झापा, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकीकरण पश्चात पहिलोपल्ट केन्द्रीय कार्यसमिति विस्तार गरेको छ ।
विस्तार गर्ने क्रममा सबैलाई पदीय अवसर दिदा ३२७ सदस्यीय केन्द्रीय समितिमा ४०० सदस्य थपिएर अब सदस्य सङ्ख्या ७२७ पुगेको छ ।
पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भए तापनि पदाधिकारी बाँडफाँट बाँकी नै छ ।
सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।