रामघाटलाई धार्मिकस्थल बनाउँछौँ

  प्रकाशित मिति
२१ पुष २०७३, बिहीबार ११:४४


lalit-bohora
मेचीनगरको सामाजिक क्षेत्रमा रामघाट सेवा समितिको नाम र रचनात्मक काम धेरै चर्चामा छ । वर्षौदेखि दाहसंस्कार स्थलको रुपमा मात्र चिनिएको नन्दा नदी किनारलाई पवित्र धार्मिकस्थल रामघाटको नयाँ पहिचान दिलाउन समितिले विभिन्न प्रयास जारी राखेको छ । केही दिन अघि मात्र मुलुकमै पहिलो पितृ स्तम्भको शिलान्यास सम्पन्न गरिएको छ । यी सबै कामको नेतृत्व समितिका अध्यक्ष ललितकुमार बोहोराले गर्नु भएको छ । बोहोराबन्धु परिवार प्रतिष्ठानको केन्द्रीय अध्यक्ष भएर उहाँले यस अघि बन्धुत्वको उत्थानमा समेत ठूलो योगदान दिनुभएको छ । मेचीनगर–१ निवासी उहाँसँग रामघाटको स्थापना, गतिविधि र भावी योजनाका विषयमा लोकतन्त्र पोस्टले लिएको अन्तरवार्ताको सम्पादित अंश प्रस्तुत छ–
रामघाटलाई कसरी विकास
गर्ने योजना छ ?
सामान्यतया मानिसको मृत्यु पश्चात दाहसंस्कार गर्ने स्थललाई नै घाट भन्ने चलन छ । काठमाडौँमा आर्यघाट भनिएको छ, कतै देवघाट पनि भनिन्छ । त्यस्तै मेचीनगरको धुलावारीमा रहेको नन्दा नदी किनारलाई हामीले रामघाट नामाकरण गरेका छौँ । तर घाटलाई मरेको मान्छे पोल्ने ठाउँको रुपमा मात्र बुझिनु हुँदैन । यो एउटा तीर्थस्थल हो । जहाँ धर्मकर्म गरिन्छ । दाहसंस्कार गरिएकै ठाउँमा पितृलाई तर्पण पनि दिइन्छ । हाम्रो धर्म संस्कारमा घाटलाई अत्यन्त महत्वको तीर्थस्थलको रुपमा व्याख्या गरिएको छ । रामघाटलाई मसानघाटको रुपमा मात्र होइन, धार्मिकस्थल तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न हामी लागिरहेका छौँ । केही महिना अघि हामीले रामघाटमा महापुराणको आयोजना गरेका थियौँ । त्यसबेलाको जनसहभागिताले नै रामघाट एउटा धार्मिकस्थल बनिसकेको पुष्ट गर्दछ । अब यसको प्रबर्धन र संरचना निर्माणमा हामी जुट्दैछौँ ।

भर्खरै स्थापना भएको घाटमा तपाईले भने जसरी ठूलो धार्मिक तीर्थस्थल बन्न सम्भव होला ?
सम्भव छ । हामीसँग कसरी तीर्थस्थल निर्माण गर्ने भन्ने प्रस्ट योजना छन् । हावाको तालमा लागेका होइनौँ हामी । मानिस मरेपछि यस लोकमा अन्तिम यात्रा यही घाटसम्म हो । जहाँ हाम्रो अन्तिम यात्रा हुन्छ, त्यहाँ पवित्र बनाउन र धार्मिक तीर्थस्थल बनाउन जरुरी नै हुन्छ । इतिहास हेर्ने हो भने हामी जन्मनुभन्दा अघिदेखि नै नन्दा नदीमा मानिसको दाहसंस्कार हुन्थ्यो । पवित्र नन्दा नदी बग्ने स्थान हो यो । यहाँ शिवालय, वृद्धाश्रम, बगैचा, पितृस्तम्भ, गौशाला आदि निर्माण हुने भएका छन् । यो ठाउँ पौराणिककालदेखि नै पवित्र भूमि भएकाले यहाँ तीर्थस्थल एवम् पर्यटकीय बनाउन सम्भव छ भन्ने हाम्रो ठम्याइ रहेको छ । चारआलीको पाउँ पाथिभरा पनि त नयाँ नै हो नि । त्यहाँ अहिले हेर्नु होस्, कत्रो तीर्थस्थल बनिसक्यो ।

