचारीले कार्यालय भवनको चेनगेटको ताला पनि खोलिदिए । राज्यमन्त्री सरासर कार्यालय प्रमुखको कक्षमा गइन् । त्यहाँ पुगेर पनि उनले अरु १० मिनेटभन्दा ज्यादा पर्खेपछि बल्ल निमित्त प्रमुख पौडेल आइपुगे । सो अवसरमा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा पनि उपस्थित थिए ।

‘कोरोना भाइरसको सङ्क्रमित फेला परेको बाह्रदशीबाट स्वास्थ्य सामग्रीको माग बारम्बार भएपछि म आफै अर्जेन्ट सामान लिएर आएकी छु’–राज्यमन्त्री गजमेरले स्वास्थ्य कार्यालयमा सामान हस्तान्तरण गर्दै भनिन् । तर कार्यालय बन्द रहेको र कार्यालय प्रमुखलाई पर्खनु परेकोमा उनले कुनै गुनासो गरिनन् । बरु कोरोना नियन्त्रण अभियानमा कुनै अभाव भए आफुलाई भन्न आग्रह गर्दै सकेसम्म समाधान खोज्न सघाउने उनले कार्यालय प्रमुख पौडेललाई आश्वासन दिइन् ।

राज्यमन्त्री गजमेरले १५० थान पीपीई, २८०० थान सर्जिकल मास्क, ५०० थान ग्लोब र १५० थान एन–९५ मास्क ल्याएकी थिइन् । ती सामान कार्यालयका प्रमुख पौडेललाई हस्तान्तरण गरेर राज्यमन्त्री गजमेर कोरोना प्रभावित बाह्रदशी गाउँपालिकातर्फ लागिन् ।

विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफै ती सामान लिएर गृहजिल्लाको भद्रपुर आएकी थिइन् । उनले शुक्रवार बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्या बुझेकी छन् । उनले आफु तामझाम र प्रचारको पक्षमा नरहेको भन्दै सामान हस्तान्तरणको फोटो नखिच्न पत्रकारहरुलाईै आग्रह गरिन् ।

झापाको पहिलो कोरोना दमकमा र दोस्रो कोरोना बाह्रदशीमा पुष्टि भएको छ । दुबै क्षेत्रमा निगरानी र स्वास्थ्य परीक्षण तीब्र पारिएको हुँदा व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री र कोरोना जाँच्ने किटको माग बढिरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले बताएका छन् ।

स्वास्थ्य कार्यालयका कर्मचारीहरु विभिन्न गाउँपालिका र नगरपालिकामा कोरोना रोकथाम र जाँच अभियानमा खटिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: