राप्रपा किल्ला : कचनकबलमा ढल्यो, हल्दिबारीमा बढ्यो

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार १५:४७


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ।

झापा, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफुले गरेको विकासको नमुना बताउँदै आएको कचनकबल गाउँपालिका गुमाएको छ ।

कचनकबलको अध्यक्ष र उपाध्यक्ष दुबै पद राप्रपाले यसपाली गुमाएको छ । तर, त्यसको अलिकति क्षतिपूर्तिको रुपमा हल्दिबारीको उपाध्यक्ष पद राप्रपाले थपेको छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा झापाका ३ वटा पालिका कचनकबल, हल्दिबारी र गौरीगञ्जमा राप्रपाले प्रमुख पद जितेको थियो ।

गृहजिल्लाको यी तीन वटै पालिकालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले भ्रष्टाचार नगरी विकास गरेको नमुना पालिकाको रुपमा चिनाउने गरेका थिए ।

कचनकबलमा एउटा सदस्य मात्र राप्रपा

अन्जरा आलम ।

कचनकबल प्रभावको हिसाबले राप्रपाको गढ नै थियो । तर यसपटक नेपाली कांग्रेस र नेकपा एमालेले देशभरिको भन्दा भिन्न किसिमको गठबन्धन बनाएर राप्रपालाई फराकिलो मतान्तरले परास्त गरेका छन् ।

कांग्रेसबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका कालेन्द्र राजबंशी (११,४७७ मत) र एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वार बनेका नवराज भट्टराई (८,१४३ मत) ले जित हासिल गरेका छन् ।

परास्त भएको राप्रपाले पुरानै उम्मेद्वारहरु अन्जरा आलम (६,६६७ मत) र निमसरी राजबंशी (६,८०१मत) लाई अध्यक्ष र उपाध्यक्ष पदमा दोहोर्याएर उम्मेद्वार बनाएको थियो ।

अध्यक्ष पदमा ४,८१० मत र उपाध्यक्ष पदमा १,३४२ मतको अन्तर रहेको छ ।

कचनकबलमा राप्रपाले वडा नं. २ को दलित महिला सदस्य मात्र जितेको छ ।

कांग्रेसको पूर्ण बहुमत, छ वटा वडामा अरु दल बढारिए

कचनकबलमा अध्यक्ष सहित नेपाली कांग्रेसले पूर्ण बहुमत प्राप्त गरेको छ ।

वडा नं. १, ३, ४, ५, ६ र ७ मा वडाध्यक्षसहित प्यानलै कांग्रेसले जितेको छ ।

वडा नं. २ मा वडाध्यक्षसहित ४ सिट नेकपा एमालेले जितेको छ भने सोही वडाको दलित महिला सदस्यमा राप्र्रपाकी अमृता बोगटी बिजयी बनेकी छन् ।

हल्दिबारीमा राप्रपाको बढ्यो शक्ति

रविन्द्र लिङ्देन ।

राप्रपाले २०७४ को निर्वाचनमा एउटा वडा र उपाध्यक्ष मात्र जितेको यस पालिकामा यसपाली अध्यक्ष र उपाध्यक्ष दुबै जितेर आफ्नो शक्ति बढाएको छ ।

अध्यक्ष पदमा बिजयी रविन्द्र लिङ्देन (६,८५६ मत) दोहोर्याएर अध्यक्षमा उम्मेद्वार बनेका हुन् । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन् ।

उपाध्यक्ष पदमा राप्रपाकै लक्ष्मीदेवी मैनाली (५०७८ मत) बिजयी बनेकी छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको बसोबास समेत सोही पालिकाको गोलधापमा रहेको छ ।

हल्दिबारीको पाँच वटा वडामध्ये १ र ४ नम्बर वडामा राप्रपाले पुरै प्यानलसहित वडाध्यक्ष जितेको छ ।

वडा नं. २ मा नेकपा माओबादी केन्द्रका शुकलाल राजबंशी, वडा नं. ३ मा नेकपा एमालेका विष्णुप्रसाद ओली र वडा नं. ५ मा नेपाली कांग्रेसका खड्गबहादुर लावती वडाध्यक्ष पदमा बिजयी बनेका छन् ।

राप्रपाले हल्दिबारीमा बहुमत हासिल गरेर शक्ति स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: