झापा । आगामी जेठ २५ गते हुने राष्ट्रिय प्रजातान्त्रिक पार्टीको जिल्ला अधिवेशनमा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले जिल्ला अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।
पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान कार्यकर्ताको रुपमा परिचित श्रेष्ठलाई नै जिल्ला अध्यक्षमा सर्वसम्मत गराउनको लागि समेत पहल शुरु भएको बताइएको छ ।
यही जेठ २५ गते बिर्तामोडमा हुने पार्टीको तेस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गर्नेछ । पार्टीको अधिवेशनको महामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम छ ।
भद्रपुर–८ का स्थानीयवासिन्दा श्रेष्ठले आफूलाई राप्रपा नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पने हो भने बिर्तामोडमा पार्टीको आफ्नै कार्यालय भवन यही कार्यकालमा बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यकाल ४ बर्षको रहनेछ ।
उनले अन्य पार्टी सरह राप्रपा नेपालका नेताहरुलाई झापामा आउँदा प्रशासनिक तथा राजनीतिक क्षेत्रबाट विशिष्ठ व्यक्तित्वको सम्मान प्रदान गर्न पहल गर्ने, संगठन सुदृढीकरण सशक्त रुपमा गरी पार्टीलाई जिल्लाकै अग्रणी पार्टीको रुपमा स्थापित गर्न पहल गर्ने समेत बताएका छन् ।
राज टी इस्टेट तथा मोर्डन टी इस्टेटका सञ्चालक रहेका विश्वनाथ मेची आमाका जेठा छोरा हुन् । २०३८ सालमा सुधारिएको पञ्चायतबाट राजनीति शुरु गरेका श्रेष्ठलाई जिताउन पार्टीका अग्रज एवम् प्रभावशाली नेता, कार्यकर्ताहरु लविङमा जुटेको समेत स्रोतले जनाएको छ । पार्टी अधिवेशनमा जिल्लाका ५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।