बारम्वार नन्दा नदीको कुरा गर्दै हुनुहुन्छ । यो नदी निन्दा हो कि नन्दा ?
म पनि पहिले नदीको नामका विषयमा कन्फ्युज थिएँ । तर अब प्रस्ट छु–यी नदी नन्दा नै हुन् । राजमार्गमा पुल निर्माण गर्दा सरकारी कर्मचारीहरूले नदीको नाम सोध्दा–नन्दा भनिदिएका थिए होलान् । कर्मचारीहरूले निन्दा सुने, त्यही लेखिदिए । सरकारी श्रेस्तामा पनि त्यसरी नै अपभ्रंस भएर निन्दा नदी लेखियो । निन्दा भन्ने शब्द नदीको नामसँग कहिँ पनि तादात्म्य राख्दैन । निन्दा भनेको भत्र्सना गर्नु हो । त्यस्तो पनि नाम हुन सक्ला त ? मेरो विचारमा अब सरकारी श्रेस्ताबाटै नदीको नाम नन्दा भनेर सच्याउन पहल गरिनु पर्छ । पुराणहरूमा नन्दा नदीको वर्णन छ । यो कुरा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, पुराणका व्याख्याता साधुटार शङ्कराचार्य पीठका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा लगायतका विद्वानहरूले भन्दै आउनु भएको छ ।

मसानघाट र धार्मिकस्थल एकै ठाउँमा हुन्छ कि हुँदैन ?
हिन्दु धर्मावलम्बीले मान्दै आएको पशुपतिनाथ, बनारस आदि ठाउँमा नै हेर्न सकिन्छ कि मसानघाट र धार्मिकस्थल भनेको एउटै हो । पशुपतिनाथमा आर्यघाट र पशुपतिनाथको मन्दिर एकै ठाउँमा छन् भने अन्यत्र पनि यस्तै उदाहरण पाइन्छ । कतिपय मानिसले मलाई पनि यस्तै प्रश्न सोध्नु हुन्छ । मैले मात्र कति भन्नु, पुराणका व्याख्याता साधुटार शङ्कराचार्य पीठका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडालाई सोध्दा हुन्छ । जहाँ मानिस बढी भावुक हुन्छ, त्यहाँ ईश्वरको मन्दिर उपयुक्त हुन्छ । घाटमा पुगेपछि जस्तोसुकै कठोर हृदयको मानिसले पनि अन्तिममा मरेर लैजाने केही पनि होइन रहेछ, आफ्नो पनि एक दिन यही गति हुन्छ भनेर मनन गर्छ । तसर्थ, रामघाटलाई मसानघाट मात्र भनेर नबुझौँ, यो एउटा भगवान शिवको जटाबाट उत्पत्ति भएकी नन्दा गङ्गाको तटमा अवस्थित पवित्र धार्मिकस्थल हो, यो तीर्थस्थल नै हो ।

कति बर्ष यसरी लागिरहँदा रामघाटलाई भव्य तीर्थस्थलको स्वरुपमा देख्न  पाइएला ?
रामघाट सबैको साझा तीर्थस्थल हो । यसको विकासमा रामघाट सेवा समिति मात्र जुटेर पुग्दैन । यहाँ आम जनता ता बुद्धिजीवी, सङ्घ संस्थाको सहभागिता, स्थानीय निकायहरूको सहयोग र सामाजिक क्षेत्रका अगुवाहरूको सल्लाह सुझाव चाहिन्छ । म अध्यक्ष भएको दुई वर्षका लागि हो । अबको एक वर्षमा म रामघाटको स्वरुप बदल्न चाहन्छु । सबै मिलेर काम गर्ने हो भने आगामी ५ वर्षभित्रमा यसलाई पूर्वकै प्रख्यात धार्मिक स्थलको रुपमा विकास गर्न सकिन्छ ।

पितृस्तम्भको निर्माण सुरु गर्नु भएको  रहेछ । यो कस्तो हुने छ ?
म फेरि पनि भन्छु–रामघाटलाई पितृहरूप्रति श्रद्धा गर्ने पवित्र थलो पनि बनाउने हाम्रो योजना छ । यसका लागि अहिलेसम्म कतै नभएको पितृस्तम्भको परिकल्पना हामीले गर्यौँ । २७ फिट अग्लो कङ्क्रिटको स्तम्भको टुप्पोमा शङ्खको प्रतीक रहने छ । पितृको पूजा सबै धर्म र समुदायमा हुन्छ । कुनै पनि कार्य गर्नु अघि पितृको स्मरण अर्थात पूजा गर्ने चलन छ । श्रद्धाका साथ पितृको पूजा गर्नका लागि रामघाटमा अलौकिक पितृस्तम्भको निर्माण थालेका छौँ । यसको निर्माणमा कम्तीमा १० लाख रुपैयाँ लाग्छ । हामीसँग अहिले थोपो बजेट छैन । तर आशा, विश्वास र भरोसा के छ भने पितृ स्तम्भ निर्माणमा जनसहयोग स्वतस्फुर्त जुट्ने छ । सबैलाई आफ्ना पितृको नाममा सिमेन्ट, इँटा, रड आदि सहयोग गर्ने इच्छा भइहाल्छ । एकै दाताले बनाउँदा पनि हुन्थ्यो भन्ने केहीको सुझाव थियो । तर हजारौँको सानो सानो सहयोगले बनाउँदा सबैले पितृको नाममा सहयोग गर्ने अवसर पाउनु हुन्छ भन्ने लागेर हामीले आम समुदायलाई स्तम्भ निर्माणमा सहयोग गर्न अपिल गरिरहेका छौँ ।

अचेल सहयोग माग्ने संस्थाहरूले दातालाई नै हैरान पारेको सुनिन्छ । कसरी जुटाउनु हुन्छ त सहयोग ?
सहयोग दिनुहोस् भन्दै हामी अहिलेसम्म हिड्नु परेको छैन । रामघाटमा हाम्रो समितिले कस्तो काम गरेको छ कि छैन अनुगमन गरिदिनु भए हुन्छ । हामी निस्वार्थ भावले सामाजिक काममा लागेका छौँ । एक पैसा पनि हिनामिना हुन दिदैनौँ । दाताको सहयोगको पूर्ण सदुपयोग गछौँ । यही कुरा बुझेर होला, दाताले नै मेरो तर्फबाट यति सहयोग लिइदिनु पर्यो भन्दै खबर गर्नु हुन्छ । हामी ढुक्क छौँ, रामघाट सबैको साझा हो, यहाँको पितृ स्तम्भ निर्माणमा आवश्यकता भन्दा बढी पो सहयोग जुट्ने सम्भावना छ ।

समिति कतिको पारदर्शी र जनमुखी छ ?
हामीले आफ्नो मूल्याङ्कन आफै कसरी गरौँ । हरेक व्यक्तिलाई रामघाट सेवा समितिको कार्यालयमा स्वागत छ । आउनु होस्, हालसम्म भएका काम बारे सोध्नुहोस् । दाताको विवरण भित्तामा शिलालेख समेत बनाएर राखिएका छन्, हेर्नुहोस् । हामी पद र पैसाका लागि होइन, सामाजिक सेवाका लागि समितिमा गएका हौँ । जनताले नै राम्रो काम गर्छन् भन्ने विश्वास गरेर हामीलाई जिम्मेवारी दिएका हुन् । त्यो विश्वासलाई टुट्न दिदैनौँ । वार्षिक साधारणसभा हुने गरेको छ । सबै हिसावकिताव अडिट हुने गर्छ । साधारणसभामा आर्थिक प्रतिबेदन प्रस्तुत हुने गरेको छ । कुनै कार्य गर्दा लागेको खर्च र दाताबाट जुटेको रकम हामीले स्थानीय मिडियामार्फत नै सार्वजनिक गर्दै आइरहेका छौँ । प्रशासनमा दर्ता भएको संस्था भएकाले विधान बमोजिम नै विधिपूर्वक संस्थाको सञ्चालन हुँदै आएको छ ।

संस्थाको जायजेथो कति छ र यसका भावी योजना कस्ता छन् ?
दाताबाट प्राप्त ३ कठ्ठा जग्गामा रामघाट सेवा समितिको आधुनिक भवन छ । जहाँ मलामी विश्रामालयदेखि क्रियापुत्री कोठा, सभा हलसम्मको व्यवस्थित ठाउँ छ । विजुली, धारापानी र १३ दिने किरिया बार्ने ठाउँको पनि प्रबन्ध गरिएको छ । नदी किनारमा दाहसंस्कार गर्नका लागि आधुनिक तरीकाले चिता बनाइएको छ । चितामा प्रयोग हुने दाउराको व्यवस्था मिलाइएको छ । गाउँतिर प्रदुषण नफैलियोस् भनेर चितालाई काम सकिएपछि पानीको फोहोराले बगाउने व्यवस्था मिलाइएको छ । जलेको धुवा र आगो गाउँतिर नदेखियोस् भनेर चिता रहेको ठाउँमा अग्लो पर्खाल निर्माण गरिएको छ । स्थानीय शान्ति समाजसँग सहकार्य गरेर रामघाटलाई हरियाली बनाउन वृक्षारोपण गरिएका छन् । रामघाटको विकास र व्यवस्थापनका लागि शान्ति समाजको अग्रणी भूमिका रहँदै आएको छ । नियमित सरसफाई गरिएको छ । भावी योजनाका रुपमा स्नान गृह, गौशाला, शिवालय, बाटो कालोपत्रे, वृद्धाश्रम र अक्षयकोषको निर्माणलाई अघि बढाइरहेका छौँ ।

केही भन्नै पर्ने कुरा बाँकी रह्यो कि ?
हामी सामाजिक भावनाले रामघाटलाई धार्मिकस्थलको रुपमा विकास गर्न समर्पित भएर लागेका छौँ । हामी कोही व्यापार गर्छौँ, कोही जागिरे छौँ । काम फरक छन्, समुदाय फरक होला । तर मरेर जाने ठाउँ एउटै हो । घाट पनि एउटै हो । हाम्रा ईश्वर उही हुन् । आफ्नो ठाउँको विकास आफैले गर्नु पर्छ । मलामी पुग्दा मात्र ‘अन्तिममा यही त हो नि बाटो’ भनेर हामी सबैले मनन गर्छौँ । मरेर लानु केही छैन । बाँच्दा सबैको प्रिय भएर बाँचौँ । कमाएको सम्पत्तिको केही अंश सामाजिक काममा खर्च गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: