राधास्वामीका मालिकले लकडाउनमै खेदाए मजदुर

  प्रकाशित मिति
१३ चैत्र २०७६, बिहीबार १७:३२


ज्यामिरगढीबाट सप्तरीतिर पैदलै जाँदै राधास्वामी प्लाइउडका मजदुरहरु । (फोटो उदय बराइलीको फेसबुकबाट)

मेचीनगर । लकडाउन जस्तो सङ्कटका बेला मेचीनगर–१५ ज्यामिरगढीमा रहेको राधास्वामी प्लाइउड उद्योगले आफ्ना मजदुरलाई पारिश्रमिक समेत नदिई घर जान जान बाध्य बनाएको छ ।

धुलावारीबाट ५ किलोमिटर दक्षिण लालझोडामा रहेको उद्योगमा कार्यरत १० जना मजदुर तलबसमेत नपाएपछि लकडाउनकै बेला बुधवार पैदलै घरतिर लागेको प्रत्यक्षदर्शी धुलावारीका उदय बराइलीले बताएका छन् ।

‘म हुलाक अफिसतिर जाँदै थिए, दश जना मजदुर लाम लागेर खयरडाँगीबाट धुलावारीतिर जाँदै गरेको भेटेँ,’ बराइलीले भने–‘सोध्दाखेरि फ्याक्ट्रीले पैसा नदिई घरतिरै जाओ भनी पठाएको बताउँथे उनीहरु ।’

स्थानीयवासीहरुले मङ्गलवार समेत यसरी नै ताँती लागेर मजदुरहरु धुलावारीतिर गएको देखेको बताए ।

पीडितलाई उद्धृत गर्दै बराइलीले बताए अनुसार मजदुरको घर सप्तरी जिल्लाको राजविराज हो । उनीहरु लकडाउनको जोखिम मोल्दै पैदलै घर जाने बताउँथे । प्रहरीले देख्छ भनेर उनीहरु हेल्थपोस्टको गल्लीभएर राजमार्गतिर छिरेका थिए ।

राधास्वामी प्लाइउड फ्याक्ट्रीका मालिक प्रमोद अग्रवाल रहेको जानकारी प्राप्त भएको छ । उनीसँग सम्पर्क हुने नम्बर पाइएको छैन ।
प्रायः भारतको सिलिगुढी बस्ने अग्रवाल रिसाहा र मजदुरको शोषण गर्ने स्वाभावको भएको उनलाई चिन्नेहरु बताउँछन् ।

सामाजिक सञ्जालमा उद्योगको मजदुरविरोधीहर्कतको कटु आलोचना भइरहेको छ । मेचीनगरका अग्रणी सामाजिक युवा रुपसागर अधिकारी र प्रकाश खड्काले समेत फेसबुकमा घटनाप्रति चासो प्रकट गर्दै सम्बन्धित निकायको ध्यान जानु पर्ने बताएका छन् ।

प्रत्यक्षदर्शी उदय बराइलीले पैदल हिँडिरहेका मजदुरको भिडियो समेत फेसबुकमा सार्वजनिक गरेका छन् । यो विषय नगरपालिका र उद्योग वाणिज्य संघसमक्ष समेत पुगिसकेको छ ।

‘यो त अमानवीय व्यवहार भयो,’ मेचीनगरको उद्योग वाणिज्य क्षेत्रका अगुवा एक युवा भन्छन्–‘लकडाउनका बेला बाहिर नजानु, खाने र बस्ने व्यवस्था मिलाउँछु भन्नुपर्नेमा तलबसमेत नदिई घर खेदाउने अपराध गर्ने यस्ता उद्योगीलाई कडा कार्वाही हुनुपर्छ ।’

धुलावारीबाट राजमागै हुँदै सप्तरीतिर लागेका ती मजदुरहरु कहाँ पुगे र कुन हालतमा छन् भन्ने पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: