।। अर्जुन कार्की ।।
मेचीनगर । कोरोनाका कारण सीमा नाका बन्द भएपनि झापाको विभिन्न ठाउँको वोर्डरमा अवैध सामानको ओसार–पसार धमाधम भइरहेको छ ।
भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकाबाट अवैध सामानको ओसार–पसार दिनहुँ भइरहेको छ ।
झापाको गौरीगञ्जदेखि इलामको सलकपुर सम्मको ११८ किलोमिटर सीमा नाकाबाट तस्करीले सुपाडी, मटर लगातयका सामान भारत तस्करी गर्ने र भारतबाट कपडा, मोटरपार्टस, रजनीगन्धा लगायतका सामान नेपाल भित्राउने काम भइरहेको छ ।
मेचीनगर–७ को सतिघट्टा, वडा नम्बर ९ को नकलबन्दा, वडा नम्बर ४ को प्रसाद गौडा, वडा नम्बर १ को तिरिङ्सँग सीमा जोडिएको मेची खोलाबाट रातभरी अवैधरुपमा सामान तस्करी हुने गरेको स्थानीयको भनाई छ ।
त्यस्तै भद्रपुर, पृथ्वीनगर, केचना, गौरगिञ्ज लगायतका ठाउाबाट पनि अवैध रुपमा सामान तस्करी हुने गरेको प्रहरीको भनाई छ ।
राती करिव १० वजेदेखि विहान २ वजेसम्म मेची खोलामा दुवै देशका व्यापारी र भरियाहरुले मालसामान ओसारपसार गर्ने गरेको उनीहरुको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्ले पनि यो कुरा पुष्टि गरेको छ । प्रहरीका अनुसार गत असार र साउन महिनाको ८ गते सम्मको तथ्याङ्क अनुसार तस्करीले राती लैजादै गरेको करिव ११ लाख मुल्य बराबरको सुपाडी वरामद गरेको छ ।
सुपाडी, मोटरपार्टस, सुर्ति, पिठो, पास्ता, चिनी, सुट कपडा, कुर्थी, ओखर, क्रिम लगायतका अन्य सामान समेत अवैधरुपमा तस्करी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले खुला बोर्डरका कारण तस्करीले चलखेल गर्ने प्रयास गरेको बताए । उनका अनुसार स्थानीय, जनप्रतिनिधि तथा सुरक्षाकर्मी सहकार्य गरेर गए तस्करी रोक्न सकिने उनले दावी गरे ।
डिएसपी पोखरेलले सीमा नाकाको कुनै पनि ठाउँमा कसैले तस्करी गरिरहेको थाहा पाए तत्काल प्रहरीलाई खवर गर्न स्थानीयलाई आग्रह समेत गरेका छन् ।
रातभरी मेची खोलाको दशगजामा दुवै देशका मान्छेले सामान यताको उता, उताको यता गर्दा कोरोना सर्ने जोखिम समेत प्रवल रहेको स्थानीयको बुझाई छ ।